ad ad

कारोबार


चुना र सुर्कीले चिटिक्क ३०० कोठाको बबरमहल (तस्बिर/भिडिओ)


वसन्त अर्याल
मंसिर २६ , काठमाडौँ

करिब ३०० कोठा भएको बबरमहलको प्रबलीकरण कार्य सकिएको छ। २०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि अहिले पुरानै स्वरूपमा फर्काइएको हो।

१२० वर्ष पुरानो सिंहदरबारको मुख्य भवनसँगै चन्द्र शमशेरकै पालामा बनेको बबरमहलको ‘रेट्रो फिटिङ’ गरिएको हो। केही समयअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारको मुख्य भवन उद्घाटन गर्दै आफ्नो कार्यकक्ष सारेका थिए। 

चन्द्र शमशेरका छोरा बबर शमशेरको आवास भएकाले भवन र ठाउँको नाम बबरमहल राखिएको छ। बबर महलमा (भवनमा) रहेका इँट्टामा इस्वी संवत् १९०९ अंकित गरिएको छ। युरोपेली शैलीमा चन्द्र शमशेरले महल निर्माण गराएका थिए। वि.सं. १९९० सालको भूकम्पले पनि बबरमहलमा क्षति पुर्याएको थियो। त्यसलगत्तै पुनर्निर्माण गरिएको थियो। 

अहिले करिब २२ रोपनी क्षेत्रफलमा समेटिएको बबरमहल सुरुमा थापाथली दरबारकै एउटा हिस्सा थियो। 

त्यसबाहेक पुरानो जग्गामा अहिले सहरी विकास तथा भवन निर्माण विभाग, आयल निगमलगायतका कार्यालय समेत छन्। केही जग्गा बबर शमशेरकै सन्ततिको नाममा छ। दरबारकै शैलीमा निर्माण गरिएको बबरमहल रि–भिजिट होटल तथा ब्यांकेटको रुपमा सञ्चालनमा छ। 

भूकम्पअघि भवनमा सडक विभाग र महालेखा परीक्षकको कार्यालय सञ्चालन हुँदै आएका थिए। महालेखा परीक्षक रहेको भाग कम क्षति हुँदा सडक विभागको कार्यालयमा बढी क्षति भयो। भूकम्पपछि चाकुपाट सरेको सडक विभाग पुनर्निर्माणपछि बबरमहलमै फर्किएको छ भने महालेखापरीक्षकको कार्यालय अनामनगरको नयाँ भवन बनाएर सरेको छ। 

ठेक्का लागेको ४ वर्षमा प्रबलीकरण
बबरमहल लण्डनको बकिङघम दरबारको स्वरूपमा निर्माण गरिएको बताइन्छ। विनाशकारी भूकम्पले भवनभित्र र बाहिरी भागमा नै क्षति पुगेको थियो।

विनाशकारी भूकम्पले महलका भित्ता चर्किनुका साथै झ्याल र ढोका भाँच्चिएका समेत थिए। सुरुमा सरकारले भत्काएर नयाँ भवन बनाउने तयारी गरेको थियो। तर पुरातत्वविद्हरुले १०० वर्ष पुराना ऐतिहासिक भवन भत्काउने निर्णयको विरोध गरेपछि प्रबलीकरण गरिएको हो।  

सन् २०१५ मा क्षति पुगे पनि सरकारले ढिला गरी २०१९ जुलाई १० मा २ वर्षमा निर्माण सक्ने गरी ठेक्का लगायो। ठेक्का लागेको ४ वर्षमा निर्माणमा करिब १ अर्ब लागत अनुमान गरिएको थियो। जोसीजेसी–आशिस–समानान्तर जेभीले निर्माणले ठेक्का पाएकोमा मुख्य काम समानान्तरले गरेको थियो।

‘हालसम्म करिब ९४ करोड रुपैयाँ निर्माण व्यवसायीलाई भुक्तानी भइसकेको छ’, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ भवन तथा आवास विभागका आयोजना निर्देशक कोषनाथ अधिकारीले भने, ‘सडक विभागको कार्यालय सञ्चालनमा आए पनि औपचारिक हस्तान्तरण भइसकेको छैन।’

३ तल्लाको भवनमा करिब ३०० कोठा छन्। प्रबलीकरणको काम सकिएकाले अब सडक विभागसँग समन्वय गरी औपचारिक उद्घाटन गरेर हस्तान्तरण हुने निर्देशक अधिकारीले बताए। 

केन्द्रीय आयोजनाले राणाकालीन ४ वटा दरबार सिंहदरबार, बबरमहल, बालमन्दिर र केशरमहल प्रबलीकरणको जिम्मा पाएको थियो। केशरमहल पनि निर्माणको अन्तिम चरणमा छ। 

पुरातात्विक भवनको पुनर्निर्माण नेपालमा नौलो अभ्यास भएकाले बढी समय लागेको आयोजना निर्देशक अधिकारीले बताए। 

‘बबरमहरको पुनर्निर्माणको डिजाइन बनाउँदा पुलचोक क्याम्पसका विज्ञ, फ्रिलेन्सर विज्ञ र अन्तर्राष्ट्रिय अभ्यास हेरेर पुनर्निर्माण गरेका हौँ’, अधिकारीले भने, ‘विकसित देशमा बढी प्रयोग भएको कार्बन फाइबर लगायत पुरानै कच्चा पदार्थ चुना, सुर्कीबाट भवन पुनर्निर्माण सकिएको छ।’

पुरातात्विक भवनको पुनर्निर्माण गर्न विस्तृत नक्सा हुँदैन। पुराना  राणाकालीन दरबारमा सल्लाका काठ प्रयोग भएका छन् भने भाँच्चिएका काठको सट्टा सालको काठ प्रयोग गरिएको छ। 

‘ऐतिहासिक भवनलाई जस्ताको त्यस्तै राख्दा पर्यटकीय गन्तव्य बन्न सक्छन्’, अधिकारीले भने, ‘१०० वर्ष पुरानो भवन हेर्ने तथा अध्ययन गर्नकै लागि विदेशी आउन सक्छन्। नयाँ संरचना बनाउनुभन्दा पुरानो संरक्षण गर्दा राम्रो देखिएकाले प्रबलीकरण गरिएको हो।’

भवन पुनर्निर्माण गर्दा स्वरूपमा कुनै परिवर्तन भएको छैन। तर इन्टेरियर (भित्र) मा सामान्य फेरबदल गरिएको छ। प्रयोगको सहजताको लागि ‘लाइट पार्टेसन’ गरिएको छ भने अगाडिपट्टि भागमा फाउन्डेसन भए पनि ‘रिभाइभ’ गरिएको छ। यसमा अधिकांश पुरानै इँट्टा प्रयोग गरिएको छ।  

‘रेट्रो फिटिङ गरेका घरमा फिनिसिङ राम्रो भएन कि भन्ने धेरैको चासो हुन्छ’, उनले भने, ‘पुनर्निर्माण गर्दा पुरानो जस्तो थियो त्यस्तै बनाइएको छ। नयाँ भवनजस्तो हुँदैन।’

झ्याल ढोका भाँच्चिए पनि त्यसैलाई जोडिएको उनले जानकारी दिए।  पुनर्निर्मित भवनले २०७२ सालको भूकम्पभन्दा बढी शक्तिशाली भूकम्प धान्न सक्ने दाबी गरिएको छ।

पहिलाजस्तो भूकम्प आउँदा मानवीय क्षति नहुने गरी निर्माण गरिएको आयोजनाको दाबी छ। 

थप तस्बिरहरु (सरोज बैजु)

भिडिओ

मंसिर २५, २०८० सोमबार १८:४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .