अमेरिका बस्दै आएका चर्चित रक्तदाता अर्जुन मैनाली सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस पोस्ट गरेपछि बेपत्ता भएका छन्।
श्रीमतीको नाममा गम्भीर सन्देशसहितको स्टाटस सोमबार बिहान (नेपाली समयअनुसार) लेखेपछि मैनाली बेपत्ता भएका हुन्।
अमेरिकाको सार्लोटमा बस्दै आएका उनको फेसबुक पोस्टमा श्रीमतीसहित ससुरालीका आफन्तसँग झगडा परेको देखिएको छ। मैनाली बेपत्ता भएपछि उनको परिवारमा रूवाबासी चलेको छ।
अमेरिकास्थित एकजना नेपाली चिरञ्जीवी भट्टराईले मैनालीलाई फोन र म्यासेज गर्दा कुनै जवाफ नआएको बताए।
'अर्जुनजीलाई फोन, म्यासेज गरेको कुरा हुन सकेन', उनले भने, 'सार्लोटका नेपालीहरूलाई फोन गरेर बुझ्दै छु, एक जना साथी अहिले उहाँको घरमा जाँदै हुनुहुन्छ।'
अमेरिका निवासी सुनिता शर्मा कोइरालाले मैनालीको नम्बर र म्यासेन्जरमा कल गर्दा कुनै जवाफ नआएको जानकारी दिइन्।
उनका अनुसार मैनाली बेपत्ता भएपछि उनको अमेरिकास्थित घरमा आफन्तको रूवाबासी चलेको छ। अहिले आफन्तले मैनालीको खोजीका लागि प्रहरी गुहारेका छन्।
मैनाली रक्तदाताका रूपमा विश्वभर चर्चित छन्। उनले नेपालदेखि कयौं अफ्रिकी मुलुकमा समेत पुगेर रगतदान गरेका छन्।
उनलेे नेपाल, भारत, क्यानडा, बेलायत,घाना, मकाउ, बर्मुडा, आयरल्याण्ड, अष्ट्रेलिया, , इक्वेडर, हाइटी, युगाण्डा, थाइल्यान्ड,इथिओपिया, मलावी, रुवान्डा, केन्या, अर्जेन्टिना र मेक्सिको पुगेरसमेत रक्तदान गरिसकेका छन्।
काभ्रेपलाञ्चोकको कोटथुम्का, सिपाली पुर्ख्यौली थलो भएका उनले हालसम्म २०६ पटकमा १०२ लिटर रक्तदान गरेर अरूको जीवन बचाउन भूमिका खेलेका छन्।
उनी सन् २००० मा अमेरिकन एशोसिएसन अफ ब्लड बैंकको वार्षिक सम्मेलनमा भाग लिन अमेरिका पुगेका थिए। त्यसपछि उनी अमेरिकमै बस्दै आएका छन्।
उनलाई अमेरिकन रेडक्रसले उनलाई सन् २००९ मा ‘द गुड नेइबर’ सम्मान दिएको थियो।
उनले अमेरिकामा विभिन्न तीन सामाजिक संस्था स्थापना गरेर रक्तदान अभियानलाई अघि बढाइरहेका थिए। पछिल्लो समयसम्म उनी यी संस्थामा निरन्तर क्रियाशील थिए।
Shares
प्रतिक्रिया