ad ad

कारोबार


‘जनताका लागि काम गर्दा चुनौती आउँछ भन्ने थाहा थियो’

‘जनताका लागि काम गर्दा चुनौती आउँछ भन्ने थाहा थियो’

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार ८:१९,

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री पदबाट हटेपछि गोकर्ण विष्टले मन्त्रालयमा अन्तिम पत्रकार सम्मेलन गरेका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले जनताको काम गर्दा चौतर्फी कठिनाइ आउँछ भन्ने पहिल्यै थाहा भएको सुनाए।

उनले पत्रकारसँग भने, ‘केही सुधारका कदम उठाइरहेको बेला जनता र देशको हितमा काम गर्नु कठिन छ भन्ने कुरा महसुस गरेको थिएँ।’ यद्यपि उनले मन्त्रीमण्डल पुनर्गठनतर्फ हाे कि अरू कुनै कारणमा संकेत गरेकाे हाे, त्याे भने खुलाएनन्। 

सो क्रममा उनले मन्त्रालयमा श्रमिकको पक्षमा काम गर्दा सहयोग पुर्याउने कर्मचारीहरुलाई समेत धन्यवाद दिए।

पत्रकार सम्मेलनमा मन्त्री विष्टले नेपाली युवाहरु खाडीमा पसिना बगाइरहेको बताउँदै मन्त्रालयको मुख्य कर्तव्य जहिले पनि ती युवाहरु नठगियून्, ठगिएका युवालाई मद्दत गर्नु भएको बताए।

पत्रकार सम्मेलनमा उनले आफूले २० महिने कार्यकालमा धेरै सुधारका प्रयास थालेको बताए।

‘यो अवधिमा गरिबीमा बाँचेका युवालाई सहयोग गर्यौँ’, उनले भने, ‘नेपाल र मलेसियाबीच उत्पन्न गतिरोध चिर्यौँ। सम्झौतामार्फत नेपाली श्रमिकमाथिका शोषण अन्त्य गर्यौँ र शून्य लागतमा मलेसिया रोजगारीको व्यवस्था मिलायौँ।’

यो महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ। उनले थप्दै भने, ‘हामीले नेपाल र जापान, मौरिसस, यूएईबीच श्रमिकलाई केन्द्रमा राखेर लाखौँ नेपाली युवामाथिको शोषण अन्त्य गर्ने प्रयत्न गर्यौँ।’

अन्तर्राष्ट्रिय क्षेत्रमा श्रमिकले मानवीय जीवन बाँच्न पाउनुपर्छ भन्ने मूल्य र मान्यता स्थापना गरेको बताउँदै उनले कम्तीमा नेपाली श्रमिकहरु जहाँ बसे पनि सम्मानसाथ बाँच्न पाउनुपर्ने बताए। उनले विना कारण विदेशी जेलमा रहेका श्रमिक, घाइते भएका श्रमिकहरु, जीवन गुमाएर आउने शव र तिनीहरुको संवेदनशीलतालाई सम्बोधन गर्ने कोसिस गरेको बताए।

श्रमिकका पसिनाको उचित सम्मान गर्ने कोसिस गरेको र रोजगारीको विषयले प्राथमिकता पाउन नसकेको अवस्थामा देशभित्रको आन्तरिक रोजगारी प्रवद्र्धन गर्न सरकारी हस्तक्षेप आवश्यक छ भन्ने मान्यतामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेको उनले सुनाए।

यसका लागि रोजगारसम्बन्धी ऐन, प्रधानमन्त्री रोजगार निर्देशिका, कामका लागि पारिश्रमिकमा आधारित कार्यविधि निर्माण गर्न सफल भएको उनले आफूले गरेको उपलब्धिस्वरुप जानकारी दिए।

उनले भने, ‘छोटै अवधिका लागि भए पनि डेढ लाख बढीलाई सहभागी गरायौँ, जोखिम मोलेर काम गर्ने श्रमिक, नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सुरक्षा योजना सुरु गर्यौँ १० हजार बढी रोजगार दाता र १ लाख बढी श्रमिक सूचीकृत भए, यसलाई निरन्तर जारी राख्न सफल भयौँ।’

तोकिएको ज्याला नपाउने, अतिरिक्त कामको अतिरिक्त ज्याला नपाउने, श्रमिकको जीवनलाई थोरै भए पनि लाभ पुर्याउन पारिश्रमिक वृद्धि गर्न सफल भएकोमा निवर्तमान मन्त्री विष्टले प्रसन्नता व्यक्त गरे। उनले रोजगारीको क्षेत्रका विकृति अन्त्य गर्न सुधारको प्रयास गरेको बताउँदै अगाडि भने, ‘हामीले यो बीचमा २० महिनाको अवधिमा कामलाई नै केन्द्रित गर्यौँ।’

कर्मचारीहरुसँग माफी
सो क्रममा आफूलाई सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै उनले भने, ‘कतिपय अवस्थामा आफ्नो कारण असहज व्यवहार भएको भए माफी माग्छु।’

उनले थप्दै भने, ‘कहिलेकाहीँ बढी ताकेता गरेँ होला, अस्वाभाविक व्यवहार गरेँ होला क्षमा चाहन्छु।’

त्यस्तै उनले जिम्मेवारी र जवाफदेहितासाथ काम सम्पादन गर्न कर्मचारीलाई सुझाव दिए।

जीवन नै अस्थायी छ, पद स्थायी हुँदै हुँदैन नि!

त्यस्तै उनले जीवन नै अस्थायी भएकाले पद स्थायी हुने भन्ने नहुने बताए। उनले भने, ‘एक दिन छोड्नैपर्छ भनेर मन्त्रालयमा आएको थिएँ, मुख्य कुरा हामी जति दिन बस्छौँ, १ घण्टा मात्रै बस्दा पनि देश र जनताप्रतिको जवाफदेहिता इमानसाथ पूरा गर्नुपर्छ।’

प्रत्येक क्षणलाई देश र जनताको हितमा सदुपयोग गर्न कर्मचारीलाई आग्रह गर्दै उनले देश अहिले पनि गरिबी र अभावमा रहेकोले यसलाई समृद्धिमा बदल्नुपर्नेमा जोड दिए।

‘नयाँ सोच र इमानका साथ जति काम गर्छौँ त्यति नै समाज र देश बदल्नेछौँ, सफलता पाउनेछौँ’, उनले भने, ‘मन्त्री पुनर्गठन हुने स्वाभाविक प्रक्रिया हो, मन्त्रीबाट बाहिरिए पनि देश र जनताप्रति काम गरिरहनेछु, राजनीतिमै रहनेछु।’

आफूले जनता र देशको लागि भूमिका निभाउँदै जाँदा मन्त्री बन्दै आएको समेत सुनाए। उनले भने, ‘विदाइको क्षणले मलाई अझै धेरै देश र जनताप्रति काम गर्ने ऊर्जा पाएको छु।’

मन्त्रीमा रहिरहनेभन्दा काम महत्वपूर्ण रहेको बताउँदै उनले सोहीअनुसार सुधारका प्रक्रिया अगाडि बढाएको बताए।

नयाँ मन्त्रीलाई बधाई र शुभकामना !
मन्त्रालय छोड्दै गर्दा उनले नयाँ मन्त्रीलाई बधाई र शुभकामना दिए। उनले नयाँ मन्त्रीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिने आशा व्यक्त गरे। त्यस्तै गरिब युवामाथिको ठगी सम्पूर्ण हिसाबले अन्त्य गरेर, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन नयाँ मन्त्रीले भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

उनले भने, ‘बाँकी कामहरुलाई निरन्तर अगाडि बढाउने गरी मन्त्रालयलाई र मन्त्रीलाई सदैव सहयोग र साथ रहनेछ। हाम्रो जिन्दगी जनताको लागि हो, जति दिन रहनेछु सामाजिक कामको लागि रहनेछु। २० महिना महतवपूर्ण जिम्मेवारी दिएर श्रम क्षेत्रलाई बुझ्ने अवसर दिने प्रधानमन्त्रीलाई धन्यवाद दिन चाहन्छु।’

प्रधानमन्त्रीको समृद्ध नेपाल र सुखी नेपाल निर्माण गर्ने अभियानमा सदैव साथ रहने बताउँदै उनले देशले राजनीतिक स्थिरता पाएको अवस्थामा आर्थिक र सामाजिक क्षेत्रमा फड्को मारेर मात्रै देशलाई सम्मानित बनाउन सकिने बताए।

उनले भने, ‘जिम्मेवारीमा हुँदा या नहुँदा होस्, गरिबीमा बाँचेका जनता अन्ययामा पर्दा मेरो आवाज न्यायको पक्षमा गुन्जिरहनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .