ad ad

कारोबार


वायुसेवा निगमको अध्यक्ष बन्दै केदार बहादुर अधिकारी !

वायुसेवा निगमको अध्यक्ष बन्दै केदार बहादुर अधिकारी !

बसन्त अर्याल
माघ १५, २०७६ बुधबार ११:८,

सरकारले नेपाल वायुसेवा निगमको सञ्चालक समितिकाे अध्यक्षमा केदार बहादुर अधिकारीलाई ल्याउने तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव रहेका अधिकारीलाई निगमको अध्यक्ष बनाउन लागिएको स्राेतले जानकारी दिएकाे हाे।

‘नेपाल वायुसेवा निगममा मदन खरेललाई कार्यकारी अध्यक्ष बनाउनको लागि तत्कालीन पर्यटन सचिवलाई हटाइएको थियो,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘मदन खरेलले कार्यकारी अध्यक्षबाट राजीनामा दिएसँगै अब पर्यटन सचिवलाई नै अध्यक्ष बनाउने तयारी भइरहेको छ।’

केदार बहादुर अधिकारीलाई अध्यक्ष बनाए पनि निगमको कार्यकारी अधिकार भने नयाँ नियुक्त हुने महाप्रबन्धकलाई नै हुने बताइएको छ। ‘केदार बहादुर अधिकारी सञ्चालक समितिको अध्यक्ष बन्नुहुन्छ तर वायुसेवा निगम सञ्चालनको अधिकार नयाँ नियुक्त हुने महाप्रबन्धकमै हुन्छ’, स्रोतले भन्यो।

मदन खरेललाई २०७५ भदौमा वायुसेवा निगममा नियुक्त गर्नुपूर्व पर्यटन सचिव नै सञ्चालक समितिका अध्यक्ष थिए। तर प्रधानमन्त्री केपी शर्मा ओलीले २०६९ मा खुल्ला प्रतिस्पर्धाबाट महाप्रबन्धक बनेर २९ महिनामै राजीनामा दिएका खरेललाई दोस्रो पटक २०७५ भदौमा निगमको कार्यकारी अध्यक्ष बनाउनको लागि तत्कालीन पर्यटन सचिवलाई अध्यक्षबाट हटाएका थिए।

वायुसेवा निगमले ल्याएको वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै सरकारको आलोचना भएपछि निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको कार्यकाल बाँकी छँदै सरकारले खरेललाई नियुक्त गरेको थियो।

यस्तो छ सञ्चालक समितिको गठन प्रक्रिया
नेपाल वायुसेवा निगम ऐन २०१९ मा महाप्रबन्धकसहित बढीमा ७ जनासम्म सञ्चालक रहने व्यवस्था छ। सरकारले आवश्यक देखेमा सञ्चालकमा वाणिज्य, अर्थ तथा लेखाशास्त्रमा ख्यातिप्राप्त वा उड्डयन तथा पर्यटन प्रवर्द्धनसम्बन्धी क्षेत्रमा अनुभव प्राप्त गैरसरकारी व्यक्तिलाई पनि नियुक्त गर्न सक्ने उक्त ऐनमा व्यवस्था छ।

‘नेपाल सरकारले निगमको राय लिई राष्ट्रहितलाई ख्यालमा राखी आवश्यक देखिएमा समय–समयमा निर्देशन निगमलाई दिन सक्नेछ’, उक्त ऐनमा भनिएको छ, ‘निगमको सबै काम कारबाहीहरुको रेखदेख, निर्देशन र व्यवस्था सञ्चालक समितिले गर्नसक्नेछ।’ सञ्चालकहरुमध्येबाट नेपाल सरकारले समितिको अध्यक्ष र उपाध्यक्ष नियुक्त गर्न सक्ने व्यवस्था रहेको छ।

महाप्रबन्धकबाहेक सञ्चालक सदस्यहरुको कार्यकाल ४ वर्षको हुन्छ। तर सरकारले चाहेमा जुनसुकै बेला पनि सञ्चालकबाट हटाउनसक्ने स्पष्ट व्यवस्था छ।

महाप्रबन्धकको प्रतीक्षा
नेपाल वायुसेवा निगममा तीन दशक काम गरेका मदन खरेल दोस्रो पटक नेतृत्वमा पुगेर केही राम्रो काम गर्ने आशामा प्रधानमन्त्री केपी शर्मा ओलीको जोडमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र कुमार अधिकारीले मन्त्रिपरिषदमा खरेलको नाम प्रस्ताव पारित गरेका थिए। तर स्वयं मन्त्री अधिकारीले समेत मदन खरेललाई रुचाएका थिएनन्।

अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पर्यटन मन्त्रालय सम्हाल्न आएका योगेश भट्टराईले मदन खरेलसँग राजीनामा माग गरेका थिए। तर खरेलले प्रधानमन्त्रीसँग सल्लाह गरी राजीनामा दिने मन्त्री भट्टराईलाई बताए पनि लामो समय दिएनन्। मन्त्रालयले खरेललाई स्पष्टीकरण समेत सोध्यो र अन्तमा राजीनामा दिए।

सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२०लाई सफल बनाउन नेपाल वायुसेवा निगमको भूमिका महत्वपूर्ण हुने भए पनि नेतृत्वविहीन हुँदा भ्रमण वर्षलाई असर पर्ने सरोकारवालाले बताउँदै आएका छन्। मन्त्री भट्टराईले प्रधानमन्त्रीको सहमतिमा छिट्टै वायुसेवा निगमको नेतृत्व चयन गर्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .