हिरासतमा रहेका महोत्तरीका मिटरब्याजी अनिरुद्ध साहको घरबाट प्रहरीले ठूलो मात्रामा ऋण लगानीको कागजात बरामद गरेको छ।
भंगहा नगपालिका ५ स्थित सीतापुर बजारमा रहेको उनको घरबाट महोत्तरी प्रहरीले मंगलबार खान तलासी गरी ठूलो मात्रामा कागजात बरामद गरेको हो।
अनिरुद्धको घरबाट मिटरब्याजमा ऋण लगानी गरेको सम्बन्धी कागजात ठूलो मात्रामा बरामद गरिएको महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए।
प्रहरीका अनुसार अनिरुद्धले चर्को ब्याजदरमा ऋण लगानी गर्दा गरिब व्यक्तिसँग बनाएको कपाली तमसुक, जग्गा दृष्टिबन्धक तथा अदालतमा विभिन्न ऋणी उपर लेनदेन मुद्दा दायर गरेको लगायतका कागजात बरामद भएका छन्।
‘कागजात थुप्रै बरामद भएको छ। छुट्याउने काम इरहेको छ’, एसपी पंगेनीले भने।
यसअघि आइतबार प्रहरीले जनकपुरधाम उपमहानगरपालिका ७ स्थित उनको ससुराली घरबाट ९ जनासँग बनाएको ७१ लाख ४४ हजार ३५० रुपैयाँको कपाली तमसुक बरामद गरेको थियो।
सोमबार मिटरब्याजी अनिरुद्धको भंगहा नगरपालिका ५ सिद्धपुरस्थित गाउँको घरबाट पनि केही मात्रामा ऋण लगानीको कागजात प्रहरीले जफत गरेको थियो।
लामो समयदेखि अनिरुद्धले भंगहाबाट मिटरब्याजको साम्राज्य चलाइरहेका थिए। महोत्तरी, धनुषा सर्लाहीलगायत जिल्लाका गरिबलाई चर्को ब्याजदरमा ऋण दिएर उनीहरूको उठिवास गराइसकेका छन्। त्यही गैरकानुनी धन्धाबाट उनले अकुत सम्पति आर्जन गरेका छन्।
उनलाई महोत्तरी प्रहरीले शनिबार साँझ आफ्नै सिद्धपुरको घरबाट पक्राउ गरेको हो। मिटरब्याजी अनिरुद्धविरुद्ध प्रहरीले ठगी, आपराधिक लाभ मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको छ। उनको मिटरब्याजको धन्धामा उनका दाई लक्ष्मणसाहसहित घरपरिवार समेत संलग्न छन्।
Shares
प्रतिक्रिया