ad ad

कारोबार


१५ वर्षमा ह्वात्तै बढ्यो मोटरसाइकलको बिक्री, एकै वर्षमा साढे ३ लाख पुग्यो

१५ वर्षमा ह्वात्तै बढ्यो मोटरसाइकलको बिक्री, एकै वर्षमा साढे ३ लाख पुग्यो

वसन्त अर्याल
साउन १७, २०७८ आइतबार १६:३९, काठमाडौँ

१५ वर्षयता दुईपांग्रे सवारीसाधन चढ्नेको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ। 

गाउँ–गाउँमा सडक पूर्वाधार र सहरी पूर्वाधारको निर्माणले गति लिँदा दुईपांग्रे सवारीसाधनको प्रयोग बढेको हो। 

०६२/०६३ को आन्दोलनको समयमा ५०–६० हजार दुईपांग्रे सवारीसाधन बिक्री हुने गरेकोमा कोभिड महामारीको समयमा साढे ३ लाख नयाँ मोटरसाइकल बिक्री भएका छन्। 

नेपालमा ३ दशक अघिसम्म जापानबाटै बढी दुईपांग्रे सवारीसाधन आयात भई बिक्री हुन्थे। 

भारतमै दुईपांग्रे सवारीसाधनको प्लान्ट स्थापनासँगै मोटरसाइकलको मूल्य घट्दा नेपालमा माग बढ्दै गएको व्यवसायी बताउँछन्। 

त्यसबाहेक पछिल्ला वर्षमा बढी खपत भएको काठमाडौं उपत्यकामा  सार्वजनिक यातायातमा यात्रा गर्दा समयमै पुग्न समस्याले पनि दुईपांग्रे सवारीसाधनको बिक्री बढाएको देखिन्छ। 

पहिला नेपालमा थोरै कम्पनीले मात्रै दुईपांग्रे सवारीसाधन बिक्री गर्थे। कम्पनीबीच प्रतिस्पर्धा बढ्दै जाँदा ऋण, डाउनपेमेन्ट लगायतका सुविधा बढ्दै गए जसले दुईपांग्रे सवारीसाधनको बिक्री बढेको छ। 

३५ वर्षदेखि दुईपांग्रे सवारीसाधन बिक्रीमा आबद्ध दिपक बज्राचार्य पूर्वाधारहरुको विकास र कम्पनीहरुबीचको प्रतिस्पर्धाले दुईपांग्रे सवारीसाधनको बिक्री बढेको बताउँछन्। 

‘पहिला जापानबाट गाडी आउँदा महंगो हुन्थ्यो। पछि भारतमै दुईपांग्रे उत्पादन हुन थालेपछि गाडीको मूल्य सस्तियो’, नेपाल जनरल मार्केटिङ प्रालिका सिनियर म्यानेजर बज्राचार्यले भने, ‘नेपालीको आर्थिक स्थिति बलियो हुँदै जाँदा दुईपांग्रे सवारीसाधनको बिक्री बढेको हो।’

पहिला मोटरसाइकल पुरुषले मात्र चलाउँथे। पछिल्लो समय भने महिलाहरु पनि दुईपांग्रे सवारीसाधनमा जोडिएका छन्। 

खासगरी महिलाहरु रोजगारीमा जोडिन सुरु भएसँगै त्यसले दुईपांग्रे सवारीसाधनको बजारलाई उकासेको व्यवसायीहरुको विश्लेषण छ। 

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०६४/०६५ मा मोटरसाइकल ७१ हजार ३ सय ५३ वटा मात्रै आयात भएका थिए। गत आर्थिक वर्ष दुईपांग्रे सवारीसाधनको बिक्री ह्वात्तै बढेको छ।  

जसमा २५० सीसीसम्मका बाइक तथा स्कुटर मात्रै ३ लाख ४५ हजार नेपाल भित्रिएका छन्। 

२५० देखि ४०० सीसीसम्मका ८ हजार ४ सय ३९ वटा बाइक आयात भएको भन्सार विभागले जनाएको छ। 

१ वर्षमा विद्युतीय मोटरसाइकल तथा स्कुटर २३ सय ३३ वटा आयात भएका छन्। 

यामाहा मोटरसाइकलका बिक्रेता तथा नाडा अटो मोबाइल एसोसिएसनका कार्यसमिति सदस्य मिलन बाबु मल्लले कोभिड महामारीको वर्षमा सबैभन्दा बढी दुईपांग्रे सवारीसाधन बिक्री भएको बताए। 

‘सार्वजनिक यातायात लामो समय बन्द भए। खुले पनि सार्वजनिक यातायातमा चढ्न संक्रमित हुने डरले दुईपांग्रे सवारीसाधन बिक्री बढेको हो’, मल्लले भने, ‘नेपालीले चारपांग्रे सवारीसाधन प्रयोग गर्ने क्षमता कम रहँदा दुईपांग्रे सवारीसाधनमा बढी चाप छ।’

१ दशक अघिसम्म ऋण लिँदा ब्याजदर धेरै झन्झटिलो थियो । बाइक किन्नको लागि ऋण दिँदा घर नै हेर्न जान्थे। अहिले थोरै ऋणको लागि घर जानैपर्ने अवस्था छैन। 

त्यसबाहेक अहिले ग्राहक हेरी ३० प्रतिशत रकम तिरे बाँकी विना ब्याजदर दुईपांग्रे सवारीसाधन बिक्री गर्दै आएका छन्। 

त्यसैगरी मोटरसाइकल आवश्यकता मात्रै नभई अहिले नयाँ प्रोडक्ट आउनेबित्तिकै पुरानो बाइक परिवर्तन गर्ने चलन समेत छ। 

यातायात व्यवस्था विभागका अनुसार नेपालमा करिब ४० लाख गाडी दर्ता भएका छन्। त्यसमा करिब ८० प्रतिशत दुईपांग्रे सवारीसाधन मात्रै भएको विभागको तथ्यांकले देखाएको छ। 

कुन वर्ष कति नयाँ मोटरसाइकल भित्रिए?
नेपालमा सबैभन्दा बढी २५० सीसीसम्मका गाडी प्रयोगमा रहेका छन्। 

२५० देखि ५०० सम्मका वर्षेनी केही हजार मात्रै भित्रिन्छन्। ५ सय सीसीमाथिका आवश्यकभन्दा पनि सोखको कारण चढ्नेहरु धेरै छन्। 

पछिल्लो पाँच वर्षमा गत आर्थिक वर्षमा ३ लाख ५५ हजार मोटरसाइकल तथा स्कुटर भित्रिएका थिए। पछिल्ला वर्षमा विद्युतीय दुईपांग्रे सवारीसाधनको मागसमेत बढ्दै गएको छ। 

विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ मा २५० सीसीसम्मका २ लाख ३ हजार ५ सय बाइक आयात भएका थिए। 

२५० देखि ५०० सीसीसम्मका ३ हजार ८०९ मोटरसाइकल तथा स्कुटर आयात भएका छन्।

५ सय सीसीमाथिका ४६ वटा आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। 

त्यस्तै, दुईपांग्रे विद्युतीय सवारीसाधन १२ सय २० वटा नेपाल भित्रिएका छन्। 

त्यसअघिको आर्थिक वर्ष २०७५/०७६ मा २५० सीसीसम्मका २ लाख ६६ हजार ७६९ वटा सवारीसाधन आयात भएका छन्। 

त्यस्तै २५० देखि ५ सय सीसीसम्मका ३ हजार ११९ मोटरसाइकल आयात भएका छन्। 

उक्त वर्ष ५ सय सीसीमाथिका ५६ वटा आयात हुँदा विद्युतीय २ हजार ४७ वटा नेपाल भित्रिएका थिए। 
 
त्यस्तै आर्थिक वर्ष ०७४/७५ मा २ लाख ५१ हजार ५८१ बाइक नेपाल भित्रिएका छन्। २५० देखि ५०० सीसीसम्मका ५ हजार ९९८ वटा आयात भएका छन्। ५ सय सीसीमाथिका ११ सय दुईपांग्रे सवारी साधन आयात भएका छन्।

आर्थिक वर्ष ०७३/०७४ मा २५० सीसीसम्मका २ लाख २९ हजार बाइक तथा स्कुटर आयात भएका थिए। २५० देखि ५०० सीसीका ५ हजार ७९३ बाइक आयात भएका छन्। ५ सयभन्दा माथिका १२३ वटा आयात भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .