दाङमा एउटै खाडलभित्र शव भेटिएका किशोर–किशोरीको मृत्यु बँदेल मार्ने समूहले थापेको विद्युतीय धरापमा परेर भएको पत्ता लागेको छ।
गत असोज ३० गते एकै खाडलमा पुरिएको अवस्थामा भेटिएका तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाँउका १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतराको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। यस क्रममा उनीहरूको मृत्यु बँदेल मार्न थापिएको विद्युतीय धरापमा परेर भएको कुरा पत्ता लागेको हो।
घटनामा संलग्न आरोपमा दमारगाउँकै चार जनालाई प्रहरीले पक्राउ गरेपछि किशोर–किशोरीको मृत्युको रहस्य खुलेको हो।
पक्राउ परेकाहरूका अनुसार विद्युतीय धरापमा करेन्टमा परेर मृत्यु भइसकेपछि दुई जनालाई खाडलमा पुरिएको हो।
घटना अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार पक्राउ परेकाहरूले करेन्टबाट उनीहरूको मृत्यु भइसकेपछि बोरामा हालेर शव चिरोमा फालेको र फरुवाले खाल्डो खनेर गाडेको स्वीकार गरिसकेका छन्।
अभियुक्त ४ जनाले बँदेल मार्न भनेर रोशनीको घर नजिककैको कुखुरा फारमबाट बिजुलीको तार तानेर बिच्छ्याएका थिए। रोशनी र शरद आपसमा प्रेममा थिए। असोज २७ गते राति करिब सवा १० बजेतिर एकअर्कालाई भेट्न उनीहरू दुई जना घरबाट निस्किएका थिए। त्यही क्रममा विद्युतीय धरापमा परेर रोशनी र शरदको एकैसाथ मृत्यु भएको पक्राउ परेकाहरूले प्रहरीलाई बयान दिएका छन्।
उक्त घटना छिपाउन उनीहरूले ढुंगाले टाउको लगायत शरीरका विभिन्न भागमा हानी शव व्यवस्थापन गरेको भन्ने खुलेको प्रहरीको भनाइ छ। शव व्यवस्थापनका लागि बोकेर लगेका बोराहरू उतै जलाइएको उनीहरूले प्रहरीलाई बताएका छन्।
घटनाबारे प्रहरीले सकभर आजै र नभए भोलिसम्म पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने तयारी गरेको छ।
Shares
प्रतिक्रिया