अर्कै व्यक्तिको दस्तखत र संस्थाको छाप कीर्ते गरी एक व्यक्तिले बैंक खाताबाट १० लाख रुपैयाँ भन्दा बढी निकालेको पाइएको छ।
मकवानपुरको थाहा नगरपालिका–६ घर भई हाल ललितपुरको सातदोबाटो बस्ने २१ वर्षीय वाशुदेव अर्यालले फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिको नाउँको नक्कली छाप र प्रकाश राज भण्डारीको नक्कली दस्तखत प्रयोग गरी नेपाल एसबीआई बैंक लिमिटेडबाट १० लाख ३५ हजार रुपैयाँ निकालेका हुन्।
प्युठान जिल्ला प्युठान नगरपालिका–४ स्थायी घर भइ हाल सीतापाइला बस्ने भण्डारीले सञ्चालन गरेको सो त्रिपुरेश्वरस्थित सो संस्थाको खाताबाट रकम निकालेको थाह पाएपछि अनुसन्धानका क्रममा प्रहरीले अर्याललाई पक्राउ गरेको छ।
उनलाई कलंकीस्थित नेपाल एसबीआई बैंकबाट पक्राउ गरी प्रहरी वृत्त कालिमाटीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।
अभियुक्तले सौरभ डंगोलको सवारी चालक अनुमति पत्र फेला पारी सोही नाम र सोही सवारी चालक अनुमति पत्रको प्रयोग गरी रकम निकाल्ने गरेको पाइएको छ।
प्रहरीले उनको साथबाट सरोज डंगोलको नाममा काटिएको फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिको नाउँमा खाता रहेको नेपाल एसबीआई बैंक लिमिटेडको नगद रु ६५ हजार र २० हजारको दस्तखत सहितको चेक फेला पारेको छ।
यस्तै, विभिन्न व्यक्तिहरूको दस्तखत अभ्यास गरिएको डायरी (नोट बुक), विभिन्न कम्पनीको सिमकार्ड थान–१६, दुई वटा मोबाइल र प्रहरी ‘तिखोकलम डट कम’ नामक सञ्चार संस्थाको पत्रकारको परिचय–पत्र समेत फेला पारेको छ।
काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ प्रहरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साथै, अर्यालले अन्य व्यक्ति तथा संस्था समेतलाई ठगी गरेको हुन सक्ने भएकोले पीडितलाई प्रहरी वृत्त कालिमाटीमा जाहेरी दिनसमेत प्रहरीले आग्रह गरेको छ।
Shares
प्रतिक्रिया