सरकारले यस वर्ष धान दिवस तथा रोपाइ दिवसको मूल कार्यक्रम बर्दियामा गर्ने भएको छ।
कृषि विभागअन्तर्गत गठित १६औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव, मूल आयोजक समितिले बुधबार विभागमा पत्रकार सम्मेलन गरी यस वर्षको धान दिवस बर्दियामा गर्न लागिएको जानकारी गराएको हो। यस वर्षको धानदिवसको मूल कार्यक्रम बर्दियाको राजापुर नगरपालिका, वडा नम्बर ८ धोविनीपुरमा गरिने भएको छ।
यस वर्ष धान दिवसको नारा ‘धान खेतीमा प्रविधि र यन्त्रीकरण, चामल आयातमा न्यूनीकरण’ तय गरिएको छ। पत्रकार सम्मेलनमा चालू आर्थिक वर्ष २०७५/७६ मा धानको उत्पादन अहिलेसम्मकै उच्च भएको जानकारी पनि गराइयो। महाशाखाका निमित्त महानिर्देशक एवं सौहै राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, मूल आयोजक समितिका अध्यक्ष डाक्टर रेवती रमण पौडेलले अघिल्लो वर्षको तुलनामा करिब ९ प्रतिशतले वृद्धि भई ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको जानकारी दिए।
धान नेपालको मुख्य खाद्यान्न बाली हो। मनाङ्ग र मुस्ताङ्गबाहेक सबै जिल्लामा धान खेती हुँदै आएको छ। नेपालमा मौसमको आधारमा चैते धान, बर्षे धान, भदैया धान, घैया धान र बोरो (हिउँदे) को रुपमा धान खेती गर्ने गरिन्छ। खेती गरिने कुल क्षेत्रफलको ४८ दशमलव ३ प्रतिशत जमिनमा धान खेती गरिँदै आएको छ।
प्रतिक्रिया