ad ad

कारोबार


कुलमानले भने– प्रसारणलाइनको क्षमता नपुगेपछि भारतबाट बिजुली आयातमा समस्या भयो

कुलमानले भने– प्रसारणलाइनको क्षमता नपुगेपछि भारतबाट बिजुली आयातमा समस्या भयो

नेपालखबर
बैशाख १०, २०८० आइतबार १५:२४, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले छोटो समयको लागि मात्र केही औद्योगिक करिडोरमा विद्युत् आपूर्तिमा समस्या आएको बताएको छ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तत्कालको लागि छोटो समय पूर्वी क्षेत्रका उद्योगहरुमा विद्युत कम आपूर्ति भएको र त्यो लामो समयको लागि नभएको बताएका हुन्।  

सुख्खा समय र भारतबाट समेत आयात गर्ने प्रसारणलाइनको क्षमता नपुगेको कारण विद्युत् आपूर्तिमा समस्या भएको उनको भनाइ छ। 

ढल्केबर र टनकपुर प्रसारणलाइनबाट क्षमताअनुसार भारतबाट विद्युत् आयात गरिएको उनले बताए। उनका अनुसार यी दुई प्रसारणलाइनबाट करिब ४ सय मेगावाट विद्युत् आयात गरिएको छ। 

त्यसका अलावा रक्सौल, रामनगर, कटैयाबाट समेत करिब १ सय मेगावटा विद्युत् आयात गरिएको उनले बताए। 

दैनिक बिडिङ गरेर आयात गर्दा समेत नेपालको काम केही बढी भएकोले केही औद्योगिक क्षेत्रमा विद्युत कम गरिएको उनले जानकारी दिए। 

उनका अनुसार नेपालमा अहिले विद्युत क्षमताको ३०.३५ प्रतिशत मात्रै उत्पादन भएको छ। निजी लगानीका हाइड्रोपावरबाट त क्षमताको १५ प्रतिशत हाराहारीमा मात्रै उत्पादन भएको छ। 

कुल ७ सय मेगावाट हाराहरीमा विद्युत उत्पादन भएको घिसिङले बताए। 
यसमा आयत ५ सय मेगावाट हाराहारीमा भएको छ। 

कुल १२ सय मेगावाट विद्युत् अहिले आपूर्ति भए पनि केही अपुग रहँदा केही औद्योगिक स्थानमा प्राधिकरणले विद्युत् कम गराएको उनले बताए। 

कुल माग कस्तो छ?
प्राधिकरणका अनुसार पिक डिमान्ड अहिले १७ सय मेगावाट छ। त्यस्तै औसत डिमान्ड १३ सय मेगावाट छ। प्राधिकरणका अनुसार बेस डिमान्ड १२ सय मेगावट छ। 

आर्थिक मन्दीले धेरै उद्योग पूर्ण रुपमा नचल्दा पनि किन विद्युत कटौती?
प्राधिकरणका अनुसार यो वर्ष धेरै उद्योग पूर्ण रुपले सञ्चालन नहुँदा पनि विद्युतको माग धेरै भएको छ। 

विगतका वर्षहरुमा प्राधिकरणले लोड स्वीकृतिलाई कडाइ गरेको थियो। केही उद्योगीहरुले विद्युतको बक्यौता नतिरेको भन्दै लोड स्वीकृति थप गरेको थिएन। 

तर यो वर्ष प्राधिकरणले ८ सय मेगावाट हाराहारीमा थप लोड स्वीकृति गरेको थियो। जसअनुसार नयाँ उद्योगहरुबाट लोड माग भएको प्राधिकरणको भनाइ छ। त्यसकारणले यो वर्ष माग धेरै भएको घिसिङको भनाइ छ। 

जेठको पहिलो हप्तादेखि निर्यात गर्ने योजना
प्राधिकरणले अहिले विद्युत् अभाव भए पनि जेठ पहिलो हप्तादेखि निर्यात गर्ने योजना समेत बनाएको छ। 

प्रि–मनसुनको समयदेखि नै विद्युतको मागभन्दा बढी उत्पादन हुने र भारत निर्यात गर्ने योजना प्राधिकरणको छ। १ हजार मेगावाटसम्म निर्यात गर्ने लक्ष्य प्राधिकरणले राखेको कार्यकारी निर्देशक घिसिङले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .