जनकपुरमा एक महिलासँग दुई लाख रुपैयाँ लुट्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका - ७ बस्ने २० वर्षीय जितेन्द्र प्रसाद शाह र २१ वर्षीय दिपेन्द्र मण्डल रहेका प्रहरीले जनाएको छ।
विदेशबाट आएको दुई लाख रुपैयाँ गत सोमबार जनकपुरको मिल्सएरिया स्थित रहेको एभरेष्ट बैँकबाट झिकेर घर फर्किदै गरेकी धनुषाको सबैला नगरपालिका - ४ घर भई जनकपुरधाम उपमहानगरपालिका -१ मा बस्ने शर्मिला देवीबाट दुई लाख रुपैयाँ लुटेका थिए।
प्लाष्टिकको झोलामा मोबाइल र पैसा लिएर फर्किँदै गर्दा झोला लुटेर दुई युवक फरार भएका थिए।
घटना पश्चात जानकारी दिएपछि प्रहरीले अनुसन्धानको क्रममा दुवै जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जनाए।
जितेन्द्रको साथबाट लुटिएको मोबाइल र ५४ हजार नगद तथा दिपेन्द्रको साथबाट ७८ हजार रुपैयाँ बरामद गरिएको एसपी रजौरेले बताए।
Shares
प्रतिक्रिया