ad ad

कारोबार


पहिले गाईभैँसी चराउने ठाउँ अहिले बन्यो सुन्दर पर्यटकीय स्थल

पहिले गाईभैँसी चराउने ठाउँ अहिले बन्यो सुन्दर पर्यटकीय स्थल

बागलुङको बुर्तिबाङ बजारभन्दा केहीमाथि रहेको टाकुरा।


डम्मर बुढा मगर
साउन ७, २०८० आइतबार १९:५४, बागलुङ

समथर मैदानको चारैतिर सल्लाका रुखले घेरिएको हरिया घाँस र बुट्यानले टाकुराको सुन्दरतामा चमक थपिएको छ। हिउँद र बर्खामा निकै आकर्षक देखिने टाकुरा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। 

खासगरी यो याममा धेरैलाई शीतलता प्रदान गर्ने छहारी बनेको छ- टाकुरा। बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारभन्दा केहीमाथि यो टाकुरा पर्छ। टाकुरा उच्च पहाडको शिरमा समथर भूभागमा फैलिएको छ। तलपट्टी गाउँबस्ती छन्, त्यसभन्दा माथि बस्ती छैन। पर्यटकीयस्थल नरसिंहकोटको सामीप्यमा रहेको टाकुरा यसकारण पनि पछिल्लो समय एक आकर्षक गन्तव्य बन्दै गएको छ। 

जिल्लाको निसीखोला गाउँपालिका–७ राजकुटमा पर्ने टाकुरामा चैतदेखि नै आन्तरिक पर्यटक आउँछन्। निसीखोला र बडिगाड गाउँपालिकाको सङ्गमस्थलमा पर्ने यो एक खुला चौर हो। पहिले पशु चौपाया चरन क्षेत्रका रुपमा रहेको टाकुरा अहिले घुमफिर गर्ने उत्कृष्ट गन्तव्यका रुपमा विकास भएको छ। वरपर रुख र बीचमा खाली समथर मैदान छ। यो मैदानले धेरैलाई आकर्षित गर्छ। अझ वर्षात्‌का बेलामा त झन् त्यस वरपरको हरियाली वातावरणले मनै लोभ्याउँछ। 

ऐतिहासिक क्षेत्र नरसिंहकोटसँग जोडिएको टाकुरा पिकनिकका लागि निकै उपयुक्त स्थानका रुपमा मानिन्छ। आन्तरिक पर्यटक यहाँ हरेक मौसममा पुग्ने गरेका छन्। शनिबार तथा बिदाको समयमा व्यापारी र अन्य नागरिक यहाँ घुम्न आउने गरेका छन्। 

नरसिंहकोटदेखि करिब एक किलोमिटर र बडिगाडको भिमगिठे बजारदेखि करिब तीन किलोमिटरको दूरीमा रहेको टाकुरामा बागलुङलगायत गुल्मीदेखि पनि आन्तरिक पर्यटक रमाउन आउने गरेका छन्। तराई–पहाड जोड्ने राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको नजिकै पर्ने यो टाकुरा पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेपछि स्थानीसमेत हर्षित छन्। भीमगिठे, राजकुट र बुर्तिबाङदेखि यहाँ सिधै पुग्न सकिन्छ। यहाँसम्म पुग्ने मोटरबाटो त निर्माण भएको छैन, तर गोरेटो बाटोमार्फत नै पदैलयात्रा गरेर पर्यटक यहाँ पुग्ने गरेका छन्। 

अझ ‘ट्रेकिङ’ गर्नेका लागि त झन् यो स्थान अति उपयुक्त मानिन्छ। विगतका वर्षभन्दा पछिल्लो दुई वर्षयता यहाँ घुम्न आउनेको सङ्ख्यामा वृद्धि भएको स्थानीय तिलबहादुर विकले जानकारी दिए। अहिले नरसिंहकोट आउने सडक सहज भएको र यहाँ आउने अधिकांश आगन्तुक टाकुरा पुग्ने गरेको उनको भनाइ छ। बर्खाको समय पनि मान्छे हरियाली घाँसमा फोटो, भिडियो खिच्न र रमाइलो गर्न आउने गरेको विक बताउँछन्। 

नरसिंहकोटदेखि टाकुरालाई सडक सञ्जालले जोड्न सके बढीभन्दा बढी पर्यकट भित्र्याउन सकिने विकको भनाइ छ। उनी भन्छन्, ‘पहिले-पहिले यो ठाउँमा गाईभैँसी चराउने गरिन्थ्यो, अहिले त मान्छेको भीड लाग्छ, अझ चाडपर्व र बिदाको दिन हुनुपर्छ, धेरै मान्छे आउने, गीत बजाउने नाच्ने गर्छन्, अहिलेसम्म मोटरबाटो पुगेको छैन, तर मान्छेहरु हिँडेरै जान्छन्, पहिले नरसिंहकोट आउने यहीबाटै फर्किने गर्थे, टाकुराको नामै सुनिदैनथ्यो, अहिले निकै चर्चित बन्यो, जसले पनि टाकुरा जाने भन्छन्, चाडबाडका बेला त तीन/चार सय मान्छे आउँछन्।’

निसीखोला गाउँपालिकाले ऐतिहासिक नरसिंहकोटसँग टाकुरालाई जोड्न सके पर्यटन विकासमा टेवा पुग्ने थियो। टाकुराबाट देखिने अगिन्ती दृश्यले आगन्तुकलाई लोभ्याउने गरेको छ। यसको विकासका लागि सडकसँगै पर्यटन पूर्वाधार निर्माण गरिने निसीखोला–७ का वडाध्यक्ष दीपक कुवँरले बताए। अध्यक्ष कुँवरले ऐतिहासिक नरसिंकोटमा धेरै भौतिक संरचना निर्माण भएको जानकारी दिँदै नरसिंहकोट र टाकुरालाई जोडेर पर्यटकीय हबका रुपमा विकास गर्ने बताए। 

‘पछिल्लो समय नरसिंहकोट र टाकुरामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ, नरसिंहकोटमा विगतदेखिनै धेरै संरचना बन्दै आए, अब करिब–करिब पूरा हुने चरणमा छ, टाकुरामा अहिले कुनै पनि पूर्वाधार निर्माण भएका छैनन्, संरचना नबन्दा पनि नरसिंहकोट आउने पर्यटक टाकुरासम्म पुग्ने गरेका छन्, त्यहाँ जाने मोटरबाटो निर्माण भएको छैन, सडक सजिलो भयो भने अझ धेरै पर्यटक भित्र्याउन सकिन्छ’, अध्यक्ष कुवँरले भने, ‘यसपालि प्रदेश सरकारसँग बजेट माग गरेका छौँ, केही बजेट प्रदेशको र पालिकाबाट केही मिलाएर सडक निर्माण गर्नुपर्ने छ, सुरुवाती चरणमा छौँ, काम गर्दै जाने योजना बनाइरहेका छौँ।’

सडक निर्माण गर्दा टाकुराको सौन्दर्य कुरुप बन्ने हुँदा व्यवस्थित रुपमा काम गर्ने अध्यक्ष कुँवरको भनाइ छ। आवश्यक ठाउँमा पदमार्ग, शौचालय र खानेपानीको व्यवस्थापन गर्न बाँकी रहेको हुँदा विभिन्न निकायसँग सहकार्य गरेर काम गर्ने उनी बताउँछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .