नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले १ महिनापछि विद्युतीय गाडीहरुको प्रदर्शनी 'नाडा ईभी शो' आयोजना गर्दै छ।
आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने शोको लागि स्टल बुकिङ यही भदौ ५ सम्म खुल्ला भएको थियो।
नाडा ईभी शोका संयोजक अनुप बरालले नेपालमा विद्युतीय गाडी बिक्री गरिरहेका मुख्य कम्पनीहरुको सहभागिता रहने बताए।
उनले भने, ‘यसका लागि स्टल बुकिङका काम सकिसकेका छन्, अहिले व्यवस्थापनका कामहरु भइरहेका छन्।’
पहिलोपटक हुनलागेको विद्युतीय गाडीहरुको प्रदर्शनीमा विभिन्न कम्पनीहरुका थरिथरिका गाडी अवलोकन गर्न पाइने भएको छ।
खासगरी नाडा ईभी अटो शोमा इलेक्ट्रिक कार, बाइक, इलेक्ट्रिकलाई कमर्सियल भेहिकल, इलेक्ट्रिक रिक्सा, चार्जिङ स्टेसन एन्ड चार्जिङ सलुसन, विद्युतीय गाडीमा आवश्यक पार्ट्स उत्पादक, ब्याट्री स्टोरेज म्यानेजमेन्ट, ब्याट्री म्यानेजमेन्ट सिस्टम, टायर उत्पादक, लाइट एण्ड ग्लास उत्पादकको नाडा अटो ईभी शोमा उपस्थिति रहनेछ।
कुन कम्पनीका कस्ता गाडी?
टाटा मोटर्स
टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी टे«डिङले नाडा अटो ईभी शोमा कम्पनीका ३ वटा मोडल रहने बताएको छ। नेपालमा १ वर्षअघि मात्रै विद्युतीय गाडी सार्वजनिक गरेर ठूलो बजार हिस्सा ओगटेको टाटाले अहिले उपलब्ध ३ मोडल नै ईभी अटो शोमा हुने जानकारी दिएको छ।
‘टाटाको उपस्थिति नाडा अटो ईभी शोमा हुन्छ। ३ मोडल शोमा उपस्थित रहन्छ’, सिप्रदीका एक अधिकारीले भने। ३ वटा मोडलमा टाटाको नेक्सन ईभी, नेक्सन ईभी डार्क र टिगोर ईभी हुनेछन्।
भारतमा नेक्सन ईभी ब्याट्री र मोटर क्षमता बढाई ईभी म्याक्स सार्वजनिक गरेको छ। नेपाल सरकारले १०० किलोवाट माथिको गाडीमा कर बढाएकाले म्याक्सको मूल्य धेरै बढ्ने हुँदा भित्रिने सम्भावना कम रहेको कम्पनीले जनाएको छ।
हुन्डाई
हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा २ वटा मोडल बिक्री गर्दै आएको छ। हुन्डाईले नेपालमा कोना इलेक्ट्रिक र आयोनिक ५ बिक्री वितरण गरिरहेको छ। आयोनिक ५ प्रिमियम एसयूभी इलेक्ट्रिक गाडी हो।
महिन्द्रा
महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इनर्जीले नाडा ईभी अटो शोमा आफ्नो सहभागिता हुने जनाएको छ। अग्नी इनर्जीका महाप्रबन्धक प्रमोद भण्डारीले ईभी अटो शोमा सामेल हुने योजना बनाइरहेको जानकारी दिए।
‘नाडामा हाम्रो उपस्थिति रहन्छ। कुन प्रोडक्ट हुन्छ निश्चित भइसकेको छैन’, भण्डारीले भने, ‘तीन पांग्रे विद्युतीय साधन हुन्छ। चारपांग्रे कुन–कुन हुन्छ, योजना बनिरहेको छ।’
महिन्द्राको ३ पांग्रेमा टेरो ब्रान्डको विद्युतीय अटो रिक्सा बजारमा उपलब्ध छ। महिन्द्राले नेपालमा हाल सेडानमा सेगमेन्टमा ई भेरिटो बिक्री गरिरहेको छ। नेपाली सडकमा महिन्द्रा ई२० का मोडल गुडिरहेका छन्। महिन्द्राले विद्युतीय एसयूभी३०० आगामी सेप्टेम्बरमा सार्वजनिक गर्ने तयारीमा छ।
टेस्ला पनि!
नेपालमा टेस्लाका गाडी बिक्री गरिरहेको अरेत इन्टरनेश्नलले ईभी अटो शोमा टेस्लाका गाडी राख्ने तयारी गरेको छ। तर कम्पनीले हाल नेपालमा स्टकमा गाडी नहुँदा निश्चित नभएको जनाएको छ।
‘टेस्लाका गाडी बाहिरबाट मगाएका छौँ। गाडी बाटोमा छन्’, अरेत इन्टरनेशनलका विनोद श्रेष्ठले भने, ‘नेपालमा गाडी भित्रिए अटो ईभी शो मा टेस्लाका गाडी देख्न सकिनेछ।’
विश्वको चर्चित विद्युतीय ब्रान्ड टेस्लाका ३ वटा मोडल नेपालमा भित्रिसकेका छन्। मोडल एक्स र मोडल ३ केही समयदेखि बजारमा रहेकोमा मोडल वाई गत वैशाखमा नेपाल भित्रिएको थियो।
निसान
निसानको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले नेपालमा निसान लिफ बिक्री गरिरहेको छ। जापानी ब्रान्ड निसान लिफको सुरुवाती मूल्य ६४ लाख ९९ हजार रुपैयाँ छ। ४० किलोवाट आवरको ब्याट्री रहेकोमा एक पटकको चार्जमा ३०० किमि बढी गुड्नसक्ने क्षमता यो गाडीमा रहेको कम्पनीले जनाएको छ।
किया
किया मोटर्सको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले निरो ईभी बजारमा बिक्री गर्दै आएको छ। कन्टिनेन्टल ट्रेडिङले ईभी ६ छिट्टै नेपालमा सार्वजनिक गर्दै छ।
बीवाईडी
उत्तरी नाका बन्द हुँदा बीवाईडीलाई भने अप्ठ्यारो पर्ने भएको छ। चीनले अचानक उत्तरी नाका बन्द गर्दा अटो शो लक्षित गाडी रोकिएका हुन्। बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले अट्टो ३ सार्वजनिक गर्ने तयारी गरे पनि नाकामा गाडी रोकिँदा समस्या रहेको जानकारी दिएको छ।
साइमेक्स इंककी प्रबन्धनिर्देशक यमुना श्रेष्ठले उत्तरी नाका बन्द हुँदै सबै गाडी रोकिएको बताइन्। ‘नाडा अटो शो मा के–के हुन्छ भन्न सकिने अवस्था छैन’, श्रेष्ठले भनिन्, ‘नाडामा हाम्रो स्टल हुन्छ तर नाका नखुल्दा कुन–कुन गाडी रहन्छ भन्न सकिने अवस्था छैन।’
बीवाईडीले अट्टो ३ सार्वजनिक गर्ने तयारी गरेको थियो। अट्टो ३ एकपटकको चार्जमा ४२० किलोमिटरसम्म गुड्नसक्ने कम्पनीको भनाइ छ।
‘नाडा ईभी अटो शोअघि नै गाडी सार्वजनिक गर्ने तयारी गरेका थियौँ’, श्रेष्ठले भनिन्, ‘नाका बन्द हुँदा गाडी नाकामै रोकिए।’ बीवाईडीको हाल ई६ मोडल बिक्री गर्दै आएको छ। बजारमा ई६ को पनि स्टक नरहेको कम्पनीले जनाएको छ।
नेटा भी
चिनियाँ ब्रान्ड नेटा भीको आधिकारिक बिक्रेता सिजी मोटर्सको पनि नेपाली बजारमा उपस्थिति छ। चौधरी ग्रुपले भित्र्याएको नेटा भीको मूल्य ३८ लाख रुपैयाँ छ। उक्त गाडीमा ७० किलोवाट मोटर जडान छ।
सिजी मोटर्सका दिपक थापाले नाडा अटो शोमा आफूहरुको उपस्थिति रहने जानकारी दिए।
‘हाम्रो नाडा ईभी शोमा उपस्थिति हुन्छ। शोमा नेटा भी रहन्छ’, थापाले भने, ‘केही नयाँ प्रोडक्टको विषयमा पनि छलफल भइरहेको छ।’
यता दीगो ग्रुपले पनि नेपालमा चिनियाँ विद्युतीय गाडीको बिक्री गर्दै आएको छ। शोमा कम्पनीको पनि उपस्थिति हुनसक्ने अपेक्षा छ।
Shares
प्रतिक्रिया