ad ad

कारोबार


२५ सयमाथि नेप्से : बाढीले क्षतिग्रस्त परियोजनाबाहेक सबै कम्पनीको बढ्यो सेयर मूल्य

२५ सयमाथि नेप्से : बाढीले क्षतिग्रस्त परियोजनाबाहेक सबै कम्पनीको बढ्यो सेयर मूल्य

नेपालखबर
असोज १४, २०८१ सोमबार १५:४२, काठमाडौँ

आइतबार नेप्से घटेर राताम्मे बनेको सेयरबजारमा सोमबार हरियाली छाएको छ।

२४४१ अंकको न्युनतम विन्दु छोएर फर्किएर नेप्सेले २५ सय माथिको यात्रा गरेको हो। 

सोमबार नेप्से सूचक ४४.४५ अंकले बढेर २५०८.८६ अंकमा बजार बन्द हुँदा कारोबारमा आएका ८० प्रतिशत कम्पनीहरुको सेयरमूल्य बढ्न पुग्यो। 

सूचक दोहोरो अंकले बढेको मौका छोपेर २१० कम्पनीको लगानीकर्ताले मूल्य बढाउँदा घट्ने ३३ कम्पनीहरु भने जलविद्युत् र केही म्युचुअल फन्डहरु मात्रै देखिए। 

बिहीबार, शुक्रबार र शनिबार परेको भीषण वर्षातका कारण आएको बाढीले २० वटा भन्दा बढी जलविद्युत् आयोजनाहरुमा क्षति पुगेपछि त्यसको असर दोस्रो बजारमा देखियो। फलतः क्षति पुगेको आयोजनाहरुको सेयरमूल्य आइतबार र सोमबार नै घट्न पुगेको छ। 

सोमबार मात्रै २४ वटा जलविद्युत कम्पनीहरुको सेयरमूल्य घटेका हो। आइतबार पनि यो समूहको सेयरमूल्यमा गिरावट देखिएको थियो। 

सम्भावित नोक्सानीलाई आकलन गर्दै लगानीकर्ताले क्षतिग्रस्त भएका आयोजनाबाट दोस्रोबजारमा लगानी झिक्न थालेपछि मागको तुलनामा आपूर्ति बढी देखिदा सेयरमूल्य घट्न पुग्यो। तर यीबाहेकका जलविद्युत कम्पनीलगायत अन्य कारोबारमा आएका कम्पनीहरु भने बढेको बजारमा कमाउनेकै सूचीमा देखिए। 

उपसमूहका सूचकका आधारमा आज वित्त, होटल तथा पर्यटन,उत्पादन तथा प्रशोधन, लगानीलगायत समूहका कम्पनीहरुको सेयरमूल्य बढेका छन्। 

जलविद्युत् समूहतर्फ पनि क्षतिग्रस्त आयोजना बाहेकका कम्पनीहरुको सेयरमूल्यमा वृद्धि देखिँदा समग्र सूचकमा १.२२ प्रतिशतको वृद्धि देखिएको हो। 

यी हुन् बढ्ने कम्पनीहरु 
कारोबार खुम्च्याएर ३ अर्बको मात्रै सेयर किनबेच गरेका लगानीकर्ताले आज सीईडीबी हाइड्रोको सेयर सबैभन्दा धेरै माग गरेका थिए। 

यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लाग्न पुग्यो भने कुमारी सबल योजना,युनाइटेड मोदी हाइड्रो, सर्वोत्तम सिमेन्ट, सोनापुर मिनरल्सलगायतका कम्पनीको सेयरमूल्य ९ प्रतिशतको बृद्धि सहित सर्किट लेबलमै पुग्यो। 

योबाहेकका महुली लघुवित्त, हाथवे इन्भेस्टमेन्ट, घोराही सिमेन्ट पनि आज धेरै कमाउनेको सूचीमा अगाडि देखिएका छन्। समग्रमा ४४ अंकको नेप्सेको वृद्धिसँगै आज २१० कम्पनीको सेयरमूल्य बढेको छ। 

घट्नेमा जलविद्युत् र म्युचुअल फन्ड मात्रै 
सोमबार हरियो बनेको बजारमा घट्ने कम्पनीहरु भने म्युचअल फण्ड र जलविद्युत् कम्पनीहरु मात्रै देखिए। जसमा बाढिबाट क्षति पुगेको आयोजनाहरु सगरमाथा जलविद्युत्, साहस ऊर्जा, माउन्टेन हाइड्रो, मान्डु हाइड्रो, खानी खोला, मिड सोलु , पाँचथर पावर कम्पनी, सगरमाथा जलविद्युत्, साहस उर्जा ,माया खोला को सेयरमूल्य घटेको छ। 

यी कम्पनीहरुको ३ प्रतिशत माथिले सेयरमूल्य घटेका हुन्। यीबाहेक केही म्चुअल फण्डहरु पनि आज सेयर मूल्य घट्नेको सूचीमा अगाडि नै देखिएका छन्।  

आयोजनामा क्षति भएपछि त्यसको सेयर बेच्न बेच्न हतारिन्छन् लगानीकर्ता?
लगानीकर्ताको लगानीको पहिलो उद्देश्य नाफा नै हुन्छ। कारोबारीहरुले पनि कम्पनीको नाफा घाटा तथा बोनस पछि लगानीकर्तामा देखिएको उत्साहको मौका छोपेर नाफा कमाउछन्। तसर्थ लगानीकर्ताले आयोजनाको स्थिति, वित्तिय विवरण र नाफा घाटाको अवस्थालाई हेरेर लगानीलाई बढाउने वा घटाउने गर्छन्। 

बाढी र पहिरोमा परेर २० वटा जलविद्युत आयोजनाको उत्पादन ठप्प मात्रै भएको छैन १५ वटा जलविद्युत कम्पनीहरुको करिब साढे २ अर्ब रुपैयाँ बरारको भौतिक क्षति समेत भएको छ। दोस्रो बजारमा सूचिकृत भएर विद्युत उत्पादन सुरु गरिसकेका कम्पनीदेखि उत्पादन गर्न ठिक्क परेका आयोजना समेत क्षतिग्रस्त बनेका छन्। 

क्षतिग्रस्त बनेका आयोजनाहरुले क्षति भरण गर्दै समान्य अवस्थामा फर्कन समय मात्रै लाग्नेछैन, चालू आवको परियोजनाको नाफामा समेत असर पर्ने देखिन्छ। नाफा घटेको खण्डमा आयोजनाबाट लगानीकर्ताले पाउने प्रतिफल घट्ने कारणले गर्दा नै दोस्रो बजारमा क्षतिग्रस्त आयोजनाहरुको सेयर आर्पूति बढेको हो। 

लगानीकर्ता कम्पनीको सेयरमूल्यमा सम्भावित गिरावटलाई आकलन गदै त्यस्ता कम्पनीहरुबाट लगानी झिक्न व्यस्त देखिन्छन्। फलतः आइतबार र सोमाबार जलविद्युत कम्पनीको सेयर मागभन्दा आपूर्ति दोब्बरले घट्दा मूल्यमा गिरावट देखिएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .