सोमबार (६ चैत) बिहान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तनहुँ जलविद्युत् आयोजना अनुगमनका लागि काठमाडौंबाट निस्किए।
नारायणगढ–मुग्लिन सडकखण्डको यात्राकै क्रममा घिसिङ सवार गाडी धादिङको जुंगेखोलास्थित विद्युतीय चार्जिङ स्टेशन छेवैमा रोकियो।
त्यहाँ नारायणगढ–काठमाडौं रुटमा चल्ने विद्युतीय माइक्रो चार्ज हुँदै थियो।
प्राधिकरणले विद्युत खपत बढाउनेगरी देशभर विद्युतीय सवारीको प्रोत्साहन गरिरहेको सुनाउँदै निर्देशक घिसिङ चार्जिङ स्टेशनमा केहीबेर रोकिएका थिए।
केहीबेर चार्जमा राखिएको माइक्रो चालकसँग पनि घिसिङले भलाकुसारी गरे। चालकले डिजेलबाट भन्दा विद्युतीय चार्जिङले खर्च निकै कम भएको सुनाए।
‘पहिला नारायणगढ–काठमाडौं डिजेलबाट चलाउँदा ३ हजार लाग्थ्यो,’ ती चालकले घिसिङलाई भने,‘अहिले त जम्मा ३ सयमा पुग्ने रहेछ।’
नौबिसे सडकखण्डबाट थानकोटतर्फ आउँदा उकालो बाटो पर्ने भएका कारणले विद्युत धेरै खपत हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै जुँगेखोलामा चार्जिङ स्टेशन राखिएको घिसिङले सुनाए।
प्राधिकरणले अहिले देशभर ५१ वटा चार्जिङ स्टेशन सञ्चालन गरिरहेको छ। प्राधिरणका अनुसार केही ५१ मध्ये अधिकांश चार्जिङ स्टेशनहरू तयार भइसकेका छन्।
Shares
प्रतिक्रिया