महोत्तरीको पिपरा गाउँपालिकाबाट अपहरित एक व्यक्तिलाई मधेश प्रदेश प्रहरीले ५ दिनपछि सकुशल उद्धार गरेको छ।
काठमाडौँमा म्यान पावर सञ्चालन गर्ने सिरहाको लहानका इसर सिद्धकीलाई मधेश प्रदेश प्रहरीका प्रहरी निरीक्षक उमाशंकर साह नेतृत्वको टोलीले महोत्तरीको मटिहानीबाट मंगलबार उद्धार गरेको हो।
काठमाडौँबाट जनकपुरधाम आउँदा सिद्धकी यही पुस ९ गते अपहरणमा परेका थिए। उनको अपहरणमा संलग्न भारत बिहारका मधुवनी जिल्ला बेतहा पर्साका मोहम्मद मुख्तार शेषलाई प्रहरीले पक्राउ पनि गरेको छ।
प्रहरीका अनुसार सिद्धकीलाई विदेश पठाइदिने भन्दै शेषले महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोर्वा बोलाएर अपहरण गरेका थिए।
सिद्धकीको ससुरालीसमेत रहेको बेतहा पर्साका शेषसँग पुरानो लेनदेन विवाद थियो। सिद्धकीले शेषसँग ५ लाख रुपैयाँ सापटी लिएर फिर्ता नगरेपछि शेषले अपहरणको योजना बनाएको मधेश प्रदेश प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शेषले सिद्धकीलाई अपहरण गरेर फिरौतीका लागि २५ लाख रुपैयाँ मागेका थिए।
अपहरणमा परेलगत्तै प्रहरी निरीक्षक साहको नेतृत्वमा खटेको टोलीले फिरौतीको रकम ९ लाखसहित सिद्धकीलाई उद्धार गर्न सफल भएको हो।
पक्राउ परेका भारतीय नागरिक शेषलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको छ।
Shares
प्रतिक्रिया