ad ad

राजनीति


न्युयोर्क उड्नुअघि दरबारमार्गमा जब बालेन शैलीमा प्रकट भए ओली

दिनेश डिसी भन्छन् : सरकारले जिम्मा दिएपछि कन्सर्ट गरेका हौँ
न्युयोर्क उड्नुअघि दरबारमार्गमा जब बालेन शैलीमा प्रकट भए ओली

सागर न्यौपाने
असोज ५, २०८१ शनिबार १७:९, काठमाडौँ

अघिल्लो वर्ष फागु पूर्णिमाको दिन काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नारायणहिटी दरबार संग्रालय अगाडिपट्टि रहेको दरबारमार्ग क्षेत्रमा भव्य कन्सर्ट आयोजना गराए। कार्यक्रमका लागि महानगरपालिकाले बजेट नै विनियोजन गरेको चर्चा पनि थियो। 

महानगरका मेयर शाह अनौपचारिक पहिरनमा कन्सर्ट हेर्न पुगे। भीडसँगै गाए, नाचे, होली खेले र सेल्फी पनि खिचे।

ठ्याक्कै त्यही ठाउँमा यसपाली असोज ३ गते संविधान दिवसको अवसर पारेर नाचगानसहित भव्य कार्यक्रम भयो।  

‘नेसनल डे कन्सर्ट’ मा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली छत्रे टोपी, ज्याकेट र जिन्समा दरबारमार्ग पुगे। उनले नेपाली झण्डा बोके। युवाहरूसँग तस्बिर खिचे। अनि संक्षिप्त सम्बोधन गर्दै भने– ‘इन्जोय गर्नुस्।’ 

ओलीको शुक्रबार अमेरिका भ्रमणको तालिका तय थियो। अमेरिका उड्नुभन्दा अघिल्लो दिन साँझ ओलीले दरबारमार्गमा पुगेर सार्वजनिक कार्यक्रममा सहभागी जनाएका हुन्।

मेयर शाहभन्दा ४५ वर्ष जेठो भए पनि प्रधानमन्त्री ओलीले उनकै शैलीमा युवाहरूको मन जित्ने प्रयत्न गरेको उनको पहिरन, बोली र सेल्फी शैलीबाट झल्किन्थ्यो।

‘प्रधानमन्त्रीको रूपमा नआउने, दर्शकको रूपमा आउने कुरा थियो। त्यही भएर उहाँ अनअफिसियल ड्रेसमा आउनुभएको हो,’ चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपालखबरसँग भने। 

मेयर शाह युवामाझ लोकप्रिय छन्। २१ लाख फलोअर्स भएको फेसबुकमा उनको पोस्ट हिट हुन्छ। उनको लोकप्रियताले राजनीतिमा पनि तलमाथि गर्नसक्ने अड्कल चलिरहेका छन्।

यही देखेका प्रधानमन्त्री ओलीले बालेन शैलीकै कन्सर्ट आयोजना गर्न लगाएको उनी निकट बताउँछन्। कन्सर्ट हुँदा रमाइलो गर्न युवाहरू जम्मा हुने नै भए। त्यसलाई ओलीप्रतिको आकर्षणका रूपमा देखाउने प्रयत्न पनि भएको छ। 

प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले हजारौँ उपस्थित भिडिओ सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै लेखे– ‘यो देश बन्छ भन्दैछ।’

यद्यपि, प्रधानमन्त्री ओलीकै अगाडि युवाहरूले बालेनको पक्षमा हुटिङ गरे।

अनि राखियो कार्यक्रम 
महानगरको मुटुमा यत्रो कार्यक्रम राख्दा महानगरपालिकासँग समन्वय हुनुपर्ने हो। समन्वय भएको भए कन्सर्ट झन् भव्य हुन सक्थ्यो। तर, सरकारले यसबारे कुनै जानकारी नै नदिएको मेयर शाहको सचिवालय सदस्यले बताए। 

प्रधानमन्त्री ओलीकै जोडबलमा कन्सर्ट गर्ने योजना बनेको ती सचिवालय सदस्य ठोकुवा गर्छन्। 

‘संघीय सरकारलाई अहिले पब्लिकको सेन्टिमेन्ट र अपेक्षा पूरा गर्न नसकेर धौ धौ भइरहेको छ,’ उनले नेपालखबरसँग भने, ‘सरकारले काम गरेको देखिएको छैन। अनि हम्मेहम्मे परिराखेको बेला इमेज बिग्रिन नदिन र इमेज बचाउन विभिन्न प्रयास भइरहेको हाम्रो बुझाइ हो।’

महानगरले अघिल्लो वर्ष फागू पूर्णिमाको दिन कन्सर्ट राखेकै भएर त्यस्तै कार्यक्रम अहिले राखिएको उनीहरू आरोप लगाउँछन्। 

त्यसो त कन्सर्ट किन आयोजना गरियो? मुख्य आयोजक को हो र खर्च कति लाग्यो? यसबारे अहिलेसम्म कसैले जानकारी दिएको छैन।

तर, प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालले दुईवटा भिडिओसहित कम्तीमा चारवटा स्टाटस राख्नुबाट प्रष्ट हुन्छ– संघीय सरकारले नै कार्यक्रम गरेको हो। त्यसको सबै व्यवस्थापन सरकार मातहतकै तहबाट भएको हो।

कन्सर्ट भएकोले कलाकार, स्टेज व्यवस्थापन, साउन्ड सिस्टम लगायतका प्रबन्ध मिलाउन र कार्यक्रम गर्न एकहप्ता बढीको तयारी हुनुपर्छ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र अशोक लोहारुङ राईले कन्सर्ट गराउन सरकारबाट जिम्मा पाएको बताए। कार्यक्रम भव्य बनाउन सबै पक्षले स्वतस्फूर्त सहयोग गरेको डिसीको भनाइ छ।

‘नागरिकहरूले एउटा कार्यक्रम गर्ने भनेर केही मानिसहरूले तयारी गरे। त्यसपछि ल न त भनेर मैले त्यो कुरा प्रधानमन्त्री कार्यालय पुर्‍याएँ,’ डिसीले नेपालखबरसँग भने, ‘त्यसपछि सरकारले यो प्रस्ताव राम्रो हो, हामी यतैबाट सेक्युरिटी सर्भिस दिन्छौँ। तपाईंहरू गर्नुहुन्छ भने गर्नुस् भनेपछि त्यसको जिम्मा मलाई र अशोक लोहारुङ राईलाई दिनुभयो।’

उनी कार्यक्रमको खर्च स्वतःस्फूर्त रूपमा उठेको दाबी गर्छन्।

‘सबैतिरबाट गरिएको छ। यसमा बजेट यति नै भन्ने छैन। कलाकारहरूले निःशुल्क प्रस्तुति दिएका हुन्। झण्डाहरू नगरपालिकाले बनाइदिएको हो,’ डिसीले थपे, ‘कसैले पाँच लाख, कसैले दुईलाख कसैले एकलाख खर्च गर्‍यो होला। कोहीले झण्डा छापेको २५ हजार तिर्‍यो होला। एउटै ठाउँबाट भएको होइन, सबैतिरबाट, नगरपालिका, प्रहरी आर्मी, गृह मन्त्रालय, क्लबहरूले गरेका छन्।’

बालेनसँग झन् दूरी बढाउँदै ओली 
केही महिनायता सामाजिक सञ्जाल फेसबुकबाट निरन्तर कटाक्ष गरेपछि मेयर शाहसँग ओली रुष्ट देखिन्छन्।

असोज ३ गते संविधान दिवसको भाषणमा उनले भने, ‘आज म खासगरी युवा पुस्तालाई सचेत गराउन चाहन्छु, तपाईंहरूभित्र केही गरौँ भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला। तपाईंहरूमा केही गरौँ भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनु होला। समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गर्छौँ, तर, याद गरौँ, देश भाँडियो भने, अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौँपुस्ता पछि पर्नेछौँ।’

जनताको क्रेज बढ्न थालेको देखेर ओली असहयोगको नीति लिएर बालेन्द्रविरुद्ध उत्रेको सचिवालय सदस्यले बताए। 

‘प्रधानमन्त्रीले नयाँ युवाहरूलाई निरुत्साहित गर्ने, उक्साउने खालको कुरा गर्नुभएको छ, त्यसको रेस्पोन्स राति पाउनुभयो। त्यहीँ भीडले जवाफ दियो,’ सचिवालयका अर्का सदस्यले भने, उहाँले पहिला कांग्रेस र आफ्नै दलका नेताहरूसँग भिडेर जित्नुभएको थियो। मुखले होस् वा कामले अरु नेता पछार्नुभएको हो। त्यसबेला जनताले पनि उहाँलाई साथ दिए। यसपाली बालेनसँग सक्नुभएको छैन। उहाँको जनमानसमा विश्वास र समर्थन छुट्टै छ। त्यही भएर अलि प्रतिस्पर्धी जस्तो व्यवहार गरिरहनुभएको छ। सबैतिर जितिरहेका मान्छे, यसपटक नसकेपछि व्यक्तिगत तहमा बोल्न थाल्नुभयो।’

पछिल्ला दिन प्रधानमन्त्रीबाट महानगरपालिकाको चियोचर्चा हुने गरेको, छलफल र बहस हुँदा खेदो खन्न र राम्रो काम गरेको नभन्न निर्देशन दिएको जानकारी पाएको उनको दाबी छ।

दरबारमार्गको कन्सर्टमा समन्वय नगरेको मात्र होइन, स्थानीय मातहत रहनुपर्ने धरहराको काममा केन्द्र सरकारले हस्तक्षेप गरेको मेयर शाहको बुझाइ छ। प्रधानमन्त्री ओलीले बालेन्द्रसँगको रिस साध्न थालेको उनी निकट बताउँछन्।  

‘संविधान कार्यान्वयन गर्नेतिर गइरहेको छैन। संघीय सरकारले धरहरा चलाउन खोज्छ। यो त उल्टो भयो,’ ती सदस्यले भने, ‘विकेन्द्रीकरणतिर जानुपर्ने हो। संविधान दिवसको दिन कार्यक्रम गर्नुस् भनेर स्थानीय तहलाई भन्नुपर्ने, बोलाउनुपर्ने हो तर, त्यसो भएन।’

समर्थकमाथिको निगरानीबाट बालेन रुष्ट
मेयर शाहको सचिवालयमा ७ जनाभन्दा बढी छन्। उनीहरूले बालेनका समर्थकलाई सरकारले निगरानी गरेको आरोप लगाए।

असोज १ गते इन्द्रजात्रामा बालेनको तस्बिर भएको टिसर्ट लगाएकाहरूलाई प्रहरीले पक्राउ गरेको थियो। 

‘प्रशासनले जसरी मेयरका समर्थकलाई टार्गेट गरिरहेको छ–भीडमा जुन व्यवहार देखियो, यसले उहाँहरूलाई शंका गर्ने ठाउँ दिएको छ,’ सचिवालयका ती सदस्य भन्छन्, ‘नेपालको क्रिकेट हुन्छ, त्यहाँ पनि मेयरको तस्बिर लगेर बस्छन्, उहाँहरूको इन्टेसन थाहा भएन, महानगरको तर्फबाट हामी स्थानीय सरकार हो। स्थायित्व छ। केही पनि समस्या छैन। मजाले दिनदिनै काम गर्ने हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .