औद्योगिक नगरी भैरहवाका लागि बिहीबारको झम्के साँझ केही खास थियो। गौतमबुद्ध विमानस्थलका लागि त यो अझै खास हुनेवाला थियो। कारण थियो– नेपाल वायुसेवा निगमको वाइडबडी आगमनको व्यग्र प्रतीक्षा।
सरकारले सात दशकपछि खुलेको अर्को अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी लगेर ‘डेमन्स्ट्रेसन फ्लाइट’ गर्ने भएपछि साँझ पर्नलाग्दा विमानस्थलवरिपरिका खेतका आलीमा मानिसहरु कुरिरहेका थिए।
यस क्षेत्रका उद्योगी व्यवसायीदेखि विमानस्थलका कर्मचारीसम्म वाइडबडीको स्वागत गर्न आतुर थिए। जब वाइडबडी पुग्यो, भैरहवाको मुहारमा खुसी थपियो, परिचय फराकिलो भयो।
निर्माणसम्पन्न गरेर एरो थाईको जहाजले गत फागुनमा विमानस्थलको सेवा सञ्चालनको सम्परीक्षण सकेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारी ध्वजावाहक जहाज लगेर बिहीबार उक्त उडान गरेको हो।
नयाँ विमानस्थल, पहिलो उडान र उत्साहित यात्रु
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ‘डेमोस्ट्रेसन फ्लाइट’मा उडान भर्न बिहीबार वाइडबडीका सबै यात्रु उत्साहित थिए। नागरिक उड्डयन प्राधिकरणले ३ बजे जहाज उड्ने भनेकाले उनीहरु २ बजेसम्म त्रिभुवन विमानस्थल पुगिसकेका थिए।
प्राधिकरणले यात्रामा सहभागी हुने कर्मचारी, व्यवसायी र पत्रकारसम्मलाई आमन्त्रण गरेको थियो। समयमै विमानस्थल पुगेका सबै वाइडबडी जहाज चढ्न आतुर थिए। केहीको बोर्डिङ पास बनेको थियो। केहीको नाम थिएन। अस्थायी बोर्डिङ पास बने।
व्यवस्थापनको पूर्वतयारी कम हुँदा आन्तरिक टर्मिनलबाहिर धेरै रोकिए। करिब ४ बजे मात्रै बोर्डिङ पास भयो। नेपाल एयरलाइन्सको बस चढी यात्रु जहाजसम्म पुगे।
तर जहाजमा चढेका यात्रुलाई ४ः३० मा ‘एयर ट्राफिक’को कारण जहाज १५ मिनेट ढिला हुने जानकारी चालकदलले दियो। व्यवस्थापनसँगै ट्राफिकको कारण २ घण्टापछि मात्र जहाज उड्यो।
२७ मिनेटको यात्रा, ५० मिनेटपछि अवतरण
सामान्यतया काठमाडौं–भैरहवा उडान साना जहाजले ३५ मिनेट लगाउँछन्। वाइडबडीको २७ मिनेटमा पुग्ने समय निर्धारित थियो।
५ः०५ मा आकाशमा उडान भरेको जहाज ५ः३५ मा नयाँ विमानस्थल पुग्ने आकलन थियो। तर त्यसअनुसार भएन।
‘डेमन्स्ट्रेसन उडान भएकाले हामी विमानस्थलको एक फन्को मार्छौँ अन्यथा नमान्नुहोला’, यात्रुले जानकारी पाए।
जहाजले २० मिनेट भैरहवाको आकाशमा फन्को मा¥यो। त्यसपछि साँझ ५ः५५ मा मात्र ‘ठूलो जहाज’ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो। काठमाडौंबाट ५ः०५मा उडान गरेको जहाज करिब ५० मिनेटपछि अवतरण गर्यो।
क्याप्टेन रिजालको नेतृत्व
निगमका क्याप्टेन श्रवण रिजालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी अवतरण गराएका थिए। बिहीबार २७४ सिट भएको जहाज पूर्ण क्षमतामा नयाँ विमानस्थलमा अवतरण भएको हो।
अवतरणपछि गुडिरहेको जहाज मोडमा केही समय रोकिनुपर्यो। यात्रु जहाजको सिट बेल्ट खोली बाहिर झ्यालमा हेर्न थाले। झ्यालबाट हेर्दा स्थानीय लाइन लागेर ठूलो जहाज हेर्दै फोटो खिचाइरहेका देखिन्थे।
जहाज रोकिएको एकछिनपछि चालक दलका सदस्यले यात्रुलाई जानकारी दिए, ‘रनवेबाट टर्मिनल भवन पुग्न मोड पुगेन। उपकरणको सहायताले जहाज केही बेरमा पार्किङ स्थलमा पुग्दै छ।’
३७ डिग्री सेल्सियस तापक्रममा खेतको डिलमा ‘ठुलो जहाज’ हेर्न लाइन थियो। करिब आधा घण्टापछि जहाज पार्किङ स्थलमा पुग्यो।
पानीका फोहोराले स्वागत, भीआईपी यात्रु
‘वाइडबडी अन्नपूर्ण’लाई दुई तर्फबाट पानीको फोहोराले स्वागत गर्यो। जहाजको २ ढोकाबाट यात्रु ओर्लिन थाले।
जहाजमा गएका उड्डयन प्राधिकरणका कर्मचारी, उड्डयन तथा पर्यटन व्यवसायी, मन्त्रालयका कर्मचारी, पत्रकार झरे।
अवतरणपछि पत्रकार आफ्नो ‘जागिर’मा व्यस्त भए। व्यवसायी, कर्मचारी फोटो खिचाउन। यता विमानस्थलका कर्मचारी, व्यवसायीहरु फूलमाला लिएर ‘भीआईपी’ यात्रु कुरिरहे। एक छिनमा पर्यटन तथा उड्डयनमन्त्री प्रेम आलेसहित प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलगायत बाहिरिए।
मन्त्री आले हात हल्लाउँदै विजयी भावमा ओर्लिँदा उनको गला खादा र मालाले भरियो।
नागरिक उड्डयन प्राधिकरणले इमिग्रेसनको पनि ‘डेमन्स्ट्रेसन’ गर्ने जानकारी दिएको थियो। तर उडान ढिलाइ हुँदा जहाजबाट अर्लिएका यात्रु कुनै प्रक्रियाविनै बाहिर निस्किए।
ल्यान्डिङ गर्नलागेको जहाजले फेरि उचाइ लिएपछि...
भैरहवामा खाजासहित औपचारिक कार्यक्रम ८ः३० सम्म चल्यो। साढे ८ मा काठमाडौंको लागि फर्किने प्राधिकरणका आमन्त्रित यात्रुलाई जानकारी गराइयो।
सुरक्षा जाँच गरी टर्मिनल भवनमा यात्रुलाई राखियो। काठमाडौंमा ट्राफिकको कारण देखाउँदै सधैँ डिले हुने जहाज भैरहवामा ९ बजेपछि मात्रै बोर्डिङ गराइयो।
३ घण्टाको कार्यक्रमका लागि भैरहवा गएका आमन्त्रित यात्रु ९ घण्टासम्म बस्नुपर्दा आत्तिएका थिए। करिब साढे ९ बजे काठमाडौंका लागि उडान भरेको जहाज सिमरा हुँदै काठमाडौं १०ः०५ मा अवतरण गर्दै थियो।
‘हामी काठमाडौं विमानस्थल आइपुगेका छौं। अब जहाज अवतरण गर्ने तयारीमा छ’ भनेको ३० सेकन्डमै जहाजले ओभरसुट गर्यो। अवतरणमा रहेको जहाज एक्कासि फेरि उचाइमा जाँदा यात्रु सशंकित बने। जहाज किन अवतरण गरेन भन्ने जानकारी आएन।
‘विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेमा शंकास्पद वस्तु देखिएको जानकारी आएको छ’, चालकदलको सन्देश थियो, ‘हामी एक फन्का मार्छौँ।’
काठमाडौंमा आएको जहाज फेरि सिमरा नजिक पुग्यो। करिब २० मिनेटको फन्कोपछि १०ः२५ मा काठमाडौं अवतरण गर्यो।
ऐतिहासिक उडान
७४ वर्षसम्म नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको थियो। तर गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएसँगै हवाइ क्षेत्रले ऐतिहासिक फड्को मारेको छ।
यो नेपालको नागरिक उड्डयन क्षेत्रको लागि ढिलै भए पनि महत्वपूर्ण पाइला हो। विमान अवतरणसँगै विमानस्थले गरेको सानो औपचारिक कार्यक्रममा प्राधिकरणका महानिर्देेशक, योजना आयोगका सदस्य, विमानस्थल प्रमुख लगायतले खुसी व्यक्त गरेका थिए।
‘७४ वर्षीय नागरिक उड्डयन प्राधिकरणको इतिहासमा यो कोशेढुङ्गा हो’, प्राधिकरणका महानिर्देशक अधिकारीले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी जहाजले आफ्नो पहिलो उडान भरे पनि नियमित रुपमा भने जेठ २ गते बुद्ध जयन्तीबाट उडान सुरु हुनेछ।’
पत्रकार, व्यवसायीहरुलाई पहिलो अन्तर्राष्ट्रिय उडान जजिरा एयरले गर्ने अधिकारीको भनाइ थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक जाम भएको खण्डमा भने अहिले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नसक्ने उनले बताए।
भैरहवा विमानस्थलमा ४ जुलाई सन् १९५८ देखि आन्तरिक उडान हुन थालेको हो। अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा दोस्रो विमानस्थल सञ्चालन हुनु हवाइ उड्डयनको इतिहासमा ‘नयाँ फड्को’ भएको महानिर्देशक अधिकारीले बताए।
अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएसँगै विमानस्थल २४ घण्टा सञ्चालनमा आउनेछ। सन् २०१७ को डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूवातमा थालनी भएको विमानस्थलको काम विभिन्न कारणले रोकिन पुगेको थियो।
पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि मात्र विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएको हो।
कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिकरुपमा सञ्चालनमा आएपछि हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक जाम कम हुनेमा प्राधिकरण विश्वस्त छ।
Shares
प्रतिक्रिया