ad ad

कारोबार


कृषि र शिक्षामा फर्किए ज्याक मा, साँच्चै बदलिँदै छ अलिबाबा

कृषि र शिक्षामा फर्किए ज्याक मा, साँच्चै बदलिँदै छ अलिबाबा

अन्ना काओ
भदौ ७, २०८० बिहिबार ६:४२,

अनलाइन व्यापार महारथी अलिबाबा ग्रुपका संस्थापक ज्याक माले ग्रामीण क्षेत्रका शिक्षकहरुको समूहलाई आइतबार भिडिओमार्फत सम्बोधन गरे। आफ्नो अवकाशपछिको जीवनमा यी चिनियाँ धनाढ्यले निरन्तर कृषि र शिक्षा क्षेत्रमा ध्यान केन्द्रित गरिरहेका छन्। 

आइतबार अलिबाबाको गृहसहर हाङझाउमा ज्याक मा फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा उनले चिनियाँ ग्रामीण क्षेत्रमा शिक्षाको विकासमा योगदानका लागि शिक्षकहरुलाई धन्यवाद दिँदै थिए। सो क्रममा उनले कृषि प्रविधिको आविष्कारमा आफ्नो अनुभव समेत सुनाएका थिए। 

‘म देख्न सक्छु, ग्रामीण शिक्षा र शिक्षकहरु भनेका असाध्यै ठूला शक्ति हुन् जसले चीनको पूरै अविकसित क्षेत्रलाई बदल्न सक्छ। र, हाम्रो देशको दिगो विकास शिक्षा क्षेत्रको जागरणबाट मात्र सम्भव छ,’ चीनका विभिन्न क्षेत्रहरुका ग्रामीण शिक्षा सुधारमा फाउन्डेसनबाट प्राप्त सहयोग कसरी परिचालन हुन्छन् भन्ने २० ग्रामीण शिक्षकहरुको योजना सुनेपछि माले भने। 

३ मिनेटको आफ्नो भिडिओ प्रस्तुतिमा माले बितेका वर्षहरुमा विभिन्न देशहरुमा आफूले कृषिको अध्ययन गरेको बताए। सोही कारण जब ग्रामीण विकासको कुरा आउँछ, उनी कृषिको भूमिका महत्त्वपूर्ण देख्छन्। 

‘मैले के पाएँ भने, कृषिमा राम्रो हुन एकदमै राम्रा स्रोतहरुको आवश्यकता पर्दैन तर फरक किसिमको सोच र मानिस भने चाहिन्छ,’ उनले भने, ‘मलाई विशेष आशा के छ भने हाम्रा ग्रामीण विद्यालयहरुले पूरै कल्पना, नयाँ सोच र भविष्य निर्माणको चुनौती सामना गर्न लालायित मानिसहरुलाई सक्षम बनाउन सक्छन्।’

‘हो, ग्रामीण क्षेत्रहरुलाई प्रविधि चाहिन्छ तर मलाई लाग्छ, नवीन सोच र रचनात्मक क्षमता पनि उत्तिकै आवश्यक र महत्त्वपूर्ण छन्,’ माले भने। 

‘द रुरल हेडमास्टर्स इनिसिएटिभ’ सन् २०१६ मा माको फाउन्डेसनले सुरु गरेको थियो।  यसै अन्तर्गतको ‘रुरल टिचर इनिसिएटिभ’ले हरेक वर्षजसो देशभरबाट २० ग्रामीण शिक्षकलाई प्रतिशिक्षक १ लाख युआन (१३,७८७ अ.डलर) वित्तीय सहयोग उपलब्ध गराउँदै आएको छ। 

अहिलेसम्म यो परियोजनाले १२० ग्रामीण विद्यालयका प्रधानाध्यापकहरुलाई सहयोग गरेको फाउन्डेसनले जनाएको छ। यो वर्ष २० प्रधानाध्यापकहरुका योजना छनौट भएका छन् भने यसअन्तर्गत ग्रामीण विद्यार्थीका लागि थप पाठ्यक्रमहरु र नयाँ विद्यालयलगायत छन्। मध्य छिङहाइ प्रान्तको एक विद्यालयकी प्रधानाध्यापिका शान युकिङले ग्रामीण विद्यालयहरुमा कृत्रिम बौद्धिकताको रफ्तार बढ्ने आशा गरिन्। उनले च्याटजीपीटीजस्ता अनलाइन उपकरणले शिक्षकहरुलाई शैक्षिक सामग्री उपलब्ध गराउन मद्दत मिल्ने बताइन्। 

सो क्रममा माले भने अलिबाबाबारे कुरा निकालेनन्, जो अहिले आफैँ पुनर्संरचनाको क्रममा छ। 

आइतबारको उक्त भेलामा अलिबाबा फिनटेक सम्बद्ध आन्ट ग्रुप र जो साइ फाउन्डेसनका प्रतिनिधिको पनि सहभागिता थियो। यो भेला ज्याक मा फाउन्डेसनको रुरल हेडमास्टर्स इनिसिएटिभअन्तर्गतको वार्षिक कार्यक्रम हो। 

सन् २०१९ मा अलिबाबा प्रमुखबाट हटेका र यही वर्षको सुरुतिर आन्टको नियन्त्रण सुम्पिएका मा पछिल्लो समय कृषि र शिक्षामा आफ्नो ध्यान केन्द्रित गरिरहेका छन्। 

५८ वर्षीय मा पछिल्ला महिनाहरुमा शैक्षिक अभियन्ता र अनुसन्धाताको रुपमा सार्वजनिक जीवनमा फर्किएका छन्। विश्वका विभिन्न शैक्षिक संस्थाबाट नयाँ उपमा कमाइरहेका छन्। 

गत जुनमा माले टोकियो विश्वविद्यालयमा अतिथि प्राध्यापकको रुपमा आफ्नो पहिलो कक्षा लिएका थिए। जुन उनले हङकङ विश्वविद्यालयमा सम्मानित प्राध्यापकको रुपमा तीन वर्ष काम गर्ने सहमति गरेको दुई महिनापछि भएको थियो। जहाँ उनको ध्यान वित्त, कृषि र उद्यमशील नवप्रवर्तनको अनुसन्धानमा केन्द्रित हुनेछ। एससीएमपीबाट  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .