ad ad

कारोबार


प्रधानमन्त्रीले आज भरतपुरमा विद्युत् सबस्टेसन उद्घाटन गर्ने

प्रधानमन्त्रीले आज भरतपुरमा विद्युत् सबस्टेसन उद्घाटन गर्ने

नेपालखबर
भदौ ५, २०८० मंगलबार ८:३८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चितवनको भरतपुरमा विद्युत् सबस्टेसनको उद्घाटन गर्दै छन्। 

भरतपुर महानगरपालिका–११ आँपटारीमा मंगलबार बिहान ११ बजे हुने विशेष समारोहमा प्रचण्डले मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस)’ प्रविधिमा आधारित विद्युत् सबस्टेसनको उद्घाटन गर्न लागेका हुन्।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले आजै हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको पनि उद्घाटन गर्ने कार्यक्रम छ।

कार्यक्रममा सहभागी हुन उर्जामन्त्री शक्ति बस्नेत, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितका अधिकारीहरु चितवन जाँदैछन्।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन निर्माण गरिएको हो।

त्यसैगरी नेपाल सरकार तथा प्राधिकरणको लगानी तथा विश्व बैंकको सहुलितपूर्ण ऋण सहयोगमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण पूरा हो। 

हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ। एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइनलाई हेटौंडा–भरतपुर र भरतपुर बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण गरिएको छ। 

मकवानपुरको हेटौडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ। 

दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को बर्दघाट सबस्टेसमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालन ल्याइँदै छ।
 
पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाहका लागि हेटौडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो। 

प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध, जग्गा प्राप्तिमा समस्या, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानमा भएको ढिलाइ, ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादनलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो। 

विश्व बैंक आयोजनाबाट २०७८ कात्तिकबाट पछि हेटेपछि सरकार र प्राधिकरणको लगानीमा आयोजनाको बाँकी काम अगाडि बढाइएको थियो।
 
हेटौंडा–भरतपुर खण्ड निर्माणका लागि भारतीय कम्पनी आईकम टेलबीच २०६५ फागुनमा ठेक्का सम्झौता भएको थियो। तर, काम नगरी रणनीतिक महत्वको प्रसारण लाइनको काम अलपत्र भएपछि प्राधिकरणले उक्त ठेक्का तोडी नयाँ टेण्डर गरेको थियो। 

२०७७ जेठमा नयाँ ठेक्का सम्झौता गरी प्राधिकरणले बाँकी काम अघि बढाएको थियो।
 
भरतपुर–बर्दघाट प्रसारण लाइनको लम्बाइ ७४ किलोमिटर प्रसारण निर्माणका लागि  सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनमिक एण्ड ट्रेड कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .