म्यानमारस्थित नेपाली राजदूतावासले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा हिजो आइतबार साँझ एक कार्यक्रम गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूतावासका उपनियोग प्रमुख खुमानसिंह तामाङले नेपालको वर्तमान संविधानले स्थिर, समावेशी, सम्वृद्ध र शान्तिपूर्ण नेपालको परिकल्पना गरेको उल्लेख गरे।
उनले संविधान जारी भएपछि कानुनी शासन, सामाजिक न्याय र लैंगिक समानताका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको बताए।
उनले नेपालमा म्यानमारबीच सम्बन्ध निकै पुरानो भए पनि सन् १९६० मा कुटनीतिक सम्बन्ध स्थापना भएपश्चात औपचारिक रुपमा विभिन्न क्षेत्रमा आपसी सहयोग र सहकार्य गर्दै आएको बताए।
म्यानमारमा रहेका नेपाली समुदायको दुईपक्षीय सम्बन्ध थप मजबुत बनाउन उल्लेख्य भूमिका रहेको पनि उनले बताएका छन्।
कोभिड-१९ महामारी फैलिनुअघि सन् २०१८ मा म्यानमारका करिब ५० हजार बौद्ध धर्मावलम्बी पर्यटक लुम्बिनी भ्रमण गरेको उनले उल्लेख गरे।
तामाङले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल संचालन आइसकेकाले म्यानमारका मुख्य सहरहरु र भैरहवाबीच सीधा संचालन गर्न सके पर्यटक वृद्धि हुनुका साथै दुई देशबीच आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध थप सुदृढ हुने बताए।
कार्यक्रममा म्यानमारका लागि नवनियुक्त नेपाली राजदूत महामहिम हरिश्चन्द्र घिमिरे उपस्थित थिए। उनले त्यहाँका राष्ट्रप्रमुखलाई ओहदाको प्रमाणपत्र बुझाउन बाँकी छ।
कार्यक्रममा नेपाली मूलका म्यानमार नागरिकहरु, विभिन्न संघ संस्था र व्यवसायमा संलग्न नेपालीहरु, म्यानमारका व्यवसायी तथा समाजसेवी, ट्राभल एजेन्सीका प्रतिनिधिहरु, म्यानमारको परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरु लगायतको सहभागिता थियो।
कार्यक्रममा नेपाल चिनाउने कला र संस्कृति झल्किने वस्तुहरु प्रदर्शनमा राखिएको थियो। कार्यक्रममा नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी श्रव्यदृष्य सामाग्रीसमेत प्रस्तुत गरियो। सहभागीलाई नेपाली खानासहित रात्रिभोज दिइएको थियो।
Shares
प्रतिक्रिया