अम्बे ग्रुपले नेपालगञ्जमा १५ बिघा क्षेत्रफलमा स्टिल उद्योग विस्तार गर्दै छ। टीएमटी छडसँगै नयाँ फलामजन्य उत्पादनका लागि क्षमता बढाउन लागिएको हो।
१ बिघा १९ कठ्ठामा रहेको उद्योगलाई १५ बिघामा विस्तार गरिने भएको हो। जसमा १० बिघा जग्गा कम्पनीको नाममा रहेको बाँकी जग्गा ३० वर्षका लागि भाडामा ल्याएको छ।
उद्योगले क्षमता विस्तार गरी नयाँ उत्पादन बजारमा ल्याउने प्रस्ताव गरेको हो। जसमा टिएमटी छड, एमएस च्यानल, एंगल, स्कायर, फ्लाट, स्ट्रिप, एमएस बिलेट, थोकरी, बाइन्डिङ वायर, जिआई वायर, एमएस वायर उत्पादन गर्ने उद्देश्य राखेको छ।
उद्योग विस्तारका लागि वातावरण प्रभाव मूल्याकंन गर्नुपर्छ। दैनिक ५ सय मेट्रिक टन भन्दा बढी प्रारम्भिक स्मेल्टिङ गरी फेरस तथा नन्फेरस वस्तु उत्पादन गर्ने उद्योग स्थापनाका लागि वातावरणीय प्रभाव मूल्यांकन गर्ने प्रावधान अनुसार वातावरण प्रभाव मूल्यांकन गरेको छ।
जय अम्बे स्टिलले ईआईएक एसएमएस इन्भाइरोमेन्ट एन्ड इन्जिनियरिङ प्रालिले गरेको छ। वन तथा वातावरण मन्त्रालयले ईआईए प्रतिवेदनमा राय सुझाव माग गरी अन्तिम चरणमा पुर्याएको छ।
‘वन मन्त्रालयले अझै एक–डेढ महिना लगाउने देखिन्छ,’ जय अम्बे स्टिलका म्यानेजर वीजेन्द्र शाहले भने, ‘इआईएको अन्तिम प्रतिवेदन आएपछि भौतिक रुपमा उद्योग विस्तार सुरु हुन्छ।’
हाल रिहिटिङ फर्नेसमा आधारित उद्योगले टीएमटी बार, च्यानल, एंगल, स्कायर, फ्लाट र स्ट्रिप उत्पादन गर्दै आएको छ। अब कम्पनीले इन्डक्सन फर्नेशकोलागि क्षमता विस्तार गर्न जनाएको छ।
४० हजारबाट ३ लाख ५० हजार मेट्रिक क्षमतामा विस्तार गर्दै
२०७४ कात्तिकमा जय अम्बे स्टिल्स स्थापना हुँदा वार्षिक ४० हजार मेट्रिक टन उत्पादन गर्ने उद्देश्य राखिएको थियो। पहिले विदेशबाट आयात गर्ने एमएस बिलेट अब स्वदेशमा आफैँ उत्पादन गर्न लागेको छ।
२०७९ सम्म कम्पनीको कुल लगानी २४ करोड रुपैयाँ रहेकोमा अब ९ अर्ब ७५ करोड रुपैयाँ लगानी थप गर्ने भएको छ। उद्योगमा कुल १० अर्ब रुपैयाँ लगानी गर्ने जनाएको छ।
म्यानेजर शाहले वातावरण मन्त्रालयले ईआए स्वीकृतपछि उद्योग विस्तारको काम अघि बढ्ने बताए।
‘अहिले एमएस बिलेट खारिद गरेर नै टीएमटी छड उत्पादन गर्दै आएका छौं,’ उनले भने, ‘स्पञ्ज आइरन आयात गरी एमएस बिलेट र टीएमटी छड उत्पादन गर्न विस्तार हुँदै छ।’
तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले स्पञ्ज आइरन कच्चापदार्थको रुपमा प्रयोग गर्ने उद्योगलाई प्रोत्साहन गरेका थिए। अधिकांश उद्योगले एमएस बिलेट नै आयात गरी छड उत्पादन गर्दै आएकोमा अहिले स्पञ्ज आइरन आयात गरी बिलेट तथा छड उत्पादनतर्फ अघि बढेका छन्।
‘सबै लगानी एकै पटक गर्ने होइन। उद्योगको प्लान अनुसार योजनावद्ध रुपमा लगानी गर्दै जाने हो,’ शाहले भने।
कुन वस्तु कति उत्पादन गर्दै छ?
कम्पनीले बिलेट रिहिटिङबाट रोलिङ गरी टिएमटी रड उत्पादन गर्दै आएको छ। बिलेट उत्पादनका लागि आवश्यक स्पोन्ज आइरन, स्क्राप, पिग आइरनलाई मेल्टिङ गरी बिलेट बनाइन्छ। अब उद्योगले यी वस्तु कच्चा पदार्थको रुपमा भित्राउने छ।
अम्बे स्टिल्सले वार्षिक टिएमटी छड ३ लाख ५० हजार मेट्रिकटन उत्पादन गर्ने लक्ष्य राखेको छ। जसमा ७१ हजार एमएस बिलेट आयात गर्ने र स्पन्ज आइरन लगायतबाट बाँकी आफैँ उत्पादन गर्ने भएको छ।
च्यानल, एंगल र स्ट्रिपको १ लाख मेट्रिकटन, एमएस बिलेट ३ लाख, थोकरी २४ हजार, बाइन्डिङ वायर १२ हजार, जिआई वायर १८ हजार, एमएस वायर ४० हजार क्षमतामा विस्तार गर्ने प्रस्ताव छ।
उद्योगको क्षमता विस्तारसँगै हाल ५ मेगावाट विद्युत खपत गरिरहेकोमा अब ५५ मेगावाट विद्युत थप गर्नुपर्ने उद्योगले उल्लेख गरेको छ। ७० जनालाई रोजगारी दिएकोमा ५०० लाई दिने छ। उद्योगमा ३ सिफ्टमै काम हुने छ।
उद्योगमा कार्यालय, श्रमिक बस्नका लागि २ वटा क्वाटर, स्टाफ क्वाटर, उच्च अधिकारीका लागि अपार्टमेन्ट लगायतका संरचना थप हुने प्रस्ताव गरिएको छ।
अम्बे ग्रुपका अध्यक्ष हरि न्यौपाने हुन्। ग्रुपले स्टिल उद्योगसँगै अम्बे सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट र सौर्य सिमेन्टमा लगानी रहेको छ। रियल स्टेटमा चाबहिलको अम्बे रेसिडेन्सी, कुलेश्वरको मेट्रो अपार्टमेन्ट निर्माण गरिसकेको छ।
उसको ग्लोबल आइएमई बैंकमा समेत लगानी छ।
Shares
प्रतिक्रिया