गौतमबुद्ध विमानस्थलमा पहिलो वाइडबडी जहाज अवतरण गरेका क्याप्टेन श्रवण रिजालले गर्वको अनुभूति गरेको बताएका छन्।
बिहीबार काठमाडौंबाट निगमको वाइडबडी जहाजलाई करिब ५० मिनेटको उडानपछि भैरहवा अवतरण गराएका उनले खुसी लागेको प्रतिक्रिया दिए।
‘गौतम बुद्ध विमानस्थलमा पहिलोपटक अवतरण गर्दा गर्वको अनुभूति भएको छ’, रिजालले अनुभव सुनाउँदै भने, ‘पहिलो जहाज उडान गर्न पाउँदा खुसी लाग्यो।’
रिजाल वाइडबडी जहाजका प्रशिक्षक पाइलट हुन्। करिब ३ दशकदेखि नेपाल वायुसेवा निगमको जहाज उडान गरेका उनी गत माघमा मात्रै प्रशिक्षक पाइलट (आईपी) बनेका थिए।
उनले माघ १७ देखि २५ सम्म बहराइनस्थित गल्फ एभियसन एकेडेमीबाट सैद्धान्तिक र व्यावहारिक तालिम पूरा गरी प्रशिक्षक पाइलट भएका हुन्।
रिजालले गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएसँगै काठमाडौंमा अवतरण गर्न नसकिने जहाज भैरहवा गर्न सकिने बताए।
‘अहिले काठमाडौंमा ल्यान्ड गर्न सकेन भने भारतका विभिन्न विमानस्थलमा डाइभर्ट गर्नुपर्ने अवस्था थियो’, उनले भने, ‘यसले हरेक उडानमा फ्युल क्यापासिटी बचत हुन्छ। नेपाल एयरलाइन्सको मात्रै होइन नेपाल उडान गर्ने सबै जहाजको तेल अब बच्छ। सबै एयरलाइन्सको अपरेटिङ कष्ट अलिकति घटाइदिन्छ।’
रिजालले ट्विनअटरदेखि बोइङ ७५७, एयरबस ३२०, एयरबस ३३० सिरिजका जहाज उडाइसकेका छन्। रिजाल वाइडबडी जहाजको पहिलो क्याप्टेन पनि हुन्।
उनले बुद्धभूमिको विमानस्थल सञ्चालनमा आउँदा नेपाललाई विश्वभर चिनाउन ठूलो सहयोग गर्ने बताए।
‘बुद्धभूमिको विमानस्थल सञ्चालनमा आउँदा लुम्बिनीको चर्चा नेपालमा मात्र होइन विश्वभर हुन्छ’, वाइडबडी अवतरण गर्दा लुम्बिनीको विषयमा भने, ‘पश्चिमबाट आउने क्रममा दायाँतिर लुम्बिनीको ओभर भ्यू देख्न पाइन्छ। बुद्धभूमि देख्न पाउँदा आनन्द अनुभूति हुन्छ।’
Shares
प्रतिक्रिया