ad ad

प्रवास


भारतीय संसदमा राजु विष्टले नेपालीमा सुनाए गोर्खामाथि अपमानको कथा

भारतीय संसदमा राजु विष्टले नेपालीमा सुनाए गोर्खामाथि अपमानको कथा

भारतीय लोकसभाका सदस्य सांसद राजु विष्ट


नेपालखबर
माघ २९, २०७९ आइतबार १५:२६, काठमाडौँ

भारतीय गोर्खा समुदायमाथि त्यहाँको नेतृत्वले गरिरहेको अपमानको कथा संसदमा उठेको छ। 

भारतीय लोकसभामा सांसद राजु विष्टले नेपाली भाषामा त्यहाँका डेढ करोड गोर्खामाथि पटक पटक भइरहेको अपमानको शनिबार सुनाएका हुन्। 

चालू सांसदीय बजेट अधिवेशनको क्रममा शनिबार दार्जीलिङका लोकसभा सांसद विष्टले सदनमा आफ्नो भनाइ राख्ने अवसर पाएका थिए। 

उनले भारतीय गोर्खा समुदायमाथि भइरहेको अपमानको कथा नेपाली भाषामै सदनलाई सुनाउँदै यो अन्यायबारे सरकार गम्भी हुनुपर्ने बताए। 

'म गोर्खाको सम्मान र स्वभिमानका लागि उभिएको छु, गोर्खाहरूमाथि फेरि अपमान भएको छ। यस पटकको अपमान तृणमूल कांग्रेसको कुनै नेताले होइन, भारतको सर्वोच्च न्यायालयबाट भएको छ', उनले भने, 'गत १३ जनवरी, २०२३ को दिन एक याचिकामाथि सर्वोच्च न्यायालयले सुनुवाइ गर्ने क्रममा सिक्किमे नेपालीभाषीलाई विदेशीको लाञ्छना लगाइएको थियो।'

उनले सर्वोच्च न्यायालयको उक्त बयान सिक्किमेली नेपालीभाषीमाथि मात्र नभएर देशको सम्पूर्ण गोर्खाहरुमाथि नै ठूलो बज्रपात भएको बताए। उनले यसलाई भारतीय मूलका नेपालीभाषी गोर्खाहको अपमानका रुपमा संसदमा व्याख्या गरे।

उनले यस्तो प्रकारको अपमान पहिलोपटक नभएको बताए। 'भारतमा बसोबास गर्ने यो डेढ करोड गोर्खाहरू को हुन्?  म को हुँ?', उनले सोधे, 'गोर्खा अर्को देशबाट सिमाना नाघेर आएका होइनन्। भारतीय सीमाले हामीलाई नाघेको चाहिँ हो', उनले भने, 'तमिल भाषा बोल्ने श्रीलंकन भएनन्, बङ्गाली बोल्ने बंगलादेशी भएनन्, तर भारतीय संविधानले मान्यता दिएको नेपालीभाषी गोर्खा चाहिँ कसरी विदेशी भए? यो नेपाली भाषी गोर्खाहरूको अपमान हो।'

सांसद विष्टले, पुनरावेदन दर्ता गरेर भारत सरकार, सिक्किम सरकार र केन्द्रीय गृहमन्त्रालयले त्यो आपत्तिजनक शब्द हटाएकोमा धन्यवाद दिए।

तर भारतीय गोर्खाहरूमाथि यस्तो अपमान पटक पटक भइरहेको भन्दै विष्टले सदनमा प्रश्न उठाए। 

विष्टले भारतीय गोर्खाहरूमाथि बारम्बार लाग्ने गरेको लाञ्छनालाई जरैबाट उखेल्न गोर्खा सामुदायका ११ जात-उपजातलाई जनजातिमा समावेश गर्न माग पनि गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .