ad ad

कारोबार


बैंकले नियमविपरीत ब्याज लिएको भए उजुरी गर्नुस्, राष्ट्र बैंकले फिर्ता गराउँछ : गभर्नर अधिकारी

बैंकले नियमविपरीत ब्याज लिएको भए उजुरी गर्नुस्, राष्ट्र बैंकले फिर्ता गराउँछ : गभर्नर अधिकारी

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १३:४०, रसुवा

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गरेका छन्।

शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले उद्योगी व्यवसायीहरुले बैंकहरुले नियमविपरित ब्याज लिएको स्टेटमेण्ट लिएर राष्ट्र बैंकमा गुनोसो गरे अनुगमन गरी ब्याज फिर्ता गराउने बताए।

उनले राष्ट्र बैंकले अघिल्लो वर्षमा लिइएको बढी प्रिमियम बापतको ४ अर्ब ७६ करोड रुपैयाँ व्यवसायीहरुलाई फिर्ता गराएको उल्लेख गरे। उनले बैंकले बढी ब्याज लिए भनेर बाहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा गुनासो गर्न व्यवसायीहरुलाई आग्रह गरे।

गर्भनर अधिकारीले व्यवसायीले बैंकले १६/१८ प्रतिशत ब्याज लियो भन्दै नहिँड्न आग्रह गरे। गभर्नर अधिकारीले व्यवसायीहरुले बैंकहरुले लिँदै नलिएको १८ प्रतिशत ब्याजको विषयमा बोल्दा बजारलाई अनावश्यक रुपमा अराजकता फैलाउनेहरुका लागि प्रोत्साहन मिल्ने बताए।

उनले ठूला व्यवसायीहरुले बैंकहरुबाट लिएको कर्जाको ६ देखि ८ प्रतिशत भन्दा बढी ब्याज नतिरेको उल्लेख गरे। उनले बैंकहरुको ब्याजदर १० प्रतिशत हुँदा पनि व्यवसायीहरुले ८ प्रतिशत ब्याजमा ऋण लिइरहेको स्पष्ट पारे।

उनले भने, ‘अहिले पनि बैंकहरुबाट ठूलो व्यवसायीहरुले ६.५ प्रतिशत देखि लिनुभएको छ। ३ वर्षदेखि अहिलेपनि सुविधा लिइरहनुभएको छ। ९ प्रतिशत लिने धेरै व्यवसायीहरु हुनुहुन्छ। जसले पहिले नै फिक्स गर्नुभएको छ। बैंकहरुको ब्याजदर १० प्रतिशत भइराख्दा पनि ८ प्रतिशतसम्म ब्याजमा ऋण लिने व्यवसायीहरु पनि हुनुहुन्छ। नेताहरुकामा भाषण गर्दा व्यवसायीहरुले १८ प्रतिशत ब्याज लिएको छ भन्नुहुन्छ। यति बैंकहरुको १६ देखि १८ प्रतिशतसम्म ब्याज दिएको छ भने राष्ट्र बैंकको गुनासोमा त्यो स्टेस्टमेण्ट लिएर आउनुस्। व्यवसायीहरुसँग बेसी लिएको ब्याज बैंकबाट फिर्ता गराउँछौं। गत वर्ष ४ अर्ब ७६ करोड कमर्सियल बैंकहरुबाट बढी प्रिमियम लिएको रकम फिर्ता गरायौं।’

उद्योगी व्यवसायीहरुले ऋण लिनुभन्दा पहिला आफ्नो व्यवसाय योजना बनाउने नगरेको उनको भनाई थियो।

आफ्नो व्यवसाय नहेरी कर्जा लिँदा व्यवसायीहरुलाई व्यक्तिगत रुपमा समस्या परेको भन्दै उक्त समस्या राज्य र राष्ट्र बैंकमाथि थुपार्नु गलत भएको उनले बताए।

उनले भने, ‘उद्योगी व्यवसायीहरुले बैंकहरुबाट ऋण लिनुहुन्छ तर आफ्नो योजना बनाउनु हुँदैन। मैले ऋण लिनुपर्ने कति हो र व्यवसायको साइज कति हो। व्यवसायीहरुले ऋण लिने बेलामा आफ्नो घाँटी हेर्नु हुँदैन। एकै चोटी हड्डीको साइज लिनुहुन्छ। अनि अड्कियो भने त्यो समस्या राज्यलाई र राष्ट्र बैंकतिर थुपर्नुहुन्छ। जुन कुरा गलत छ।’

गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र संरचनागत हिसावले समस्यामा रहेको बताए। उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको भन्दै रेमिट्यान्सको निर्भरताका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने बेला भएको बताए। उनले सरकार र राष्ट्र बैंकका हेरक नीतिहरु आन्तरिक उत्पादनलाई बनाउने विषयमा केन्द्रित रहेको बताए।

नीति तथा कार्यक्रम बजेट र मौद्रिक नीतिमा आन्तरिक उत्पादनलाई बढाउने स्पष्ट नीतिहरु उल्लेख भएको दाबी गरे। उनले राष्ट्र बैंकले बजेटलाई असहयोग गरेको भनेर लाग्ने गरेको आरोपमा गभर्नरले असन्तुष्टि व्यक्त गरे। उनले बजेटमा भएको कुन विषयमा राष्ट्र बैकले सहयोग गरेको छैन? भन्दै प्रश्न गरे। उनले अर्थमन्त्रीसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै रमाइलोका लागि गभर्नर र मन्त्रीको सम्बन्ध बिग्रेको भन्नु गलत भएको उल्लेख गरे।

गभर्नर अधिकारीले आर्थिक शिथिलताका कारण बैंकहरुको खराब कर्जामा समस्या आएको बताए। उनले राष्ट्र बैंकले बैंकहरुको खराब कर्जा थप नबढोस् भनेर नै नीतिगत रुपमा कडाइ गरेको बताए। गभर्नर अधिकारीले खराब कर्जाको असरले कर्जाको गुणस्तर समेत कमजोर बनाइरहेको बताए। उनले व्यवसायीहरुले ऋण लिँदा आफ्नो क्षमता नहेरेकाले अहिले तिर्नुपर्दा केही समस्या परेको उल्लेख गरे। उनले दक्षिण एशियामा अन्य देशको हेरेर नेपालका बैंकहरुको खराब कर्जा कम रहेको बताए।

गभर्नर अधिकारीले बैंकको नेट एनपीए १.५ प्रतिशत भन्दा माथि नगएको बताए। उनले नेपालको बैंकिङ क्षेत्रमा समस्या नभएको बताए। उनले राष्ट्र बैंकको नीतिको कारण बैंकहरुमा तत्काल समस्या आउने अवस्था नभएको बताए। उनले बाह्य क्षेत्र इतिहासकै धेरै बलियो अवस्थामा रहेको भन्दै १०.३ महिनाको वस्तु र सेवा आयात गर्नसक्ने क्षमता रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .