ad ad

कारोबार


नयाँ खिम्ती २२० केभी सब-स्टेसनको क्षमता वृद्धि, अब विद्युत् खेर नजाने

नयाँ खिम्ती २२० केभी सब-स्टेसनको क्षमता वृद्धि, अब विद्युत् खेर नजाने

नेपालखबर
असोज १०, २०८० बुधबार १२:५०, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले रामेछापको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित २२० केभी नयाँ खिम्ती सव-स्टेसनको क्षमता वृद्धि गरेको छ।  

२२०/१३२ केभी सव-स्टेसनमा जम्मा १०० एमभीए क्षमताको पावर ट्रान्सफर्मर मात्र थियो। अब २०० एमभीएको अटो ट्रान्सफर्मर थप गरिएको छ।

थप गरिएको ट्रान्सफर्मरलाई मंगलबार चार्ज गरी सञ्चालनमा ल्याइएको छ। यससँगै २००/१३२ केभी सव-स्टेसनको क्षमता अभिवृद्धि भई ३०० एमभीए पुगेको छ।

सरकार र प्राधिकरणको लगानीमा रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती प्रसारण लाइन आयोजनाअन्तर्गत सव-स्टेसनको क्षमता बृद्धि गरिएको हो।

१३२ केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई नयाँ खिम्तीमा राखिएका ट्रान्सफर्मरबाट २२० केभीमा बढाएर खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ प्रवाह गरिने छ।

१३२ केभी प्रसारण लाइनबाट आएको विद्युत् प्रवाहका लागि नयाँ खिम्ती सव-स्टेशनमा राखिएको पावर ट्रान्सफर्मरको क्षमताले नधानेपछि नयाँ ट्रान्सफर्मर थप गरिएको हो।

तामाकोशी, खिम्ती र लिखु नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइन हुँदै नयाँ खिम्तीमा समाहित हुँदा सव-स्टेसनको क्षमताले नधान्ने अवस्था थियो ।

यसले गर्दा मुख्य रुपमा लिखू नदीमा निर्माण भएका केही जलविद्युत् आयोजनाहरुको विद्युत् पूर्णरुपमा प्रवाह हुन सकिरहेको थिएन।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ खिम्ती सव-स्टेसनमा राखिएका नयाँ ट्रान्सफर्मर  सञ्चालनमा आएसँगै लिखु नदी करिडोरका जलविद्युत् आयोजनाले बेहोरिरहेको विद्युत् प्रवाहको समस्या समाधान भएको बताए।

नयाँ खिम्तीको सबस्टेसनको क्षमताले नधानेपछि लिखु करिडोरमा निर्माण भएका केही जलविद्युत् आयोजनाहरुको विद्युत् अल्पकालीन योजनाअन्तर्गत जोड्ने व्यवस्था गरिएको थियो।

तामाकोशी, खिम्ती र लिखू नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई नयाँ खिम्ती सव-स्टेसनमा नयाँ पूर्वाधार बनाएर स्थानीय रुपमा आपूर्तिको पनि व्यवस्था गरिएको आयोजना प्रमुख अनुप गौतमले बताए।

प्रमुख गौतमले सव-स्टेसनबाट विद्युत् दिन थालेपछि उपभोक्ताले पर्याप्त, भरपर्दो र गुणस्तरीय आपूर्ति पाएको उल्लेख गरे।

स्थानीय रुपमा आपूर्ति गरी बाँकी रहेको विद्युत्लाई २२० केभी प्रसारण लाइनमार्फत धनुषाको ढल्केबरतर्फ र १३२ केभी लाइनमार्फत सिन्धुपाल्चोकको लामोसाँघु सव-स्टेसनतर्फ प्रवाह गरिएको छ।

२२० केभीको नयाँ खिम्ती सबस्टेसन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले निर्माण गरेको थियो। उक्त आयोजनाले १०० एमभीएको मात्रै पावर ट्रान्सफर्मर राखेको थियो।

स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको १३२/३३/११ केभीको सव-स्टेसन गत असारबाट सञ्चालित छ।  

नयाँ खिम्तीमा १३२/३३ केभीको सव-स्टेसन पूर्वाधार निर्माण आर्थिक वर्ष २०७६/७७मा सुरु गरिएको थियो। सबस्टेसनको लागत करिब ८० करोड रुपैयाँ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .