ad ad

कारोबार


नेपाली बजारमा लोभिँदै चिनियाँ कार ब्रान्ड

नेपाली बजारमा लोभिँदै चिनियाँ कार ब्रान्ड

वसन्त अर्याल
साउन २६, २०७८ मंगलबार ७:५६, काठमाडौँ

पछिल्लो समय नेपालमा चिनियाँ ब्रान्डका गाडी भित्रिने क्रम बढेको छ। 

एक दशकअघि नेपाल भित्रिएर बन्द भएका अटो ब्रान्ड समेत पुनः प्रवेश गर्नथालेका हुन्। 

विश्वमा विद्युतीय गाडी उत्पादनमा सबैभन्दा अघि रहेको चीन पेट्रोल÷डिजेलका प्यासेन्जर भेहिकलमा समेत प्रतिस्पर्धा गर्न खोज्दै छन्। 

विद्युतीय गाडीमा चीनले अमेरिकी ब्रान्ड टेस्ला, ब्रिटिस ब्रान्ड एमजीका गाडी समेत उत्पादन गर्दै युरोप, अमेरिकालगायतका देशमा निर्यात गर्दै आएको छ। 

बीवाईडी
चीनको आफ्नै विद्युतीय ब्रान्ड बीवाईडी अहिले अन्तर्राष्ट्रिय ब्रान्ड बनिसकेको छ। बीवाईडी नेपालमा समेत चर्चित छ। 

चिनियाँ कम्पनी बीवाईडी अटो इन्डस्ट्रिज कम्पनी लिमिटेडका विद्युतीय गाडी सिमेक्स इन्क नेपालस्थित आधिकारिक बिक्रेता हो। 

बीवाईडीका गाडी नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी चढ्दै आएकी छिन्। 

यसबाहेक ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरणले समेत बीवाईडीका गाडी खरिद गरेका छन्। 

नेपालमा बीवाईडीका विद्युतीय गाडीमा ई६ लोकप्रिय मोडल हो। हाई रेन्जमा उपलब्ध ई६ नयाँ मोडल कम्पनीले भर्खर भित्रिएको छ। बीवाईडीले एम३ को भ्यान समेत बिक्री गर्दै आएको छ। 

नेपालमा पछिल्लो एक महिनामा तीनवटा चर्चित मोडल नेपाल भित्रिएका छन्। करिब एक दशकअघि नेपाल भित्रिएर बन्द रहेका ग्रेटवाल, चेरी ब्रान्ड फेरि भित्रिएका हुन्। 

ग्रेटवाल मोटर्स
हालै चिनियाँ ग्रेटवाल मोटर्स (जीडब्लुएम)ले नेपालमा तीनवटा मोडल नेपाल भित्र्याएको छ। ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता विशाल ग्रुपअन्तर्गतको भीजी इम्पेक्स प्रालिले नेपालमा गाडी बिक्रीवितरण गर्दै आएको छ।

चिनियाँ कम्पनी ग्रेटवालका दुई ब्रान्ड नेपालमा बिक्री हुनेछन्। भीजी इम्पेक्सले हावल र ग्रेटवाल ब्रान्डका गाडी सवारीसाधन भित्र्याइसकेको छ। कम्पनीले नेपालमा ५ मोडलका गाडी ल्याउने तयारी समेत गरेको छ। जसमध्ये ३ वटा मोडल सार्वजनिक गरेको जनाएको छ। 

कम्पनीले हावल ब्रान्डका जोलियन र एच६ एसयूभी आएका छन् भने जीडब्लुएम ब्रान्डमा पोयर आइसकेको छ। ग्रेटवाल ब्रान्डमा विङ्गल पिकअप गाडी र नेपालमै सस्तो विद्युतीय कार ओरा आर १ इलेक्ट्रिक गाडी छिट्टै ल्याउने जनाएको छ।

चेरी
पहिला आएर बन्द भएको चिनियाँ ब्रान्ड चेरीको आधिकारिक बिक्रेता सारडा ग्रुपले लिएको छ। 

ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्स प्रालि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेतामा नियुक्त भएको हो। 

कम्पनीले केही महिनाभित्रै चेरी ब्रान्ड गाडी भित्र्याउने जानकारी दिएको छ। चीनमा सन् १९९७ मा चेरी अटोमोबाइल्स को.लि. स्थापना भएको थियो। कम्पनीले एरिजो, टिगो, एक्सिडलगायत ब्रान्डमा गाडी उत्पादन गर्दै आएको छ।

सारडा ग्रुपअन्तर्गतकै पायोनिअर मोटोकर्पले निशान र ड्याटसन ब्रान्डका गाडी बिक्री गर्दै आएको छ। 

चांगन
चीनकै चांगन अटोग्रुपले नेपाली बजारमा प्रवेश गर्ने औपचारिक निर्णय गरेको छ। 

नेपालस्थित एमएडब्लु वृद्धि अटोकर्पसँग व्यापारिक साझेदारीमा यस चिनियाँ कम्पनीले नेपालमा आफ्नो उत्पादनहरूको बिक्रीवितरण गर्ने भएको हो। 

कम्पनीले पहिलो चरणमा सेडान, पिकअप र एसयूभी तथा दोस्रो चरणमा विभिन्न विद्युतीय गाडी नेपालमा बिक्रीवितरण गर्ने योजना बनाएको हो। सन् २०२१ मा चांगन ब्राण्डका प्यासेन्जर गाडीहरू चीनमा सबैभन्दा बढी बिक्री हुन सफल भएको थियो। 

त्यसैगरी सन् २०२० मा यस ब्राण्डका २० लाख वटा गाडीहरू विश्वका ६० मुलुकहरूमा बिक्री भएको थियो। चीनमा बिक्री र त्यहाँबाट निर्यात हुने अधिकांश फोर्ड र माज्दा गाडीहरू चांगन अटो ग्रुपले उत्पादन गर्छ।

फोटोन
एमएडब्लु वृद्धिले चिनियाँ ब्रान्ड फोटोनका गाडी समेत बिक्री गर्दै आएको छ। 

फोटोनले नेपालमा टुनाल्ड मोडलका पिकअप सवारीसाधन बिक्रीवितरण गर्दै आएको छ। त्यसबाहेक विभिन्न मोडलका हाइस र एम्बुलेन्स समेत कम्पनीले बिक्रीवितरण गर्दै आएको छ। 

डीएफएसके
डीएफएसके सन् २०१९ बाट नेपाली बजारमा बिक्री हुँदै आएको छ। कुजु नेपाल प्रालिले नेपालमा ग्लोरी आई अटो, ग्लोरी ५८० र ग्लोरी ५६० मोडलको गाडी नेपाल भित्र्याएको छ। 

डीएफएसके चिनियाँ ब्रान्ड भए पनि इन्डोनेसियाको प्लान्टमा निर्मित गाडी नेपाल आउने कुजु नेपालले जानकारी दिएको छ। कम्पनीले भित्र्याएका गाडीमा नेपाली ग्रहाकको राम्रो ‘रेस्पोन्स’ रहेको जनाएको छ।

डीएफएसकेका गाडी चलाउँदै फोन गर्न वा उठाउन, फोन कल हिस्ट्री हेर्न, गीत सुन्न र बन्द, कार कन्ट्रोल, भ्वाइस नेभिगेसन, कनेक्टिभिटी गर्न  सकिने आकर्षक फिचरले ग्राहकलाई आकर्षित गरेको कम्पनीको भनाइ छ।

चिनियाँ अटो ब्रान्ड अन्तर्राष्ट्रिय ब्रान्ड भएः व्यवसायी
पहिला चिनियाँ ब्रान्ड भनेर नाक खुम्च्याउने ग्राहक प्रविधिमा चीनको विकाससँगै फेरिएका छन्। पहिले चिनियाँ ब्रान्ड मात्रै भनेर चिनिने अटो ब्रान्ड अहिले अन्तर्राष्ट्रिय ब्रान्डको रुपमा परिचत हुनथालेका छन्।

बीवाईडी, ग्रेटवाल मोटर्स, चेरी ब्रान्ड अन्तर्राष्ट्रिय ब्रान्डको रुपमा परिचित छन्। नेपालमा आउने चिनियाँ ब्रान्ड समेत अरु देशमा बन्ने गरेका छन्।  

‘अहिले सूचना प्रविधिको युगमा कुन गाडी कस्तो भन्ने जानकारी सहज लिन सकिन्छ’, बीवाईडी नेपालकी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठले भनिन्, ‘बीवाईडी गाडी चिनियाँबाट अन्तर्राष्ट्रिय ब्रान्ड भएको छ। युरोप अमेरिकामा सर्वाधिक रुचाइएको छ।’

बीवाईडीले अन्तर्राष्ट्रिय स्ट्यान्डर्डमा गाडी उत्पादन गर्दै आएकोले बिक्रीको लागि कुनै समस्या नरहेको बताएको छ।

अटो व्यवसायीहरुले पछिल्लो समय चिनियाँ ब्रान्डले छवि सुधार गरेको बताएका छन्। नेपाल पहिला चिनियाँ ब्रान्डका गाडी भित्रिने तर लामो समय नटिक्दा धुमिल भएको थियो। 

‘नेपाल भित्रिएका चिनियाँ ब्रान्ड अन्तर्राष्ट्रिय रुपमा राम्रो छवि भएका नै छन्’, एक अटो व्यवसायीले भने, ‘नेपाल भित्रिएका ब्रान्डलाई निरन्तरता दिदै सर्भिसमा अझै ध्यान दिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .