काठमाडौंको गोठाटारमा लाल मोहम्मदको हत्या गर्ने योजना भारतीय नागरिक नितिन मदनले बनाएको खुलेको छ।
काठमाडौंमा बस्दै आएका आपराधीक पृष्ठभूमिका नितिनकै योजनामा लाल महम्दको हत्या गरिएको प्रहरीको विशेष ब्यूरो स्रोतले जनाएको छ।
नितिनले केही समयदेखि महम्मदको पिछा गरिरहेको र सुटर पनि उनैले खोजेको खुलेको प्रहरीको दाबी छ। नितिन २ वर्ष पहिले काठमाडौंमै पक्राउ परेका थिए। उनलाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको थियो। पछि उनी धरौटीमा रिहा भएका थिए।
नितिन काठमाडौंमा हुण्डिको कारोबारमा समेत संलग्न थिए। हत्याअघि उनीहरु गोठाटारको कोसिपारी गेष्टहाउसमा बसेको खुलेको छ। प्रहरीका अनुसार त्यहाँ उनीहरु जितेन खानको नाममा कोठा बुक गरेर बसेका थिए।
नितिनको उदय सेट्ठीसँग पनि कनेक्सन देखिएको छ। विगतमा लाल मोहम्मद र नितिन सँगै सेट्ठीलाई भेट्न रसुवा कारागार गएको समेत देखिएको प्रहरी स्रोत बताउँछ। अपहरणको मुद्दामा सेट्ठी हाल रसुवा कारागारमा छन्।
यसअघि नेपालमा भएका विभिन्न व्यक्तिको हत्यामा पनि यो समूहको संलग्नता देखिएको थियो। नेपालमा रहेका भारतीय आपराधिक समूहको नेतृत्व सेट्ठीले नै गर्दै आएका थिए।
सोमबार साँझ गोली हानी ५८ वर्षीय लाल महम्मदको आफ्नै पसल अगाडि हत्या भएको थियो। कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित उनको गार्मेन्ट अगाडि अज्ञात समूहले गोली प्रहार गरेर फरार भएका थिए।
यसअघिका घटनाले पनि उनको हत्यामा भारतीय जोडिएको र त्यसमा नक्कली भारु नोटको कारोबार जोडिएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेकाे थियाे।
Shares
प्रतिक्रिया