नवनिर्मित पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै चिनियाँ सहरमा हवाइ उडानका लागि सरकारले प्रस्ताव गर्ने भएको छ।
आगामी असोज पहिलो साता हुने चीन भ्रमणका क्रममा उक्त प्रस्ताव चीन सरकारसँग राखिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।
समाजवादी मोर्चा नेपालले पोखरामा गरेको सन्देशसभालाई सम्बोधनका क्रममा प्रचण्डले दुवै विमानस्थलबाट सिधै चीनमा उडानका लागि प्रस्ताव गर्ने गरी शुक्रबार मात्रै एजेन्डा तय भएको बताए।
‘मेरो चीन भ्रमणका क्रममा भौतिक पूर्वाधारसम्बन्धी काम अघि बढ्छन्। सुर्खेत-हिल्सा सडक, मुस्ताङको कोरला नाका जोड्ने पूर्वाधार बनाउने छौँ। गोरखाको नाका पनि यो पटक खोलिन्छ’, उनले भने, ‘रसुवागढीबाट र किमाथांकाबाट बिजुलीको लाइन पनि बनाउँछौँ। अब पोखरा र लुम्बिनीबाट सिधै चीनमा जहाज उडाउने एजेन्डा पनि भ्रमणमा राखेको छु।
पोखरा विमानस्थल चिनियाँ सहयोगमा निर्माण भएको हो। भैरहवास्थित विमानस्थलमा पनि नेपाल सरकारको अर्बौँ लागनी छ।
तर यी दुवै विमानस्थलबाट सरकारले नियमित जहाज उडाउन सकेको छैन। स्वदेशी तथा विदेशी एयरलाइन्सले नियमित जहाज उडाउन नसक्दा यी विमानस्थल धान्न सरकारलाई गाह्रो परेको छ।
Shares
प्रतिक्रिया