नेपालको एउटा विचित्र जन्तुको नाउँ हो– गोविन्दप्रसाद लोहनी। जतिबेला म आफ्नो चिन्तनमा गतिहीनता आएको महसुस गर्छु, उहाँको गफ सुन्न जाने गर्छु। उहाँसितको प्रत्येक चोटिको गफगाफपछि शून्य मस्तिष्क पनि कता कताबाट रिचार्ज भएर आएको अनुभव हुन्छ। उहाँसित दुनियाँका प्रत्येक विषयका तथ्यांकगत जानकारी मात्र हुँदैनन्, तर प्रत्येक कुराबारे मौलिक चिन्तन गर्ने वहाँको अद्भुत क्षमता र बानी छ। त्यसैले उहाँलाई ‘कम्प्युटर’ उपनामले पुकार्नेहरूले अति गरे भन्न गाह्रो पर्छ।
‘पञ्च’ भइसकेका लोहनीजीको संगत किन गर्छ भनेर कर्के आँखाले हेर्ने मित्रहरू पनि छन्। त्यसो त आफूलाई ’पञ्च’ होइन भनेर उहाँले कहिल्यै भने जस्तो लाग्दैन। बरू केही वर्ष पहिले प्रथम पटकको भेटघाटमा वहाँले ‘नेपाली अवस्थाको साम्यवाद नै पञ्चायत हो’ भनेर व्याख्या गर्दा मेरो दिमाग तिल्मिलाएको थियो र तत्पश्चात म उहाँलाई भेट्न जाँदा कुनै आलोकाँचो साथी लिएर जाने गर्दिनँ। यो डरले कि कतै फर्केर आउँदा एउटा अर्को साथी ‘पञ्चायत’ को बलिबेदीमा चढाएर आउन नपरोस्।
झण्डै म जन्मेको ताकादेखि कम्युनिष्ट आन्दोलनबाट अलग भएर सरकारी सेवामा प्रवेश गर्नुभएका र धेरै वर्षसम्म देश विदेशका वरिष्ठ नोकरशाहहरूसँग काँध रगेडी सक्नु भएका लोहनीजीको तर्क र लेखन शैली अध्यावधि नेपालका कुनै पनि ‘मार्क्सवादी’ बुद्धिजीवीको भन्दा बढी ’मार्क्स–वादी’ भएको स्वीकार्न कर लाग्छ। भलै उहाँमा व्यक्ति र परिस्थिति अनुसार कुरा गर्ने र लेख्ने बानी भएकाले उहाँको असली पक्ष कुन हो छुट्याउन जो कसैलाई सजिलो छैन। पञ्चायतको स्थापना कालदेखि यस व्यवस्थाको आर्थिक सिद्धान्तकार तथा योजनाकारको भूमिका निभाइसकेका व्यक्तिलाई अब ‘इतर’ खेमामा मान्ने वा ल्याउने प्रयास मृगमरीचिका मात्र भए पनि त्यस्तो प्रतिभालाई (मैले सुने अनुसार उहाँ शुरूमा सम्पन्न परिवारको व्यक्ति पनि होइन) कम्युनिष्ट आन्दोलनले किन सम्हाल्न सकेन भन्ने चाहिँ आन्दोलन भित्रका जिज्ञासुहरूले लामो समयसम्म प्रश्न गरिरहने छन्। साथै प्रतिभाहरू तयार गरेर सम्हाल्न नसक्ने वा प्रतिध्रुवतिर घचेट्ने पारिपाटी कायम रहेसम्म आन्दोलनले अहिलेकै दुर्गति ब्यहोरिरहनु पर्ने तथ्यतिर पनि जिम्मेवार क्षेत्रले ध्यान दिए फाइदै होला।
जे होस्, पछिल्लोचोटि विचारमा मन्दी पाउँदा एकजना मित्र र म सदा झैं खुराकको निम्ति लोहनीजी कहाँ पुग्यौं। आकाशदेखि पातालसम्मका कुराहरूमध्ये यसपटक मेरो दिमागमा सबभन्दा चोटिलो प्रहार गर्ने लोहनीजीको वाक्यांश थियो– ‘मार्क्सको पूँजी’ पढेका मार्क्सवादी कति होलान् नेपालमा?’ तथ्यांकगत संख्या सोधेको भए त्यसको पनि जवाफ थियो होला उहाँसँग। तर यहाँ प्रसंग बेग्लै थियो– नेपालका ‘मार्क्सवादी’ हरूमा गहन अध्ययन र मौलिक चिन्तन गर्ने परिपाटीको सख्त कमी। हो, मार्क्सवादीहरूको अध्ययन किताबी ‘अध्ययन’ मा मात्र सीमित नभएर त्यसलाई व्यवहारमा लागु गर्ने र संसारलाई बदल्ने कार्यसम्म विस्तारित हुन्छ। तर अहिले सम्मको वर्ग–संघर्षको ऐतिहासिक अनुभवद्वारा प्रतिपादित सिद्धान्त र नीति–नियमहरूका संग्रहको रूपमा अग्रजहरूद्वारा लिखित ‘किताब’हरू अध्ययन नै नगरी नयाँ सिद्धान्त, नयाँ नीति र व्यवहार कसरी निर्माण गर्न सकिन्छ र? तैपनि कतिपय आला काँचा मित्रहरू न मार्क्सवादका आधारभूत प्रति–स्थापना या सिद्धान्त बारे गहन अध्ययन गर्छन् न वर्तमान विश्व तथा देशको ठोस परिस्थिति बारे नै। मार्क्स, लेनिन र माओका दुईचारवटा पर्चा र भाषण पढेकै भरमा घाग्डान ’क्रान्तिकारी’ बनेर आफैंले नबुझ्ने अमूर्त कुराहरू छाँट्दै हिँडने प्रवृत्तिले नै त्यस्ता मित्रहरूलाई आन्दोलनमा सानो नयाँ प्रश्न या विवाद खडा हुने वित्तिकै पलायन भएर प्रतिध्रुवको शरणमा पुग्न बाध्य पार्ने गरेको त होइन?
अधिकांश मध्यमवर्ग र ‘निम्न–बुद्धिजीवी’ (बुर्जुवा प्रणालीमा सामान्य कलेजस्तरको शिक्षाप्राप्त) हरुको बाहुल्य रहेको नेपाली कम्युनिस्ट आन्दोलनमा वर्गीय प्रतिकूलताको साथसाथै यो छिपछिपे सैद्धान्तिक चेतना पनि अस्थिरताको निम्ति कम महत्वपूर्ण कारकतत्व हो भन्न नमिल्ला। किनकि पञ्चायती अवस्थाले बेलाबखत दिने गरेको ‘भूमि सुधार’, ‘गाउँ फर्क’, ‘विकेन्द्रीकरण’, ‘आधारभूत आवश्यकता’, ‘शोषणरहित समाज’ आदि जस्ता कपटपूर्ण नारा र कार्यक्रममा ‘वामपन्थ’ देख्नु र त्यतै दिग्भ्रमित भएर लोभिनु हाम्रा त्यस्ता छिपछिपे ‘मार्क्सवादी’हरुका निम्ति कुनै अनौठो हुन्न।
त्यसो भए गोविन्द्रप्रसाद लोहनीहरुजस्ता ‘वरिष्ठ’ बुद्धिजीवीहरु किन टिकेनन् त आन्दोलनमा भन्ने प्रश्न पनि उठ्नसक्छ। मेरो विचारमा त्यसका तीन प्रमुख कारण छन्। पहिलो, हामीले ‘वरिष्ठ’ भन्ने गरेका बुद्धिजीवीहरु डिग्री र बुर्जुवा ज्ञानमा वरिष्ठ भए पनि उनीहरुको मार्क्सवादको अध्ययन र ज्ञान कति न्यून हुन्छ सायद जो कसैले अनुमान लगाउन सक्दैन। ‘झिल्को’ प्राज्ञिक पत्रिकाको निम्ति लेख संकलन गर्दा हामीले त्यसको राम्रै अनुभव समेटेका छौँ। दोस्रो, मार्क्सवादी ज्ञानको अभिन्न अंग र स्रोत हो – आन्दोलनमा सहभागिता वा त्यससँग जीवित र नियमित सम्पर्क। जुन नेपाली बुद्धिजीवीहरुको सन्दर्भमा कति दुर्लभ छ, प्रस्टै छ। तेस्रो, गोविन्द्रप्रसाद लोहनीहरुजस्ता मौलिक चिन्तन (भलै ती यदाकदा प्रतिगामी नै किन नहोऊन्) गर्न सक्ने व्यक्तिहरु अटाउनको निम्ति वाञ्छित ‘जनवादी’ वातावरणको आन्दोलनभित्र सख्त अभाव। मैले सुनेअनुसार रुसमा ख्रुश्चोभले आलोचना गर्नुपहिल्यै गोविन्दप्रसाद लोहनीले स्टालिनबारे प्रश्नहरु उठाएकाले तत्कालीन कम्युनिस्ट पार्टीले उहाँलाई ‘अनुशासनको कारबाही’ गरेको थियो रे।
हाम्रा बुद्धिजीवीहरु र त्योभन्दा पनि बढी हाम्रा आन्दोलन हाँक्ने रथीहरुले यसबारे केही ध्यान देलान्?
(वरिष्ठ अर्थशास्त्री, लेखक तथा पूर्व कूटनीतिज्ञ गोविन्द लोहनीको निधन भएको छ। ९३ वर्षका लोहनीको उपचारको क्रममा शनिबार राति मेडिसिटी अस्पतालमा निधन भएको हो। लोहनी सन् १९७८ देखि १९८२ सम्म पाकिस्तानका लागि नेपाली राजदूत थिए। लोहनीबारे डा. बाबुराम भट्टराईले ३० वर्षपहिले लेखेको लेख महिमा साप्ताहिक, वर्ष ५, अंक ३२, २०४४ फागुन २० बाट)
प्रतिक्रिया