ad ad

कारोबार


बैंकले बीमाको लोभ देखाएर खाता खोल्न थालेपछि समितिले सुरु गर्‍यो छानबिन

बैंकले बीमाको लोभ देखाएर खाता खोल्न थालेपछि समितिले सुरु गर्‍यो छानबिन

दीपक भट्ट
कात्तिक २७, २०७६ बुधबार १२:४४,

बैंकहरुले निक्षेपकर्ताहरुलाई बीमाको समेत ‘स्किम’ बाँड्न थालेपछि बीमा समितिले बैंक तथा बीमा कम्पनीहरुबीचको कार्यप्रक्रियाबारे छानबिन थालेको छ। वाणिज्य बैंकहरुले पछिल्लो समय रोग तथा दुर्घटनाबापतको बीमा निक्षेपकर्ताहरुलाई दिने भन्दै भटाभट ‘स्किम’ जारी गर्न थालेपछि अध्ययन टोली नै गठन गरेर समितिले छानबिन अघि बढाएको हो।

बीमा कम्पनीविना बैंकहरुले बीमा गर्न नै सक्दैनन् तर वाणिज्य बैंकहरुले भने बीमा स्किम सार्वजनिक गरिरहेका छन्। समितिले बैंक र बीमा कम्पनीले कुन आधारमा उक्त कार्य गरिरहेका हुन् भन्नेबारे छानबिन गर्न समितिमा कार्यरत बोधराज शर्माको नेतृत्वमा अध्ययन टोली गठन गरेको छ। शर्मा समितिमा बीमा विज्ञका रुपमा कार्यरत छन्।

बीमा समितिले बीमा कम्पनीहरुलाई मात्रै नियमन गर्न सक्ने भएकोले बीमा कम्पनीमार्फत छानबिन हुनलागेको हो। शर्माको टोलीले छानबिनपश्चात् एक प्रतिवेदन तयार गर्ने र त्यसको आधारमा छानबिन प्रक्रिया अघि बढाउने नियामक संस्थाले जानकारी दिएको छ। स्वयं शर्माले छानबिन गर्न अध्ययन टोली गठन भएको पुष्टि गरेका छन्।

‘बीमा कम्पनीले कसरी बैंकहरुलाई जिम्मा दिएका छन् वा बैंकहरुले कसरी बीमा दिने घोषणा गरेका हुन्, त्यसको अध्ययन भइरहेको छ’, उनले नेपालखबरसँग भने, ‘अहिले बैंकहरुले जसरी निक्षेपकर्तालाई बीमा गरिदिने भन्दै आफ्नो योजना सार्वजनिक गरेका छन्। त्यो गलत छ।’

बैंकहरुले पछिल्लो समय गरेको बीमा अभ्यास गलत रहेको उनले बताए।

‘त्यसमा छानबिनको प्रक्रिया अघि बढाउने क्रममा पहिलो चरणमा अध्ययन हुन लागेको हो’, उनले भने, ‘दोस्रो चरणमा छानबिन र कारबाहीको समेत प्रक्रिया अघि बढ्नेछ।’

बीमा कम्पनीको अभिकर्ताको रुपमा बैंकहरुले काम गर्न पाउने÷नपाउने व्यवस्थालाई समेत अहिले समितिले अध्ययन गरिरहेको उनको भनाइ छ।

यदि बैंकहरुले यो स्किम ल्याउने हो भने कुन बीमा कम्पनीको सहकार्यमा कति प्रिमियममा बीमा सुविधा दिन लागेको हो, सो समेत खुलाउनुपर्ने बीमा विज्ञ शर्माले बताए।

कुन बैंकले कस्तो स्किम जारी गरेका छन्?
नबिल बैंक
निक्षेकर्ताहरुलाई बीमा दिने स्किम नबिल बैंकले सुरु गरेको छ। उसले निक्षेपकर्तालाई दिइने सेवा सुविधामार्फत विभिन्न रोगमा बीमा गरिदिने बताउँदै आएको छ। नबिल बैंकले गत वर्षको मंसिरमै निक्षेपकर्तालाई घातक रोग बीमा सुविधा नामक योजना सार्वजनिक गरेको थियो।

नबिल बैंकमा आफनो ग्राहकहरुको सुविधाको लागि ३ लाख रुपैयाँबराबरको घातक रोग बीमा र ७५ हजार रुपैयाँबराबरको मृत्युलाभ बीमा गरिदिने योजना सञ्चालनमा ल्याएको छ।

उक्त बीमा योजनाअनुसार १३ घातक रोगहरु लागेमा सेवाग्राहीले दाबी भुक्तानी पाउनेछन्। घातक रोगमध्ये क्यान्सर, हृदयाघात, कलेजो खराबी, मिर्गौला खराबी, फोक्सो खराबी, कोमा, स्ट्रोक, मुटु भल्भ सर्जरी, हेपटाइटिस, एप्लास्टिक एनिमिया, गम्भीर कोरोनरी धमनी रोग, प्राथमिक पल्मनरी उच्च रक्तचाप, प्रमुख अंग रबोनम्यारो प्रत्यारोपणको बीमाले सुरक्षा प्रदान गर्ने उल्लेख छ।

एभरेष्ट बैंक
त्यस्तै एभरेष्ट बैंकले पनि आफनो ग्राहकको सुविधाको लागि ५ लाख बीमा योजना सुविधा दिएको छ। बैंकले मातृभूमि बचत खातामा ‘विदेशको मिहिनेतको कमाइ, स्वदेशमै गरौं सुनिश्चित बचत’ नारासहित ५ लाख बीमा र अन्य आकर्षक सुविधाको योजना ल्याएको छ।

माछापुच्छ्रे बैंक
यता माछापुच्छे बैंकले आफ्नो ग्राहकहरुको सुविधाको लागि स्मार्ट स्वास्थ्य र दुर्घटना बीमा सुविधा दिएको छ। जसमा पाँच हजारसम्मको औषधि खर्च, एक लाख रुपैयाँसम्मको अस्पताल खर्च, पाँच लाख वा खातामा रहेको मासिक औसत मौज्दातको पाँच गुणासम्मको दुर्घटना बीमा गराएको छ।

एनआईसी एसिया बैंक
त्यस्तै, एनआईसी एसिया बैंकले पनि ‘एनआईसीले ल्यायो घातक रोग बीमा सुविधा’ नामक योजना ल्याएको छ। बैंकले आफनो ग्राहकहरुको लागि १५ लाख रुपैयाँसम्मको १८ घातक रोगहरुको बीमा गराएको छ। जसमा ग्राहकहरुको लागि १५ लाखसम्मको दुर्घटना बीमा सुविधा दिएको छ।

यसका साथै कम्पनीले एक लाखदेखि ५० हजारसम्म औषधि उपचारसम्बन्धी सुविधा दिएको छ।

सिभिल बैंक
सिभिल बैंकले आफना ग्राहकहरुको लागि ‘सम्मान बचत खाता’ योजनामा बीमा सुविधा दिएको छ। बैंकले यस बचत खातामा सात लाखसम्मको दुर्घटना मृत्यु र अपांग बीमा तथा अस्पताल भर्ना भई लागेको एक लाखसम्मको औषधोपचार खर्चको बीमा पनि निःशुल्क रुपमै उपलब्ध गराउँदै आएको छ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकले आफनो ग्राहकको सुविधाको लागि नयाँ बचत योजना ‘सिटिजन्स विशेष बचत खाता’ सञ्चालनमा बीमाको सुविधा दिएको छ। उक्त बचत खाता सञ्चालन गर्दा निःशुल्क रुपमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा तथा सात लाख रुपैयाँसम्मको दुर्घटना बीमाको अफर गरिएको छ ।

मेगा बैंकले आफनो ग्राहकलाई दुर्घटना बीमा सुविधा प्रदान गर्ने भएको छ। बैंकले संस्थागत बीमामा एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा र सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा दिने भएको यो जना ल्याएको छ।

यी बीमा सुविधा ल्याउँदा कुन बीमा कम्पनीको सहकार्यमा गरिएको हो भन्ने कुरा निक्षेपकर्तालाई बुझाउनुपर्ने र सो कुरा पनि उल्लेख हुनुपर्ने बीमा समितिको भनाइ छ।

बैंकले बीमा कम्पनीको काम खोसे !
बैंकहरुले बीमाको काम समेत खोस्ने गरी योजनाहरु ल्याउँदा क्षेत्रगत रुपमा समेत प्रभाव गर्ने बीमा समितिको भनाइ छ।

योभन्दा अघि सेयरबजार ब्रोकरको लाइसेन्स समेत बैंकहरुले माग गरेको र सोअनुसार प्रक्रिया समेत धितोपत्रले अघि बढाउन लागेपछि संसदीय समितिले छानबिन गरिरहेको छ। संसदीय अर्थ समतिले एक उपसमिति गठन गरेर छानबिन गरिरहेको छ।

उक्त उपसमितिको नेतृत्व सांसद रामकुमारी झाँकीले गरिरहेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .