राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा केही व्यापारिक घरानालाई फाइदा पुग्ने गरी करका दर हेरफेर गरिएको दाबी गरेका छन्।
आर्थिक विधेयकमाथि मंगलबारको प्रतिनिधिसभामा भएको छलफलमा सहभागी हुने क्रममा बोल्दै उनले यस्तो बताएका हु्न्।
‘अघिल्लो वर्षको विवाद नसेलाउँदै मन्त्रालयबाहिरका अर्का विज्ञलाई पनि बजेट निर्माणमा सामेल गराइएको खुलेको छ। अर्थसमितिको पहिलो बैठकमै हामी र मन्त्रीबीच पोलिसीबारे कुरा भएकै हो’, उनले भने, ‘अख्तियारले पनि समात्न नसक्ने गरी सेटिङको भ्रष्टाचार आगोसरह देशमा फैलिएको छ। तर दण्डहीनतालाई तोडेरै छाड्ने हाम्रो संकल्प छ।’
वाग्लेले स्पन्ज ब्लेड, स्टिल र आलुप्जासम्ममा भएको करका दर हेरफेरमा पूर्वकर्मचारीको संलग्नताबारे प्रश्न उठाएका छन्।
‘हार्मोनाइज सिस्टम (एचएस कोड)का लागि मन्त्रालयबाहिरका एकजनालाई सहभागी गराइएको खुलेको छ। हजारौँ भन्सारका कोडहरुको जटिलता हामी बुझ्छौँ। यही जटिलताबीच करका यी दर र अंक घटाइन्छ।’
उनले यो वर्ष पनि करका दर हेरफेर गरिएको बताएका छन्। ‘षड्यन्त्रमूलक ढंगले निश्चित व्यापारिक घरनाालाई फाइदा हुने गरी करका दर तोडमोड गराइएको छ कि छैन?’, उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सोधे, ‘एचएस कोडसम्बन्धी काममा विधि र प्रक्रिया पूरा गरे नगरेको जवाफ हामीलाई चाहिन्छ।’
उनले देशमा ३०/३० वर्षसम्म एचएस कोड टाइप गर्न सक्ने व्यक्ति एकजना वा दुईजना मात्रै हुनु दु:खद रहेको पनि उल्लेख गरेका छन्।
Shares
प्रतिक्रिया