ad ad

कारोबार


भारतमा अर्थमन्त्री महत र चिनियाँ समकक्षी लिउबीच भेटवार्ता

भारतमा अर्थमन्त्री महत र चिनियाँ समकक्षी लिउबीच भेटवार्ता

नेपालखबर
साउन २, २०८० मंगलबार ७:१६, काठमाडौँ

भारत भ्रमणमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री  लिउ कुनबीच भेटवार्ता भएको छ।

भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी–२० बैठकको क्रममा सोमबार अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो। द्विपक्षीय वार्तामा आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ।  

'एकअर्काको चासो र सरोकारप्रति दुवै पक्ष संवेदनशील रहेको बारेमा पनि दुवै मन्त्रीको समान धारणा रह्यो,'  अर्थमन्त्री डा महतको चिनियाँ समकक्षीसँगको भेटबारे उल्लेख गर्दै उनको सचिवालयले भनेको छ, 'मन्त्री डा महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो।'

सन् २०१९ मा नेपाल भ्रमणका क्रममा चीनका राष्ट्रपतिले गरेको सहयोग प्रतिबद्धताबारे पनि दुई देशका अर्थमन्त्रीबीच कुराकानी भएको जनाइएको छ। नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपालको समग्र आर्थिक  विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

मन्त्री डा महतले नेपाल र चीनबीचका महत्त्वपूर्ण सीमानाकाबाट दुई देश जोड्ने सडक परियोजना सहयोगको महत्त्वपूर्ण क्षेत्र हुनसक्ने र दुवै देशका सम्बन्धित निकायले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विश्वास व्यक्त गरे। सुरुङमार्गको प्रसङ्गमा टोखा–छहरे सुरुङमार्ग चाँडो कार्यान्वयनमा आउने भनाइ  उनको थियो।

 चिनियाँ अर्थमन्त्री लिउले नेपालको विकासमा चीन सहयोगी हुन चाहेको र सहयोगका परियोजना चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .