ad ad

कारोबार


अर्थतन्त्रबारे चिन्ता लिँदै अर्थसचिव पुस्करले लिए पूर्व सचिवहरूबाट राय

अर्थतन्त्रबारे चिन्ता लिँदै अर्थसचिव पुस्करले लिए पूर्व सचिवहरूबाट राय

फाइल तस्बिर


नेपालखबर
असोज १५, २०८० सोमबार २१:५४, काठमाडौँ

दुई हप्ता अघि अर्थमन्त्रालयमा अर्थ सचिवको रुपमा आएका कृष्णहरि पुस्करले पूर्व अर्थसचिवहरूसँग राय लिएका छन्। आइतबार साँझ एभरेष्ट होटलमा ७ जना पूर्व सचिवहरूसँग उनले छलफल गरेका हुन्। 

अर्थमन्त्रालयमा काम गरेका तर अवकास पाएका सचिवहरूलाई मात्रै उनले छलफलमा बोलाएका थिए। छलफलमा शंकर अधिकारी, कृष्णहरि बास्कोटा, राजन खनाल, शिशिर ढुंगाना,  विमल कोइराला, भानु आचार्य, रामेश्वर खनाल उपस्थिति थिए।

सहभागी एक पूर्व सचिवले नेपालखबरलाई भने, ‘पुस्कर आफैंले फोन गरेर बोलाएका थिए। उनीसहित ८ जना बसेर छलफल भएको हो।’ 

जसमा अहिलेको अर्थतन्त्र कस्तो हो? के भइरहेको हो? भनेर अर्थसचिव पुस्करले छलफल सुरु गरेका थिए।  अब कस्ता विषयहरूबाट सुरु गर्दा ठिक होला भनेर उनले सबैसँग राय माग गरेका थिए। 

धेरैको राय समस्या धेरै गहिरो रुपमा गइरहेको र त्यसलाई सल्टाउने खालका योजनाहरू ल्याउनुपर्ने आएको थियो। 

ती पूर्व सचिव भन्छन्,‘पछिल्लो सयम अर्थमन्त्रीले समस्या समाधान भइसकको भनर बोलिरहनु भएको छ तर समस्या झनै बढिरहेको देखिन्छ। समस्यालाई समस्याकै रुपमा लिएर समाधानतिर लाग्नुपर्छ भन्ने धेरैको राय आएको थियो।’

छलफलमा सहभागी केहीले भने सर्वसाधारण तथा निजी क्षेत्रको आत्मबल बढाउने गरि केही राहतको प्याकेज नै ल्याउनुपर्छ की भन्ने सुझाव दिएका थिए।

तर पुस्करले भने धेरै कुरा राखेनन्। पूर्व सचिवहरूले राखेको विषयलाई उनले टिपोट भने गरेका थिए। 

अर्थमन्त्रालयको नेतृत्व लिने सचिवहरू धेरै जसो राजस्व पृष्ठभूमिका रहेका छन्। पुस्कर भने प्रशासन सेवा तर्फका हुन्। तर उनी यसअघि अर्थमन्त्रालयको राजस्व तथा अर्थसचिव दुवैको भूमिका निभाइसकेका छन्। 

अर्थमन्त्री जनार्दन शर्मा रहँदा उनी अर्थमन्त्रालयमा राजस्व र अर्थसचिव दुवैको भूमिका निभाइसकेका व्यक्ति हुन्। 

उनी अहिले अर्थमन्त्रालयको भूमिकामा आइरहँदा भने अर्थतन्त्र चलायमान हुन नसकिरहेकोे र अर्थतन्त्रमा मन्दी नै रहेको टिप्पणी भइरहेको छ।

यसलाई सल्टाउने जिम्मेवारी पनि उनीमाथि छ। जसका लागि उनले सुझावहरू लिन थालेका हुन्। 
सेयरबजार कारोबार, घरजग्गा कारोबार, कर्जा प्रवाह, वैदेशिक व्यपार खुम्चिएको अवस्थामा त्यस भित्रको समाधान गर्ने योजना बनाउनुपर्ने सुझाव एभरेष्ट होटलको बैठकमा समेत आएको ती पूर्व सचिव बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .