नेपाल लाइफ इन्सुरेन्स बाहेक सबै कम्पनीलाई चुक्ता पुँजी बढाउनुपर्ने बाध्यता आएको छ। बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी बृद्धि गरेसँगै जिवन तथा निर्जीवन दुवै तर्फका बीमा कम्पनीहरुलाई चुक्ता पुँजी बढाउनुपर्ने बाध्यता आएको हो।
बीमा समितिको बोर्ड बैठकले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे २ अर्ब पुर्याउनुपर्ने निर्णय गरेको छ।
जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब तोकिएकोमा नेपाल लाइफ इन्सुरेन्स कम्पनीको अहिले नै ७ अर्ब भन्दा बढी छ। यस बाहेक सबै कम्पनीको तोकिएको भन्दा कम चुक्ता पुँजी रहेको छ।
बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलका अनुसार बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी समग्रमा नेटवर्क बढाई सो अनुरुप कम्पनीहरुको जोखिम वहन क्षमता बढाउन यस्तो निर्णय गरिएको हो।
उनी भन्छन्, ‘त्यसका साथै कम्पनीहरुलाई एकअर्कामा गाभ्ने गाभिने अनुकुल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पुँजीगत आधार बलियो बनाउन, ठूलो पुँजी भएमा सेवाको लागत कम भई बीमाको पहुँच विस्तार गर्न, ठूलो पुँजी कायम गरी कम्पनीहरुबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पुँजीसँग सामञ्जस्यता हुनेगरी चुक्ता पुँजी कायम गर्न पुँजी वृद्धिको निर्णय गरिएको हो।’
बीमा समितिको निर्णय अनुसार चुक्ता पुँजी २०७९ साल चैत्र मसान्तसम्ममा कायम गरिसक्नुपर्ने र निर्धारित पुँजी उपरोक्त समयावधिभित्र पुर्याउन नसक्ने कम्पनीहरुले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने बताएको छ।
यो निर्णय अनुसार बीमा समितिले मर्जरको बाटोलाई प्राथमिकतामा राखेको छ। मर्जर हुन नसकेमा प्रमोटरहरुले लगानी थप्नु पर्ने र त्यसको अलावा हकप्रद सेयर जारी गरेर सर्वसाधारणबाट पैसा उठाउनु पर्ने छ। यो भन्दा अघि जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब र निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी १ अर्ब रहेको थियो।
कुन कम्पनीको कति चुक्ता पुँजी
जीवन बीमा कम्पनीहरु,
नेपाल लाइफ इन्सुरेन्स ७ अर्ब १९ करोड
नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड ३ अर्ब ३९ करोड
लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल २ अर्ब २१ करोड
एशियन लाइफ इन्सुरेन्स २ अर्ब १ करोड
सूर्या लाइफ इन्सुरेन्स २ अर्ब २६ करोड
गुराँस लाइफ इन्सुरेन्स १ अर्ब ९७ करोड
प्राइम लाइफ इन्सुरेन्स २ अर्ब ४१ करोड
आईएमई लाइफ १ अर्ब ४० करोड
युनियन लाइफ २ अर्ब १५ करोड
ज्योति लाइफ इन्सुरेन्स २ अर्ब २० करोड
सन नेपाल लाइफ इन्सुरेन्स १ अर्ब ४० करोड
रिलायन्स लाइफ इन्सुरेन्स २ अर्ब १० करोड
रिलायबल लाइफ इन्सुरेन्स १ अर्ब ४० करोड
सिटिजन्स लाइफ इन्सुरेन्स १ अर्ब ७५ करोड
सानिमा लाइफ इन्सुरेन्स २ अर्ब
प्रभु लाइफ इन्सुरेन्स २ अर्ब
महालक्ष्मी लाइफ इन्सुरेन्स १ अर्ब ४० करोड
निर्जीवन बीमा कम्पनीहरु
नेपाल इन्सुरेन्स कम्पनी लिमिटेड १ अर्ब २४ करोड
हिमालयन जनरल इन्सुरेन्स १ अर्ब १० करोड
युनाइटेड इन्सुरेन्स कम्पनी लिमिटेड १ अर्ब २ करोड
प्रिमियर इन्सुरेन्स कम्पनी १ अर्ब ७ करोड
एभरेष्ट इन्सुरेन्स १ अर्ब १८ करोड
नेको इन्सुरेन्स १ अर्ब ३१ करोड
सगरमाथा १ अर्ब ११ करोड
आईएमई जनरल इन्सुरेन्स १ अर्ब १५ करोड
प्रभु इन्सुरेन्स लिमिटेड १ अर्ब १६ करोड
प्रुडेन्सियल इन्सुरेन्स कम्पनी १ अर्ब २ करोड
शिखर इन्सुरेन्स १ अर्ब ७५ करोड
लुम्बिनी जनरल इन्सुरेन्स १ अर्ब १९ करोड
एनएलजी इन्सुरेन्स १ अर्ब ९ करोड
सिद्धार्थ इन्सुरेन्स १ अर्ब १२ करोड
राष्ट्रिय बीमा कम्पनी २६ करोड
जनरल इन्सुरेन्स कम्पनी लिमिटेड १ अर्ब
अजोड इन्सुरेन्स १ अर्ब
सानिमा इन्सुरेन्स १ अर्ब रहेको छ।
Shares
प्रतिक्रिया