ad ad

कारोबार


दसैँअघि तलब भत्ता नरोक्ने अर्थको सर्कुलरपछि ४१ अर्ब ७५ करोड भुक्तानी

दसैँअघि तलब भत्ता नरोक्ने अर्थको सर्कुलरपछि ४१ अर्ब ७५ करोड भुक्तानी

नेपालखबर
कात्तिक १०, २०८० शुक्रबार १७:१३, काठमाडौँ

दसैँअघि खाद्यान्न र तलब भत्ता लगायत नरोक्न अर्थ मन्त्रालयले गरेको पत्राचारपछि ठूलो रकम भुक्तानी भएको छ। असोज २५ गते अर्थ मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलाई भुक्तानी नरोक्न भनेको थियो।

त्यसयता अर्थात् दसैँ विदाको अन्तिम दिनसम्म ४१ अर्ब ७५ करोड रुपैयाँ भुक्तानी भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। दसैँ बिदा सुरु हुनु दुई तीन दिनअघि अधिकांश भुक्तानी कोष तथा लेखा नियन्त्रक कार्यालयहरूबाट भएको छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार दसैँ बिदा सुरु हुनुअघि अर्थात् कात्तिक १ गते ९ अर्ब ५६ करोड, कात्तिक २ गते १० अर्ब ५४ करोड र कात्तिक ३ गते १ अर्ब ९५ करोड रुपैयाँ भुक्तानी भएको छ। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले महालेखा नियन्त्रको कार्यालयलाई सम्बोधन गरेर असोज २५ पत्र लेखेको थियो।  

पत्रमा भनिएको थियो, ‘यसअघि जारी गरिएको निर्देशनहरु जे जसो भए पनि तलब भत्ता र खाद्यान्न लगायतका प्रतिवद्ध भुक्तानीको हकमा त्रैमासिक रुपमा विभाजन भएको बजेटको सीमा लागू नहुने व्यहोरा निर्णय भएको छ।’

यहि असोज ५ गते अर्थले खर्चमा कडाई गर्न भन्दै पत्र लेखेको थियो। जसमा भनिएको थियो, ‘यसअघि त्रैमासिक विभाजनमा उल्लेखित रकमभन्दा फरक पारी भुक्तानी हुने गरेको बुझिएकोले सीमाभित्र रही भुक्तानी दिन अनुरोध छ।’

सीमाभन्दा बाहिर गएर भुक्तानी गर्दा संघीय सरकारलाई नगद व्यवस्थापन गर्नसमेत चाप पर्ने मन्त्रालयले उल्लेख गरेको थियो। एकल खाता कोष प्रणालीबाट भुक्तानी गर्दा त्रैमासिक विभागमा उल्लेखित रकमभन्दा फरक पारी भुक्तानी हुने गरेको बुझिएकाले उक्त विषय कानुनविपरीत हो। नगद व्यवस्थापनमासमेत समस्या हुने भएकाले सीमाभित्र रहेर मात्रै भुक्तानी गर्न भनिएको थियो।

आर्थिक कार्यविधि तथा उत्तर दायित्व नियमावली २०७७ को दफा २८ मा संघीय विनियोजन ऐन बमोजिम विनियोजित मन्त्रालयत बजेट सूचना प्रणाली (एआईएमबीआईएस) मा प्रविष्ट रकम खर्च गर्ने अख्तियारी स्वतः अधिकार प्राप्त अधिकारीलाई हुने व्यवस्था छ।

बजेटको प्रभावकारी कार्यान्वयन र नगद व्यवस्थापनका लागि त्रैमासिक बजेट बाँडफाँटसमेत भएको अर्थमन्त्रालयले जनाएको छ। स्वीकृत वर्षिक कार्यक्रमको त्रैमासिक विभाजन बमोजिम मासिक खर्च अनुमानको विवरण तयार हुने गर्छ।

मन्त्रालयत बजेट सूचना प्रणाली, एकल खाता कोष प्रणाली, कम्प्युटरकृत सरकारी लेखा प्रणालीबीच अन्तर आवद्धता भइसकेको मन्त्रालयले जनाएको छ।

यसलाई आधार मानेर मन्त्रालयगत बजेट सूचना प्रणालीमा भएको कार्यक्रमको एकल खाता कोष प्रणालीबाट भुक्तानी गर्दा त्रैमासिक विभाजनमा उल्लेखित रकमभन्दा फरक नपार्न मन्त्रालयले  महालेखा नियन्त्रकको कार्यालयलाई भनेको थियो।

तर पनि दसैँमा भने सीमाभन्दा बाहिर गएर पनि भुक्तानी दिनु भन्ने आशय अर्थमन्त्राले राखेको थियो।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .