राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लले अर्थतन्त्र संकटमा परेको बेलामा अर्थतन्त्रको स्थायित्व र स्थिरताका कुराले न्याय गर्न नसक्ने बताउनुभएको छ।
सोमवार प्रतिनिधि सभाको बैठकमा भएको विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै डा. वाग्लेले यस्तो बताएका हुन्।
उनले अर्थमन्त्री महतले विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकतामा समस्याग्रस्त अर्थतन्त्र भएर लय गुमाएको अवस्थामा आर्थिक स्थायित्व र स्थिरताका कुरा गर्नु उचित नभएको बताए।
उनले अर्थमन्त्रीका दाजु डा. रामशरण महतले २०७१ सालमा ल्याएको नीति तथा कार्यक्रममा पनि स्थायित्व र
स्थिरताका कुरा गरिएको स्मरण गर्दै अर्थतन्त्र त्यतिबेला लयमा भएकाले स्थिरता कुरा गर्न सुहाए पनि अहिले असान्दर्भिक भएको टिप्पणी गरे।
उनले सरकारले आईतवार रातिसम्म ७३३ अर्बको राजश्व संकलन र खर्च १ हजार १६ अर्ब गरेको भन्दै राजश्व संकलन र खर्चबीचको त्यति ठूलो खाडल पूरा गर्न सजिलो नभएको बताए।
उनले वर्तमान अवस्थामा वित्तीय क्षेत्रमा कर्जा लगानी र आर्थिक वृद्धिबीचको ठूलो भ्वाङ परेको उल्लेख गरे।
उनले कर्जा नियमित रुपमा २२ प्रतिशत वृद्धि भइरहेको भन्दै अर्थतन्त्रको गतिसँग सम्मान नदेखिरहेको बताए।
उनले वस्तु सेवाबीचको आयात र निर्यात,उत्पादन र उपभोगको खाडल भर्नको लागि बजेटमार्फत फरक ढङ्गले तत्काल गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखेर पुनःमूल्याङ्कन गर्न सरकारसँग आग्रह गरे।
‘आर्थिक वृद्धि र स्थायित्व जाहेज हुन तर सरकारले यस्तो समयमा आर्थिक स्थायित्व र स्थिरताका कुरा गरिरहेका छौं। जतिबेला अर्थतन्त्रले लय गुमाएको छ। ८ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण भएको देशमा २ प्रतिशतभन्दा कममा रुमल्लिरहेका छौँ। मलाई याद छ अर्थमन्त्रीका दाजु डा. रामशरण महतले ल्याएको २०७१ को नीति तथा कार्यक्रममा पनि स्थायित्व र स्थिरताका कुरा गरिएको थियो’, उनले भने, ‘त्यसबेला अर्थतन्त्र त्यतिबेला लयमा थियो। लयमा अर्थतन्त्र हुँदा स्थिरता कुरा गर्न सुहाउँछ। अर्थतन्त्र संकट र भड्खालोमा जाकिएका बेला स्थायित्व र स्थिरताका कुराले न्याय गर्दैन।’
उनले आजका दिनमा ४ वटा वित्तीय खाडलहरु रहेका बताए। ‘सरकारले हिजो रातिसम्म ७३३ अर्बको राजश्व संकलन गरेको छ। सरकारले खर्च गरेको १०१६ अर्ब त्यति ठूलो खाडल कसरी पूरा गर्ने , कर्जा लगानी र आर्थिक वृद्धिबीचको ठूलो भ्वाङ छ। कर्जा नियमित रुपमा २२ प्रतिशत वृद्धि भइरहेको छ’, उनले भने, ‘अर्थतन्त्रको गतिसँग सम्मान देखिरहेका छैनौँ। कहाँ चुहिरहेको छ। त्यति ठूलो दुलर्भ पुँजी,वस्तु सेवाबीचको आयात र निर्यातको खाडल जगजाहेर छ। उत्पादन र उपभोगको खाडल पनि जगजाहेर छ। यस्ता विषयमा सरकारले अलिक फरक ढङ्गले सेन्सर अर्जेन्टी र प्राथमिकतामा पुनर्मूल्याङ्कन गर्नु जरुरी छ।’
डा. वाग्लले सरकारले अब परिणात्मक विकासबाट गुणात्मक विकासमा जानुपर्ने आवश्यकता रहेको बताए।
उनले सिद्धान्त र प्राथमिकतामा शिक्षा,स्वास्थ्य खानेपानीका कुराहरु आएपनि विगत ३२ वर्षमा ठूलो परिवर्तन आएको बताए।
वाग्लेले अब सडक, विद्यालयभन्दा विद्यालयमा सिकाइ र अस्पतालामा गुणस्तरीय सेवामा जोड दिनुपर्ने बताए।
उनले नेपालका कु-पोषणको महामारी रहेको भन्दै कुपोषणले सिङ्गो पुस्ताको एकतिहाइलाई प्रताडित गरिरहेको बताए।
सांसद वाग्लले पहिलो पुस्ताको विकासको चुनौतीबाट दोस्रो पुस्ताको विकास गर्नुपर्ने चुनौतीमा रहेका बताए।
‘सिद्धान्त र प्राथमिकतामा शिक्षा,स्वास्थ्य खानेपानीका कुराहरु आएका छन्। यसमा पनि ३० देखि ३२ वर्षमा ठूलो परिवर्तन आइसकेको छ। सरकार परिणात्मक विकासबाट गुणात्मक विकासमा गएका छौँ। ५०को दशकमा हामीले विद्यालयको भवन माग गरौं, खानेपानी, सडक, अस्पतालको माग गरौं। तर अहिले विद्यालय छन्’, उनले भने, ‘थोरै भए पनि विद्यार्थी विद्यालय जान्छन् तर विद्यालयमा पढाई हुँदैन। सिकाइ छैन। आजको चुनौती भनेको विद्यालय निर्माण होइन। सिकाइको संकटलाई सम्बोधन गर्ने हो।’
उनले स्वास्थ्यचौकी भए पनि दक्ष सेवा नरहेको बताए। ‘अहिले नेपालका कुपोषणको महामारी छ। सिङ्गो पुस्ताको एकतिहाइ जनतालाई प्रताडित गरेको छ’, उनले भने, ‘त्यसकारण पहिलो पुस्ताको विकासको चुनौतीबाट दोस्रो पुस्ताको विकास गर्नुपर्ने चुनौतीमा छौं। तर त्यो यहाँ पाइनँ।’
सांसद वाग्लले अर्थमन्त्री महतले वित्त नीतिमा ठाउँ छैन भन्दै मौद्रिक नीतिका उपकरणबाट अगाडि जानुपर्ने कुरा गर्नु गलत भएको बताए।
उनले सरकारको नीति तथा कार्यक्रमको लागि ठाउँ खोज्नसक्ने हो धेरै स्थान रहेको बताए।
वाग्लेले सरकारले जलवायु परिवर्तन र दिगो विकासको मुद्दाबाट अगाडि बढ्न सक्नुपर्ने बताए।
उनले निजी क्षेत्रको मनोबलका कुरा गर्नु स्वागतयोग्य रहेको बताए।
डा. वाग्लेले आफूले कांग्रेसको घोषणापत्र लेख्न सहयोग गरेको भन्दै त्यसलाई पढेर कार्यान्वयनमा उतार्न अर्थमन्त्रीसँग आग्रह गरे।
उनले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको विषयलाई न्याय गर्न अर्थमन्त्रीसँग माग गरे।
‘फिजिकल स्पेश अलिक टाइट छ। मौद्रिक नीतिका उपकरणहरुबाट अगाडि जान्छौँ भन्नुभयो। त्यो गलत हो। सरकारको नीति तथा कार्यक्रमको लागि स्पेस खोज्नसक्ने हो भने व्यापक स्पेस छ। यसको लागि जलवायु परिवर्तन र दिगो विकासको मुद्दाबाट अगाडि बढ्न सक्नुहुन्छ’, उनले भने, ‘उहाँले निजी क्षेत्रको मनोबलका कुरा गर्नुभएको छ। त्यो स्वागतयोग्य छ। कांग्रेसको घोषणा पत्र पढ्नुभयो होला? अर्थमन्त्रीज्युले। मैले पनि पढेको छु। मैले पनि थोरैबहुत लेखिदिएकै हो। त्यहाँ आर्थिक सुधारका कुराहरु गरिएका छन्। २४ देखि ४८ वटा ऐनहरुको खारेजी संशोधनबारे लेखिएका छन्। आफ्नै घोषणा पत्र पढेर कार्यान्वयनमा उतार्नुहोला। निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको विषयमा सरकारले न्याय गरोस्। हैरानी र झन्झटको चक्र दुष्चक्रबाट नेपाली अर्थतन्त्रलाई बाहिर ल्याउनुपर्नेछ।’
Shares
प्रतिक्रिया