ad ad

कारोबार


काठमाडौँबाट दिल्लीभन्दा धनगढीको हवाई भाडा महँगो किन?

काठमाडौँबाट दिल्लीभन्दा धनगढीको हवाई भाडा महँगो किन?

फाइल तस्बिर


नेपालखबर
असोज २८, २०८० आइतबार १४:३५, काठमाडौँ

काठमाडौँबाट दिल्लीभन्दा धनगढी जाने हवाई भाडा महँगो पर्ने भएको छ। 

काठमाडौँ-दिल्लीको भाडाभन्दा काठमाडौँ-धनगढी हवाई भाडा ५ हजार रुपैयाँ बढी पर्ने भएको हो। 

सोमबारका लागि भुटान एयरलाइन्सले काठमाडौँबाट दिल्ली जाने भाडा १३ हजार २२३ रुपैयाँ राख्दा सोही रुटमा इन्डिगोको भाडादर भने १४ हजार ७३४ रुपैयाँ छ।

बुद्ध एयरले काठमाडौँ-धनगढीको भाडा १७ हजार १८६ रुपैयाँ तोकेको छ। 

काठमाडौँ-दिल्लीको हवाई दूरी झन्डै ८०० किलोमिटर छ भने काठमाडौँबाट धनगढी ४८३ किमि छ।

काठमाडौँबाट धनगढी श्री एयरलाइन्स र बुद्ध एयरले उडान गरिरहेका छन्।

सोमबारका लागि श्री एयरलाइन्सका केही उडानको भाडा १३ हजार ५०० रुपैयाँ छ। 

असोज ३ गते श्री एयरलाइन्सका केही उडानको १३ हजार ५०१ र बुद्ध एयरको १४ हजार ७०१ रुपैयाँ भाडा राखिएको छ। अधिकांश उडानको भाडा भने १७ हजार १८६ रुपैयाँ नै छ। 

बुद्ध एयरका सेल्स एन्ड मार्केटिङ प्रमुख रुपेश जोशीले सरकारले १३ प्रतिशत भ्याट लगाएकाले भाडा वृद्धि हुनु स्वाभाविक भएको दाबी गरे।

‘अहिले इन्धनको मूल्य बढेको छ। त्यसमा सरकारले भ्याट थपिदिएको छ,’ जोशीले भने,‘दसैँमा यात्रु एकतर्फी मात्रै हुने भएकाले हामी फुल भाडा लिन बाध्य छौँ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले दिल्लीको तुलनामा धनगढीमा साना जहाज उड्ने भएकाले भाडा महँगो परेको बताए। 

‘ठूला जहाजमा धेरै यात्रु अट्छन्। त्यसैले भाडा केही कम भएको हुन सक्छ’, भुलले भने, ‘काठमाडौँ–धनगढी नेपालको सबैभन्दा लामो दूरीको उडान हो। त्यसैले भाडा बढी छ।’

अघिल्लो वर्षको तुलनामा भाडा बढी हुनु भ्याट थप मुख्य कारण भएको उनको भनाइ छ। 

यात्रु काठमाडौँबाट धनगढी जाने मात्रै हुने र धनगढीबाट काठमाडौँ आउने नहुँदा अधिकतम भाडा लिइएको उनले बताए।

एयरलाइन्स कम्पनीले नागरिक उड्डयन प्राधिकरणले तोकेको अधिकतम भाडादर नै राखिएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .