ad ad

कारोबार


राष्ट्र बैंकले लिएका लचिला नीतिको दुरुपयोगप्रति गभर्नरको चासो

राष्ट्र बैंकले लिएका लचिला नीतिको दुरुपयोगप्रति गभर्नरको चासो

नेपालखबर
असोज ९, २०८० मंगलबार १९:११, काठमाडौँ

नेपाल राष्ट्र बैंकले लिएका लचिला नीतिको दुरुपयोग भएकोप्रति गभर्नर महाप्रसाद अधिकारीले चासो व्यक्त गरेका छन्।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) सँगको भेटमा गभर्नर अधिकारीले दुरुपयोगका क्रियाकलाप हुन नदिने विषयमा राष्ट्र बैंक सचेत रहेको रहेको समेत बताए।

सिबिफिन बैंक तथा वित्तीय  संस्थाहरुमा रहेका सञ्चालकहरूको संस्था हो। सो समूहसँगको भेटमा गभर्नरले नीति नियमनको दुरुपयोगको विषय उठाएका हुन्।

भेटका क्रममा गर्भनरले भने, ‘राष्ट्रिय एवं अन्तर्राष्ट्रि«यरुपमा देखा परेका संकटका बेला राष्ट्रिय अर्थतन्त्र, आम उद्यम व्यवसाय र जनजीविकाको सहजताका लागि राष्ट्र बैंकले लिएका लचिला नीतिको दुरुपयोग भएकोप्रति राष्ट्र बैंक चनाखो छ। त्यस्ता क्रियाकलाप हुन नदिने विषयमा राष्ट्र बैंक सचेत रहेको छ।’

उनले बाह्य परिसूचकहरुमा सन्तोषजनक सुधार देखिँदै गएको र देशको अर्थतन्त्र क्रमशः लयमा फर्किंदै गरेको विषयमा चर्चा गर्दै, आवश्यकता, समय सन्दर्भ र वस्तुस्थितिको मूल्याङ्ककनका आधारमा राष्ट्र बैंकले नीतिगत सुधारका उपायहरु अपनाउँदै जाने बताए।

राष्ट्र बैंकप्रति सबै क्षेत्रको आशा र भरोसा बढ्दै गएको र समग्र अर्थतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी नेपाल राष्ट्र बैंकको भएको भन्ने भाष्य निर्माण गरिँदा चुनौति बढेको उल्लेख गर्दै, गभर्नर अधिकारीले तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउने कार्यमा सबै सरोकारवाला पक्षहरु उत्तिकै गम्भीर र जिम्मवार हुन आवश्यक रहेको औँल्याए।

गभर्नर अधिकारीले सिबिफिनले संस्थागतरुपमा समसामयिक विषयहरुमा आवश्यकता अनुसार छलफल तथा बहस चलाउँदै, अध्ययन एवम् विश्लेषणका आधारमा महत्वपूर्ण सुझाव राख्दै आएकोप्रति धन्यवाद दिए। साथै, उल्लेखित सुझावहरुका विषयमा नेपाल राष्ट्र बैंकले समयानुकुल निर्णय लिने पनि बताए।

समग्र अर्थतन्त्र र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउँदै समतामूलक एवं दिगो आर्थिक विकासमार्फत सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा यही आश्विन ८ गतेका दिन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष भेटघाट तथा छलफल गरेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाह्य स्थितिमा सुधार देखिएको भएतापनि आर्थिक क्रियाकलापहरु अपेक्षितरुपमा चलायमान हुन नसक्नुका कारण, समस्या र समाधानका सम्भावित उपायहरुका विषयमा छलफल केन्द्रित थियो।

छलफलका क्रममा सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानले नेपाल राष्ट्र बैंकमार्फत हालै मात्र जारी चालू आर्थिक वर्षको पहिलो महिनाको वस्तुस्थितिले बाह्य स्थितिमा उल्लेखनिय सुधार भएको भएतापनि आन्तरिक उत्पादन, उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था, पूँजीगत खर्च, आयात, रोजगारी, मुद्रास्फिति जस्ता क्षेत्रहरुमा अपेक्षित सुधार नदेखिनुले अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेकोप्रति गभर्नरको ध्यानाकर्षण गराए।

वर्तमान विषमपूर्ण अवस्थामा विश्वासिलो वातावरण र समय सान्दर्भिक नीतिगत व्यवस्थाले मात्र आशा, उत्साह र उत्प्रेरणा जगाउने र समग्र आर्थिक क्रियाकलापहरुले गतिशिलता प्राप्त गर्ने विषयमा जोड दिँदै, बाफियाको व्यवस्था बमोजिम संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण गर्न पाउने व्यवस्था, चालू पूँजी कर्जामा सुधार, उत्पादनमूलक र अन्य क्षेत्रमा दोहोरो ब्याजदरको व्यवस्था, बैंक तथा वित्तीय संस्थाको बढ्दो सञ्चालन खर्च र साँघुरिँदो लाभांशलगायतका विषयमा गभर्नरसमक्ष लिखित सुझाव पत्र पेश गरे।

गोल्यानले सिबिफिनको पहलमा सातै प्रदेशमा बिजनेश समिट आयोजना हुन लागेको र उक्त समिटमा नेपाल राष्ट्र बैंकको सहभागिताका लागि आग्रह गरे। उनले आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरु नामक अध्ययनमूलक पुस्तक गभर्नरलाई हस्तान्तरण गरे।

विगतमा छिमेकी राष्ट्रहरुको अर्थतन्त्र चरम संकटमा पर्दै गर्दा पनि नेपाल राष्ट्र बैंकको सुझबुझपूर्ण कदमले नेपालको अर्थतन्त्र जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै, समग्र अर्थतन्त्र, उद्यम–व्यवसाय र आम जनजीविकामा देखिने गरी सुधार ल्याउन सिबिफिनले पेश गरेका सुझावहरुको औचित्य, आवश्यकता र महत्वलाई हृदयगंम गरी सो अनुसारको नीतिगत व्यवस्थाका लागि गभर्नरसमक्ष विशेष आग्रह गरे।

गभर्नरको कार्यकक्ष, नेपाल राष्ट्र बैंकमा सम्पन्न भएको उक्त छलफलमा नेपाल राष्ट्र बैंकका डेप्यूटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना, बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा र सिबिफिनकोतर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, सचिव कुशप्रसाद मल्ली, कार्यकारी सदस्यहरु उपेन्द्र प्रसाद पौडेल, लीला प्रकाश सिटौला मोतीलाल दुगड, दिनेशराज जोशीलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .