ad ad

कारोबार


बीपी राजमार्गका ठाउँठाउँमा अवरोध, पूर्व जाने यात्रुलाई सास्ती

सडक इन्जिनियर भन्छन्– डेढ किलोमिटर बाटो नै छैन
बीपी राजमार्गका ठाउँठाउँमा अवरोध, पूर्व जाने यात्रुलाई सास्ती

पहिरोले काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा समस्यामा परेकालाई उद्धारका लागि सोमबार बीपी राजमार्गको पाँचखाल नगरपालिका–१० वेलामा पुगेका सशस्त्र प्रहरी पाँचखालबाट भकुण्डेतर्फ जाँदै।(रासस)


वसन्त अर्याल
असोज १४, २०८१ सोमबार १८:३५, काठमाडौँ

दसैँको मुखमा काठमाडौंबाट पूर्व जाने यात्रुलाई सास्ती पर्ने भएको छ। 

बीपी राजमार्गको भकुन्डेबेसीदेखि नेपालथोकसम्म सडक पूर्णरुपमा क्षति हुँदा यात्रुवाहक गाडी आवतजावत कठिन बनेको हो। 

‘डेढ किलोमिटर बाटो नै छैन’, सडक विभागअन्तर्गत मर्मतसम्भार महाशाखाका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले नेपालखबरसँग भने, ‘हाम्रा इन्जिनियर साइटमा पुग्नै बाँकी रहेकाले क्षतिको पूर्ण विवरण संकलन भएको छैन।’

सोमबार भकुन्डेबेसीसम्म बाटो खुलाउने तयारी भइरहेको छ। सडक निर्माणका लागि दुईतर्फबाटै उपकरणहरु प्रयोग भइरहेका छन्। 

काभ्रे जिल्लाका सडक हेर्ने भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले सोमबार नै भकुन्डेबेसीसम्म सडक खुल्ने बताए। 

‘भकुन्डेबसीसम्म आज (सोमबार) खुल्छ। मंगलबारबाट कुन ठाउँमा कति सडक अवरुद्ध भएको छ। स्थलगत निरीक्षण गर्छौँ’, डिभिजन प्रमुख योगेशले भने, ‘मंगलबार निरीक्षण गरेपछि २–३ दिनपछि मात्रै भन्न सकिन्छ।’

उनले पहिलो गएको ठाउँमा सडक बनाउन कुनै समस्या नभए पनि सडक भएको ठाउँमा खोला बगेको हुँदा समस्या हुने बताए। 

‘२–३ दिन राम्रोसँग घाम लागे खोलालाई डाइभर्सन गरेर छेउबाट गाडी हिँड्न सक्ने बाटो बनाउन सम्भव हुनसक्छ’, उनले थपे, ‘वर्षात् भए दशैँअघि कतिपय ठाउँमा सडक जोड्न सकिँदैन।’

सडक विभागकै यान्त्रिक महाशाखाका उपमहानिर्देशक भुवन अधिकारीले सम्भव भएसम्म ठाउँ–ठाउँबाट उपकरण पठाएको उल्लेख गरे। 

उनले भने, ‘सडक नै बगाएको ठाउँमा मेसिनले मात्रै केही गर्नसक्ने अवस्था छैन।’

सडक डिभिजन कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रदिप तामाङले खोलालाई डाइभर्सन गराएर भए पनि सडक ट्रयाक खोल्ने तयारी भइरहेको बताए। उनले नेपालथोकसम्मको सडकमा गाडी गुडिरहे पनि त्यहाँदेखि काभ्रेतर्फ जाने सडक नभएको बताए। 

‘हामीले जनकपुरबाट समेत मेसिन मगाएर बाटो नै बगाएको ठाउँमा ट्रयाक खोल्न सकिन्छ कि भनेर लागेका छौँ’, इन्जिनियर तामाङले भने, ‘५–६ दिनमा बनाउन सक्छौँ कि भन्ने छ।’

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा सडक भत्किएपछि अलपत्र यात्रुहरु चार दिनपछि हिँडेर काठमाडौँतर्फ आउँदा नमोबुद्ध नगरपालिका–२ वेलाडाँडा आइपुगेका यात्रु । (रासस)

सुनकोशी खोलाबाट सिन्धुलीतर्फ बीपी राजमार्ग छ भने रामेछापतर्फ मध्यपहाडी राजमार्ग छ। तर बीपी राजमार्ग अवरुद्ध भए पनि मध्यपहाडी राजमार्ग सञ्चालनमा आइसकेको छैन। 

‘हामी बीपी राजमार्ग नै खुलाउनेतर्फ लागेका छौँ’, तामाङले भने, ‘मध्यपहाडी राजमार्ग पनि नयाँ ट्रयाक खनिएकाले विभिन्न ठाउँमा पहिरो गएको भन्ने छ। एकीन छैन।’

मध्यपहाडी राजमार्ग रामेछापबाट सिन्धुपाल्चोक, काभ्रे छुने भएकाले काठमाडौंबाट जानेलाई विकल्प हुनसक्छ। तर दोलालघाटबाट रामेछापको सित्खासम्म ८० किलोमिटर सडकमा ठाउँ ठाउँमा पहिरो र पुल नहुँदा समस्या रहेको आयोजनाले जनाएको छ।

मध्यपहाडी राजमार्ग रामेछाप योजना कार्यालय प्रमुख विदुर पोखरेलले ठाउँ ठाउँमा पहिरो गएकाले तत्काल सञ्चालन गर्न सकिने अवस्था नरहेको बताए। 

‘धेरै ठाउँमा गएको पहिलो आइतबारबाटै हटाउँदै छौँ। खानी खोला, लुभु खोलामा पुल नै निर्माण भइसकेको छैन’, योजना प्रमुख पोखरेलले भने, ‘कतिपय ठाउँमा सुनकोशी नदीले बाटो नै बगाएको छ। हामीले सकेको प्रयास गरिरहेका छौँ।’

बीपी राजमार्ग कुन ठाउँमा कति अवरुद्ध छ?
बीपी राजमार्गमध्ये काठमाडौंबाट काभ्रेको भकुन्डेबेसीसम्म र सिन्धुलीको नेपालथोकबाट पूर्वतर्फ सञ्चालनमा आएको छ। भकुन्डेबेसीदेखि नेपालथोकसम्म सडक मर्मत गर्नुपर्ने अवस्था छ। 

भकुन्डेबेसीबाट रोशीको किनारै किनार नेपालथोकसम्म बीपी राजमार्ग निर्माण गरिएको छ। नेपालथोक पुगेसँगै सुनकोशी नदी सुरु हुन्छ।

सुनकोशीले रामेछाप, खोटाङ जाने पुल बगाए पनि सडकमा धेरै क्षति पु¥याएको छैन। तर रोशी खोलाको किनारमा रहेको बीपी राजमार्ग पूर्ण रुपमा क्षति भएको छ। 

काभ्रे जिल्ला प्रहरीले तयार पारेको तथ्यांकअनुसार काभ्रे भञ्ज्याङदेखि कटुन्जेबेसीसम्म जम्मा ७५० मिटर बाटो अवरुद्ध छ। रोशी पुलदेखि मंगलटारसम्म १७०० मिटर बाटो अवरुद्ध छ। 

भकुन्डेबेसीदेखि कुटुन्जेको ९ किलोमिटरमध्ये १ नम्बर पुलमा जम्मा २५० मिटरबाटो अवरुद्ध भएको छ। चौकीडाँडामा १०० मिटर बाटो अवरुद्ध भएको छ। 

कटुन्जेदेखि मंगलटारको १२ किमि सडकमध्ये रोशीपुल बगाएको छ। चार सय बेसीमा ५० मिटर सडक अवरुद्ध भएको छ। नार्के बजारमा १५० मिटर अवरुद्ध छ भने दाउन्नेमा १०० मिटर बाटो रोकिएको तथ्यांकबाट देखिएको छ। 

मंगलटारदेखि मान्तीखोलासम्म ११ किमिमध्ये ४ ठाउँमै अवरुद्ध छ। चिउरीबासमा ३०० मिटर, कालढुंगामा ५०० मिटर, डाबाबेसीमा ५०० मिटर र मान्ती खोलामा १०० मिटर बाटो अवरुद्ध भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .