सिरहा–धनुषा जोड्ने हुलाकी सडक अन्तर्गत कमला नदीमाथि नवनिर्मित पुलको अर्को स्पान पनि भासिएको छ।
दुई दिनको लगातारको वर्षाका कारण नदीमा आएको बाढीले अर्को स्पान बुधबार मध्यान्ह भासिएको हो।
धनुषा जिल्लातर्फको ३ नम्बर पिलर भासिएको हुलाकी सडक निर्देशनालयका प्रमुख कृष्णकुमार महतोले जानकारी दिए। उनले स्पान भासिएको विषयमा निरीक्षण गर्न निर्देशनालयबाट टोली पुगेको बताए।
यसअघि गएको असार १७ गते कमला नदीमा आएको ठूलो बाढीले निर्माणधिन पुलको सिरहा बसपिट्टा तिरको दोश्रो स्पान भासिएको थियो। त्यसको भोलिपल्ट स्ल्याप पनि झरेको थियो।
कमला नदीको निर्माणाधिन सो पुलको ९९ प्रतिशत काम सम्पन्न भएको थियो। गएको साउनमा हस्तान्तरण गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेकै बेला असार १७ गते नै एउटा स्पान भासिएको थियो।
पुल निर्माणका लागि सुरुमा पप्पु कन्स्ट्रक्सनले २०६८ सालमा ४२ महिनाभित्र सक्ने गरी ठेक्का पाएको थियो। तर, उसले ७ वर्षसम्म पनि निर्माण सम्पन्न नगरेपछि हुलाकी राजमार्ग निर्देशनालय जनकपुरले लुम्बिनी बिल्डर्सलाई २०७८ असार १३ गते काम सक्ने गरी निर्माणको जिम्मा दिएको थियो।
निर्माण सम्पन्न नहुँदै पुल भासिएपछि सोको पुनः निर्माण गर्ने काम निर्माण कम्पनी लुम्बिनी बिल्डर्सले नै गर्ने जिम्मा लिएको छ।
Shares
प्रतिक्रिया