अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित नेपाल ग्रिन हाइड्रोजन समिट २०२२ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले हाइड्रोजन उत्पादन गरी बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताएका हुन्।
उनले जलवायु परिवर्तनका कारण विभिन्न असरहरु पनि देखिन थालेको भन्दै कार्बन उत्सर्जनलाई कम गर्नुपर्ने बताए। उनले पेट्रोलियम पदार्थको खरिदमा नेपालबाट सबैभन्दा बढी डलर बाहिरिरहेको र व्यापार घाटा भइरहेको बताए।
मन्त्री शर्माले देशभित्र मात्रै हाइड्रोजनको प्रयोग गर्न सकेमा व्यापार सन्तुलनमा आउन सक्ने बताए।
उनले भने, ‘हामीले नेपालबाट अब विद्युत बिक्री गर्नुपर्दैन । अब हाइड्रोजन बिक्री गरे पुग्छ । एमोनिया बिक्री गरे पुग्छ । त्यसकारणले विद्युत पिपिए गर्न नपर्ने कुरा अब केही छैन । विद्युत उत्पादन गर्नमा हामीले अब क्यु फोर्टी, सिक्स्टी भन्नुपर्ने अवस्था पनि छैन । भएको पानीको सबै सदुपयोग गरेर विद्युत उत्पादन गर्नसक्यो भने र त्यसबाट हामीले हाइड्रोजन, एमोनिया बनाएर विश्वबजारमा प्रतिष्पर्धी भएर हामीले पु¥याउन सक्यौँ भने नेपालको समृद्धि त्यहीँ छ ।’
आफूले नेपालको विकासको एउटा सुन्दर भविष्य त्यही देखिरहेको बताउँदै उनले सोही कारण यतातिर सबैको ध्यान जानुपर्ने उल्लेख गरे।
‘जलवायु परिवर्तनका कारणबाट पार पाउनका लागि, कार्बन उत्र्सजनलाई कम गर्नुपर्ने आवश्यकतालाई यसले त्यसको विकल्पको रुपमा हामीले एमोनिया र ग्रिन हाइड्रोजन प्रयोग गर्नसक्ने भएको हुनाले यसको पनि त्यत्तिकै महत्व छ’, उनले थपे।
नेपालको सन्दर्भमा सबैभन्दा बढी डलर खर्च गर्नुपर्ने वस्तु पेट्रोलियम पदार्थ भएको उल्लेख गर्दै उनले पेट्रोलियम पदार्थको विकल्पको रुपमा हाइड्रोजनलाई प्रयोग गरी आफैँलाई मात्र प्रयोग गर्नसक्यौँ भने नेपालको व्यापार सन्तुलनमा आउने अवस्था रहेको उनको भनाइ थियो।
‘नेपालको आर्थिक विकासको दृष्टिकोणले, जलवायु परिवर्तनलाई न्यूनिकरण गर्ने दृष्टिकोणले, विश्व बजारमा नेपालको पहुँचलाई वृद्धि गर्ने र प्रतिष्पर्धी बन्ने हिसावले र हामीसँग भएको अपार सम्भावनालाई सदुपयोग गर्ने र नेपालमा लगानी भित्राउने दृष्टिकोणले पनि यो विषय ज्यादै महत्वपूर्ण छ’, उनले भने।
मन्त्री शर्माले हाइड्रोजन उत्पादन देशको विकास र जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने दृष्टिकोणले निकै नै महत्वपूर्ण रहेको बताए। यसमार्फत नेपाललाई विश्वबजारमा पहुँच वृद्धि गर्न र लगानी भित्राउन पनि सकिने उनले उल्लेख गरे।
Shares
प्रतिक्रिया