ad ad

कारोबार


तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन चैत २३, २४ र २५ गते हुँदै

तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन चैत २३, २४ र २५ गते हुँदै

नेपालखबर
चैत २१, २०७९ मंगलबार १७:४८, काठमाडौँ

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा चैत्र २३, २४ र २५ गते हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पूरा भएको छ।

राजधानीको होटल याक एण्ड यतिमा आयोजना हुने महासम्मेलनमा देशभरका सहकारीकर्मी, नेपाल सरकारका प्रतिनिधि, प्रदेश सरकारका प्रतिनिधि, स्थानिय तहका प्रतिनिधि, बैंकर्स, गैरसरकारी संस्थाका प्रतिनिधि, सहकारीका सरोकारवाला निकायका प्रतिनिधिका र विदेशी पाहुनासहित करिब १ हजार जनाको सहभागिता रहने आयोजक सहकारी महासंघले जनाएको छ। 

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले महासम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ। 

महासम्मेलनमा सहकारी क्षेत्रको उपलब्धी, सहकारी क्षेत्रमा देखिएको वर्तमान समस्या, समाधानको बाटो, आगामी कार्यदिशाको बारेमा घनिभूत छलफल हुने महासंघका अध्यक्ष मिनराज कडेलले जानकारी दिए। 

साथै महासम्मेलनबाट सन् २०३० सम्मको कार्यदिशा पनि तय गरिने बताए। दक्षिण एशियाका अन्य देशहरूमध्ये राष्ट्रको विकास प्रक्रियामा नेपालको सहकारी अभियानको प्रभाव महत्वपूर्ण रहँदै आएकोले यो महासम्मेलनलाई एसिया प्यासिफिकका देशहरूले समेत महत्व दिएको महासंघका अध्यक्ष कंडेलले बताए। 

महासम्मेलनकै अवसरमा अन्तर्राष्ट्रिय सहकारी महासंघ, एसिया प्रशान्त क्षेत्र र नेडाकको बोर्ड बैठक समेत काठमाडौंमा हुने अध्यक्ष कंडेलले बताए। 

महासम्मेलनको उद्घाटन चैत २३ गते (बिहीबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समापन चैत २५ गते (शनिबार) पूर्वप्रधानमन्त्री एवंम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको महासंघका महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बाले जानकारी दिइन्। महासम्मेलनमा ११ वटा विषयमा व्यापक छलफल गरी घोषणा पत्र जारी गरिने महाप्रबन्धक सुब्बाले बताइन्।

महासम्मेलनमा कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेल, बैंकर अनिल केशरी शाह, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द राज पोखरेल र राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा थाम्सुहाङले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।

यसैगरी महासम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाल सरकारका पूर्वअर्थसचिव रामेश्वर खनाल, पूर्व अर्थसचिव सुरेन्द्र पाण्डे र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्यालले पनि कार्यपत्र प्रस्तुत गर्ने महासंघले जनाएको छ ।

यस्तै महासम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी अभियानको तर्फबाट विजनेस काउन्सिल अफ कोअपरेटिभ एण्ड म्युचलका प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसन, आईसीए एपीका क्षेत्रीय निर्देशक बालु एयर र जेए जेन्चु जापानका सिनियर म्यानेजर टोक्यो इचियाले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघले प्रत्येक ५÷५ वर्षमा राष्ट्रिय सहकारी महासम्मेलन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .