सरकारले पुसबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेको छ।
भौतिक निर्माणसम्पन्न भएको विमानस्थल सञ्चालनको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रक्रिया अघि बढाएको हो।
पोखरा विमानस्थलको भौतिक पूर्वाधार निर्माण भए पनि रिठ्ठेपानी डाँडा र विमानस्थलनजिकै डम्पिङ साइट पुर्नुपर्छ।
सरकारले गत असारमै रिठ्ठेपानी डाँडाका रुख कटौती गर्न स्वीकृत दिएको थियो। उड्डयन प्राधिकरणका अनुसार गत सोमबारबाट रिठ्ठेपानी डाँडा कटान सुरु भएको छ।
‘रिठ्ठेपानी डाँडा डेढ–दुई महिनामै कटान सकिन्छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी भन्छन्, ‘डाँडा कटौती गरेको माटोले डम्पिङ साइटमा पुर्ने योजनामा छौँ।’
सरकारले ४० मिटरसम्म डाँडा कटान गर्न अनुमति दिए पनि प्राधिकरणले हाल १४ मिटर कटान गर्ने जनाएको छ। १४ मिटर कटान गर्दा परीक्षण उडान गर्न सकिन्छ।
‘४० मिटर रिठ्ठेपानी डाँडा काट्न टेन्डर आह्वान गरेका थियौँ’, पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीले नेपालखबरसँग भने, ‘१४ मिटर काटेपछि परीक्षण उडान गर्न सकिन्छ। यो काम अब २/३ दिनमै सकिन्छ।’
कटान गरेपछि निस्किने माटो व्यवस्थापन कहाँ गर्ने भन्ने निर्क्योल नभइसकेकाले अहिले १४ मिटर मात्रै कटान गरी परीक्षण उडान गर्नलागेको उनले जानकारी दिए।
चिनियाँ ठेकेदारले निर्माण गरेको विमानस्थल चिनियाँ विदेशमन्त्री आएको समयमा नेपाललाई हस्तान्तरण गरेका थिए।
करिब तीन हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थल निर्माणमा झण्डै २२ अर्ब लगानी भएको छ। विमानस्थल हाल दुई हजार पाँच सय मिटरको धावनमार्गसहित ४५ मिटर चौडाइमा बनेको छ।
उक्त विमानस्थलमा तीन वटा न्यारोबडी, चारवटा एटीआर र चारवटा ट्विनअटर गरी ११ वटा जहाज पार्किङ गर्न सकिन्छ।
एटीसी टावर, सातवटा भवन, एउटा ह्याङ्गर पनि निर्माण गरिएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्डअनुसार ‘फोरडी मोडल’मा पर्ने पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजको उडान अवतरण हुन सक्छन्।
‘क्यालिब्रेसन फ्लाइट’ मंसिर ४ गते
यसैबीच, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण मंसिर १४ गते हुँदै छ। यान्त्रिक उडान गर्न आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको प्राधिकरणले जनाएको छ।
यान्त्रिक उडानका लागि २५ तारिखमा एरो थाईको प्राविधिक टोलीसहितको जहाज नेपाल आउने तयारी भएको प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले जानकारी दिए।
उनका अनुसार उक्त जहाजले यान्त्रिक उडानमार्फत विमानस्थलमा कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे÷नगरेको जाँच गर्नेछ। एरो थाईको जहाजले एक साता पोखरा विमानस्थलमा यान्त्रिक उडान गर्ने प्राधिकरणको भनाइ छ।
उक्त कम्पनीको जहाजले देशका अन्य विमानस्थलमा पनि यान्त्रिक उडान गर्नेछ। सोही कम्पनीले गत वर्ष फागुन ६ गते मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान गरेको थियो।
ग्राउन्ड ह्यान्डलिङ आफैँ गर्दै प्राधिकरण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमलाई दिएको नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आफैँ गर्ने भएको छ।
प्राधिकरणका महानिर्देशक अधिकारीले कुनै पनि विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाको आधारमा मात्रै दिइने बताए।
‘कुन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ कसलाई दिने, कसरी दिने अधिकार प्राधिकरणको हो’, महानिर्देशक अधिकारीले भने, ‘हाललाई पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ प्राधिकरण आफैँले गर्छ। आवश्यक परे प्रतिस्पर्धामार्फत दिनसक्छ।’
सरकारी स्वामित्वको संस्था नेपाल वायुसेवा निगमलाई सिधै ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी दिने गरेको थियो।
प्राधिकरणले निगमको ग्राउन्ड ह्यान्डलिङ गुणस्तरमा प्रश्न उठेको भन्दै गौतमबुद्ध विमानस्थलको विमानस्थल समेत खोस्न सक्ने चेतावनी दिएको छ।
विमानस्थलभित्रको प्रवेशदेखि जहाजमा चढ्ने बेलासम्मको व्यवस्थापन ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी पाएको कम्पनीले गर्छ।
बुद्ध एयरले पोखराबाट बनारस, दिल्ली र देहरादुन उडान गर्दै
बुद्ध एयरले पोखराबाट भारतका ३ वटा गन्तव्यमा उडान गर्ने भएको छ। बुद्ध एयरले बनारस हप्तामा ३ सिधा उडान गर्ने भएको छ।
बुद्धले आइतबार, मंगलबार, बिहीबार उडानको तालिका बनाएर जनवरीबाटै महिनादेखि सुरु गर्ने योजना बनाएको जानकारी दिएको छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२३ को जनवरी महिनादेखि उडानका लागि तयार हुँदै छ।
साथै एयर ट्राफिक सर्भिस रुटको लागि नेपाल सरकारको भारतीय सरकार सँग पहल भइरहेको हुँदा भारत सरकारबाट रुट र स्लट स्वीकृति प्राप्त हुनासाथ पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन २ उडान र पोखरा–देहरादुन–पोखरा हप्तामा ३ उडानका लागि हाम्रो तर्फबाट पनि प्रक्रिया यथाशीघ्र अगाडि बढाइने जनाएको छ।
हाल बुद्ध एयरले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा काठमाडौं–बनारस–काठमाडौं हवाइ सेवा सञ्चालन गर्दै आएको छ।
Shares
प्रतिक्रिया