पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्दा कर्जा नोक्सानी (प्रोभिजन) बढ्दै गइरहेको छ।
बैंक तथा वित्तीय संस्थाको कर्जा रिकभरी सुधार नहुँदा कर्जा नोक्सानी बढेर दोब्बर पुगेको हो।
बैंक तथा वित्तीय संस्थाले खराब कर्जालाई पाँच भागमा वर्गीकरण गरी कर्जा नोक्सानी छुट्याउने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले असल कर्जाको हकमा १.०३ प्रतिशत, सुक्ष्म निगरानीमा ५ प्रतिशत, कमसल कर्जामा २५ प्रतिशत, शंकास्पदमा ५० प्रतिशत र खराब कर्जामा १०० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको छ।
वित्तीय संस्थाले कोभिडको समयमा उल्लेख्य मात्रामा गरेको कर्जा नउठ्दा खराब कर्जा बढ्न गई कर्जा नोक्सानी बढेको हो।
चालु आर्थिक वर्ष २०७९/८० वैशाख मसान्सम्म बैंक तथा वित्तीय संस्थाले खराब कर्जा वापत ५३ अर्ब ६१ करोड ७ लाख रुपैयाँ कर्जा नोक्सानी छुट्याएका छन्।
गत वर्ष त्यही अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा नोक्सानी २२ अर्ब ९४ करोड ६ लाख रुपैयाँ रहेको थियो।
गत वर्षको तुलनामा चालु आवको वैशाख समसन्तसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा नोक्सानी दोब्बर बढीले बढेको छ।
चालु आवको वैशाख मसान्तसम्ममा (क) वर्गका वाणिज्य बैंकहरुले मात्रै खराब कर्जा वापत ४४ अर्ब ८८ करोड ५ लाख रुपैयाँ कर्जा नोक्सानी छुट्याएका छन्।
त्यसैगरी (ख) वर्गका विकास बैंकले ७ अर्ब ३१ करोड र (ग) वर्गका फाइनान्स कम्पनीले १ अर्ब ४२ करोड १ लाख रुपैयाँ कर्जा नोक्सानी छुट्याएका छन्।
गत वर्ष त्यही अवधिमा (क) वर्गका वाणिज्य बैंकले १९ अर्ब ५५ करोड ९ लाख, (ख) वर्गका विकास बैंकले २ अर्ब ७५ करोड २ लाख रुपैयाँ र (ग) वर्गका फाइनान्स कम्पनीले ६३ करोड ५ लाख रुपैयाँ कर्जा नोक्सानी गरेका थिए।
गत वर्ष त्यही अवधिको तुलनामा चालु आवको १० महिना अर्थात वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा नोक्सानी बढेर दोब्बर बढी भएको एक बैंकरले बताए।
उनका अनुसार चालु आवको वित्तीय संस्थाको कर्जा रिकभरीमा समस्या देखिँदा कर्जा नोक्सानी बढेको हो। तर, विस्तार कर्जा नोक्सानीमा सुधार हुँदै जाने उनी बताउँछन्।
‘केन्द्रीय बैंकले कर्जाको पुनसंरचना र पुनर्तालिकिकरण गर्न पाउने व्यवस्था गरेको छ’, उनले भने, ‘यस्तो व्यवस्थाले बैंकहरुको खराब कर्जा घट्न गई कर्जा नोक्सानीलाई समेत घटाउन मद्दत गर्छ।’
बैंकहरुले नयाँ कर्जा प्रवाह गरेका छैनन्। पुरानो कर्जाको रिकभरीमा सुधार हुँदै गएको छ। यसले पनि आगामी समयमा कर्जा नोक्सानी घट्ने नै हो', उनले भने।
जसले गर्दा नन पर्फमिङ लोन (एनपीएल) घट्दै जाने उनले बताए।
‘अन्तिम त्रैमासम्म आइपुग्दा एनपीएल अझै माथि जान सक्ने आकलन गरिएको थियो’, उनले भने, ‘बैंकहरु नयाँ कर्जा प्रवाह रोकेर रिकभरीमा लागे। राष्ट्र बैंकले केही सहज गर्दा एनपीएल घट्ने देखिएको हो।’
गत वर्षको त्यही अवधिको तुलनामा २१ वटै वाणिज्य बैंकको कर्जा नोक्सानी बढेको छ। वैशाख मसान्तसम्म कुमारी बैंकले ६ अर्ब ५७ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ६१ करोड रुपैयाँ कर्जा नोक्सानी गरेका छन्।
सबैभन्दा थोरै कर्जा नोक्सानी गर्नेमा एनआईसी एशिया बैंक छ। बैंकले ५३ करोड कर्जा नोक्सानी गरेको छ। गत वर्ष त्यही अवधिमा एनआईसी एशिया बैंकले ४५ करोड रुपैयाँ कर्जा नोक्सानी छुट्याएको छ।
अन्य वाणिज्य बैंकको कर्जा नोक्सानी उल्लेख्य मात्रामा बढेको बेला एनआईसी एशियाको कर्जा नोक्सानी सामान्य बढेको छ।
चालु आवको चौथो त्रैमाससम्ममा बैंकहरुको खराब कर्जा सुधार हुन गई कर्जा नोक्सानीमा सुधार हुँदै जाने कृषि विकास बैंकका एक अधिकारीले बताए।
‘अन्तिम त्रैमासमा रिकोभरी राम्रो हुन्छ’, उनले भने, ‘दोस्रो र तेस्रो त्रैमासमा नभएको रिकभरी चौथो त्रैमासमा हुन्छ। कृषि विकास बैंकलाई अघिल्ला वर्षहरुमा पनि दोस्रो र तेस्रोमा खराब कर्जा बढ्ने र चौथो त्रैमासमा सुधार हुने गर्दछ।’
कुन बैंकको प्रोभिजन कति?
नेपाल बैंकले चालु आवको वैशाख मसान्तसम्ममा १ अर्ब ८३ करोड कर्जा नोक्सानी (प्रोभिजन) गरेको छ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७७ करोड, नबिल बैंकले ३ अर्ब ९६ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ६१ करोड, स्टान्डर्ड चाटर्ड बैंकले ७१ करोड, हिमालयन बैंकले १ अर्ब ९६ करोड प्रोभिजन गरेका छन्।
नेपाल एसबीआई बैंकले ७९ करोड, एभरेष्ट बैंकले ५५ करोड, एनआईसी एशिया बैंकले ५३ करोड, माछापुच्छ्रे बैंकले ८२ करोड, कुमारी बैंकले ६ अर्ब ५७ करोड, लक्ष्मी बैंकले १ अर्ब ३४ करोड, सिद्धार्थ बैंकले २ अर्ब १६ करोड र कृषि विकास बैंकले ३ अर्ब ३० करोड रुपैयाँ प्रोभिजन गरेका छन्।
यता ग्लोबल आईएमई बैंकले २ अर्ब ७१ करोड, सिटिजन्स बैंकले १ अर्ब १३ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब २ करोड, सनराइज बैंकले १ अर्ब ४८ करोड, एनएमबी बैंककले २ अर्ब ४८ करोड, प्रभु बैंकले २ अर्ब ६८ करोड र सानिमा बैंकले १ अर्ब ३८ करोड रुपैयाँ प्रोभिजन गरेका छन्।
Shares
प्रतिक्रिया