कैलालीको गोदावरी नगरपालिका-५ बूढीतोलामा कर्मचारीमाथि कुटपिट गरेर कार लुटेर भागेका तीनजना पक्राउ परेका छन।
उनीहरु कार भेटिएको स्थाननजिकै जंगलमा लुकेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले बताए।
पक्राउ पर्नेमा भारतको हरियाणा सोनीपथ बस्ने २१ वर्षीय भगतसिंह, त्यही ठाउँ बस्ने १८ वर्षीय शाहिल बादलिसे र २० वर्षीय सन्नी जाँट रहेका छन्।
उनीहरुलाई गोदावरी नगरपालिका-१ स्थित ऐश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो। त्यही ठाउँमा लुटिएको कारसमेत फेला परेको प्रहरीले जनाएको छ।
उनीहरु डडेल्धुराको आलीताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरी कारसहित भागेका थिए।
उनीहरु तीनैजनालाई कैलाली प्रहरीले सोमबारै सार्वजनिक गरेको छ। आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर भण्डारी सोमबार महेन्द्रनगरबाट डडेल्धुरा हिँडेका थिए।
तर, उनलाई बीच बाटैमा लिफ्ट मागेर लुटपाट र कुटपिट गरिएको थियो। टाउको र शरीरका अन्य भागमा चोट लागेका घाइते भण्डारीको अहिले उपचार भइरहेको छ।
Shares
प्रतिक्रिया