सरकारले कोशी प्रदेशस्थित तेह्रथुमको चुहानडाँडा विमानस्थल निर्माण अघि बढाउने भएको छ। उता कर्णालीको कालिकोटमा निर्मित सुनथराली विमानस्थलको उद्घाटन गर्न लागिएको छ।
यही भदौमै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कालिकोटको सुनथराली विमानस्थल उद्घाटन गर्ने तयारी गरेको हो।
यता वन मन्त्रालयले तेह्रथुमको चुहानडाँडा विमानस्थल आयोजनाका लागि वातावरण मुल्यांकन प्रतिवेदन तयार गरिसकेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रस्ताव गरेको विमानस्थल आठराई गाउँपालिका चुहानडाँडामा बन्ने गरी अध्ययन गरेको हो।
चुहानडाँडा विमानस्थल आन्तरिक जहाज उडान र अवतरणका लागि निर्माण तथा सञ्चालन हुनेछ।
आयोजनास्थल समुद्री सतहबाट १४ सय ५० मिटरको उचाइमा छ। प्याक्ट कन्सल्टेन्ट प्रालिले यसको वातावरणीय प्रभाव मूल्यांकनको अध्ययन गरेको थियो।
विमानस्थलको धावनमार्ग उत्तर–पश्चिमदेखि दक्षिण–पूर्वमा ६४० मिटर लम्बाई र २० मिटर चौडाईको हुने छ। ट्याक्सी मार्ग ३० मिटर लम्बाई र १५ मिटर चौडाई छ। एप्रोन ६० मिटर लम्बाई र ३० मिटर चौडाईको छ।
विमानस्थलमा टर्मिनल भवन, स्टाफ क्वाटर, पुलिस कक्ष, कार्गो भवन, पार्किङ लगायतका संरचना बन्ने छन्।
त्यहाँ २ वटा जहाजसम्म पार्किङ गर्न सकिने छ। सवारी पार्किङका लागि १५ सय वर्गमिटर क्षेत्रफल तोकिएको छ।
डिएचसी–६ ट्वीनअट्टर, लेट ४१०, डोरनियर २२८ वा त्यससरहका विमान यहाँ सञ्चालन हुने छन्।
छोटो धावनमार्गमा उडान तथा अवरतण गर्न मिल्ने (स्टोल) विमानस्थलको रुपमा निर्माण गरिने छ।
सुकेटार विमानस्थल ११ न्युटन माइल, चन्द्रगढी विमानस्थल ४१ न्युटन मिटर, विराटनगर विमानस्थल ४७ न्युटन मिटर र काठमाडौंको १२९ न्युटन मिटरको दूरीमा छन्।
११ हेक्टर क्षेत्रफल, १ अर्ब लागत
विमानस्थल निर्माणस्थल ११ हेक्टर क्षेत्रफलमा छ। निर्माण लागत १ अर्ब रुपैयाँ अनुमान गरिएको छ।
वातावरण प्रभाव मूल्यांकनले आयोजना क्षेत्र वरपर ४६ प्रजातिका वन्यजन्तु रहेको देखाएको छ। त्यस क्षेत्रमा खोटे सल्ला, चिलाउने, बाँझ, अमला, हर्रो, खिर्रो, काब्रो, टाँकी, कुटमिरो, बकाइनो, पैयुँ उत्तिस, सिमल लगायत रुख छन्।
आठराई गाउँपलिकाको कुल जनसंख्या १ लाख ८२ हजार छ। आयोजना प्रभावित पालिकामा ४२ हजार २३ घरधुरी छन्।
प्रस्तावित आयोजनाबाट वडा नम्बर ६ प्रभावित हुने छ। यसको कूल जनसंख्या ३ हजार २८ छ। वडामा घरधुरी संख्या ७०५ छन्। विमानस्थलबाट हाँटडाँडा र थुम्कीका वस्ती बढी प्रभावित हुने छन्।
आयोजनाको २५० मिटर वरपरलाई प्रत्यक्ष प्रभावित क्षेत्र मानिएको छ। आयोजनाका कारण २१ वटा आवास लगायतका संरचना भत्काउनु पर्ने छ।
जसमा ९ वटा घर, २ वटा गोठ, ४ वटा सौचालय र ६ वटा कटेरो भत्काउनु पर्ने छ। स्थयी रुपमा करिब ९ हेक्टर खेतीयोग्य जमिन, आवास क्षेत्रसहित निजी वनको अधिग्रहण गर्नुपर्ने छ। तर, धेरैजसो खेतीयोग्य जमिन बाँझै छ।
विमानस्थल निर्माण चरणमा आवश्यक जनशक्तिका लागि स्थानीयबासीलाई सीप र दक्षताको आधारमा रोजगारीमा प्राथमिकता, विमानस्थल सञ्चालन चरणमा आवातजावत बढेसँगै दैनिक मागहरु बढ्ने छन्।
‘प्रस्तावित चुहानडाँडा विमानस्थल मौसमको अनुकुलताले वर्षभर नै सञ्चालन गर्न सकिने देखिएको छ,’ वातावरण प्रभाव मूल्यांकनमा भनिएको छ, ‘विमानस्थल निर्माणले व्यापार, पर्यटन व्यवसाय, सञ्चार तथा यातायातका सुविधा उपलब्ध हुने छन्।’
विमानस्थल निर्माण हुँदा तेह्रथुम र पाँचथरबासीलाई आर्थिक आम्दानी र विकासमा सहयोग पुग्ने छ। तेह्रथुमनजिकमा ताप्लेजुङको सुकेटर विमानस्थल छ। तर वर्षभर अनुकूल मौसम नहुँदा त्यहाँ नियमित उडान हुँदैन। सुकेटारको विकल्पका रुपमा चुहानडााँड हुने रिपोर्टमा उल्लेख छ।
२०७७ मा बनेको विस्तृत आयोजना प्रतिवेदन अनुसार ८ हजार बोरा सिमेन्ट र अलकत्रा २६ सय ६ मेट्रिक टन खपत हुने उल्लेख छ।
सुनथराली उद्घाटन गरिँदै
कालीकोटको नरहरिनाथ गाउँपालिकास्थित सुनथरालीमा ४ दशक लगाएर निर्माण गरिएको विमानस्थल उद्घाटन तयारी गरिएको छ। भदौ १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त विमानस्थल उद्घाटन गर्ने कार्यतालिका छ।
नरहरिनाथ गाउँपलिकाका अध्यक्ष नगेन्द्र बहादुर विष्टले भदौ १३ गते उद्घाटनको तयारी भएको बताए।
‘१३ गते उद्घाटन गर्ने तयारीमा रहेका छौँ। मौसम कस्तो हुन्छ,’ गाउँपालिका अध्यक्ष विष्टले भने, ‘जिल्लाका माननीय (सांसद)सँग छलफल गरिरहेका छौँ।’
२०७३ माघ २९ गते परीक्षण उडान भए पनि विमानस्थलमा नियमित उडान भएको छैन। कांग्रेस नेता जीवनबहादुर शाही पर्यटनमन्त्री हुँदा परीक्षण उडान भएको थियो।
विमानस्थल निर्माणमा ४२ करोडभन्दा बढी खर्च भएको छ। यहाँ ६ सय ९० मिटर लामो धावनमार्ग छ। यहाँ सदरमुकाम मान्मबाट तीन घण्टामा पुगिन्छ।
‘विमानस्थल उद्घाटन गर्ने तयारी भए पनि नियमित उडान हुने टुंगो छैन,’ विष्टले भने, ‘मैले नियमित उडान हुने निश्चित गरेरमात्रै उद्घाटन गर्नुपर्छ भनेको छु।’
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले मौसम राम्रो नभएकाले तत्काल उद्घाटन हुने निश्चित नभएको बताए।
‘विमानस्थल निर्माण भइसकेको छ। परीक्षण उडान गर्न बाँकी छ,’ निरौलाले भने, ‘परीक्षण उडानपछि मात्रै नियमित उडानबारे टुंगो हुन्छ।’
२०४२ सालबाट कोटवाडाको सुनथरालीमा विमानस्थल बन्न सुरु भएको थियो। सुनथराली विमानस्थल कालीकोटका बासिन्दाको सडकभन्दा पुरानो सपना पूरा हुन सकेको छैन।
Shares
प्रतिक्रिया