ad ad

कारोबार


कोरोना भाइरसः मारमा चिनियाँ ठेक्काका नेपाली आयोजना

कोरोना भाइरसः मारमा चिनियाँ ठेक्काका नेपाली आयोजना

नेपालखबर
माघ २०, २०७६ सोमबार १२:१०,

केही सातायता चीनमा देखापरेको कोरोना भाइरसको कारण चिनियाँ ठेक्काका नेपाली आयोजना मारमा पर्ने देखिएको छ। नयाँ वर्ष मनाउन चीन गएका नेपालमा कार्यरत चिनियाँ उतै रोकिएपछि आयोजनाको काम प्रभावित हुने देखिएको हो।

सरकारले भ्रमण वर्ष सन् २०२० भित्रै भैरहवा विमानस्थल सञ्चालन गरेर २० लाख पर्यटकमध्ये ५ लाख पर्यटक भित्र्याउन सकिने दाबी गरेको थियो। गत डिसेम्बरसम्म सक्नुपर्ने विमानस्थलको ३ महिना म्याद थपी २०२० मार्चसम्मको सक्ने भनिएको थियो। सबैजसो काम सकिए पनि विमानस्थलमा उपकरण जडान र फाउन्डेसनको काम अझै बाँकी छ। सञ्चार, नेभिगेसन, मौसम मेटेरोलोजीलगायतका काम बाँकी छन्।

उक्त विमानस्थल निर्माणको काम चिनियाँ ठेकेदारले गरिरहेका छन्। तर नयाँ वर्ष मनाउन चीन गएका प्राविधिक कोरोना भाइरसको कारण नेपाल फर्किनसकेका छैनन्। कोरोना भाइरसको कारण चिनियाँ प्राविधिक नेपाल आउन नसक्दा उनीहरुमात्र नभई चीनबाट उपकरण ल्याउन समेत अवरोध पुगेको विमानस्थलले बताएको छ।

bhairahawa airport
भैरहवा विमानस्थल।

भैरहवा विमानस्थल प्रमुख प्रवेश अधिकारीले त्यहाँ कार्यरत २५ जना प्रविधिक नयाँ वर्ष मनाउन गएको जानकारी दिए। ‘२५ बढी चिनियाँ प्रविधिक नयाँ वर्ष मनाउन चीन गएका थिए, ५ जना फर्किए २० भन्दा बढी फर्किनसकेका छैनन्’, उनले नेपालखबरसँग भने, ‘विमानस्थलमा काम गरिरहेका दक्षजनशक्तिबाहेकका नयाँ उपकरण जोड्न फरक–फरक प्राविधिक आवश्यक छ। नयाँ प्राविधिक ल्याउन नसके पनि आयोजना प्रभावित हुन्छ।’

उनले विमानस्थल निर्माणको लागि आवश्यक उपकरण ल्याउन पनि अप्ठ्यारो परेको बताए।

‘चीनमा सबै अफिस बन्द भएर उता सबै काम रोकिएको छ। एक हप्ताभित्रै सबै कुरा मिल्यो भने त असर गर्दैन तर अवधि लम्बियो भने आयोजना सक्ने समय धकेलिन सक्छ’, उनले भने।

भैरहवा विमानस्थल त एक उदाहरण मात्रै हो। चिनियाँ ठेकेदार र प्रविधिकले काम गरिरहेका अधिकांश आयोजना प्रभावित हुनेछन्। नेपालसँग दक्ष जनशक्ति र प्रविधि नभएकाले चीनसँग भर पर्नुपर्ने बाध्यता छ।

पोखरा विमानस्थलका २० प्राविधिक चीनमै
त्यस्तै, पोखरा विमानस्थल प्रमुख विनेश मुनकर्मीले २० जना प्रविधिक नफर्किएको बताएका छन्।

‘विमानस्थलको लागि ६५ बढी थप नयाँ प्राविधिक आवश्यक छ तर कोरोना भाइरसको कारण आउन समय लाग्ने देखिएको छ’, उनले भने, ‘विमानस्थलमा कामदार फर्किए पनि हामी छुट्टै कोठामा एक हप्तादेखि १० दिन राख्ने व्यवस्था गरेका छौँ।’

pokhara airport1
पाेखरा विमानस्थल।

त्यस्तै चिनियाँ लगानीमा स्थापना हुनलागेको हुवासिन सिमेन्ट निर्माण ढिलाइ हुनसक्ने नेपाली साझेदार सुरज वैद्य बताउँछन्। धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माणाधीन हुवासिन सिमेन्टको आधाभन्दा काम सम्पन्न भइसकेको छ। बाँकी काम सम्पन्न गर्नको लागि चीनबाट कामदार ल्याउने प्रक्रियामा कम्पनी रहेको थियो। तर कोराना भाइरसको संकमण बढ्न थालेपछि कामदार ल्याउने प्रक्रिया अघि बढाउन नसकेको वैद्यले जानकारी दिए।

चक्रपथ विस्तारको डीपीआर अन्योलमा
त्यस्तै, उपत्यकाभित्र भइरहेका काममा पनि कोरोना भाइरस संक्रमणको प्रभाव देखिएको छ। चक्रपथ सुधार आयोजनाअन्तर्गत हाल कलंकी–चाबहिल सडकको साइट क्लियरेन्सको काम भइरहेको छ। चिनियाँ अनुदानमा हुने यो सुधार आयोजना चिनियाँ पक्षले नै डीपीआर निर्माण गरिरहेको छ। चीनमा अहिले कोरोना भइरसको संकमणले डीपीआर निर्माण प्रक्रिया केही लम्बिन सक्ने आयोजनाले बताएको छ।

kalanki koteshwor road 1382019050351
चीनले बनाएकाे चक्रपथकाे कलंकी-काेटेश्वर खण्ड।

‘अहिले चिनियाँ कामदर आएर काम त गरेका छैनन्’, आयोजनाका इन्जिनियर सुप्रिम चुडाले नेपालखबरसँग भने, ‘त्यसकारण प्रत्यक्ष असर त परेको छैन तर पनि आयोजना सुरु गर्ने काम भने पछि पर्न सक्नेछ।’

माथिल्लो तामाकोशीका ६ जना दुई महिने विदामा
त्यस्तै, राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा काम गर्ने छ जना चिनियाँ कामदार नयाँ वर्ष मनाउन चीन गएका थिए। उनीहरु दुई महिनाको छुट्टी लिएर गएका हुन्।

mathillo tamakoshi
माथिल्लाे तामाकाेशी जलविद्युत्। 

उनीहरु आउने समय अझै बाँकी रहेकोले काममा प्रभाव परेको वा नपरेको भन्ने कुनै कुरा गर्न नसकिने आयोजनाका प्रमुख अधिकृत विज्ञान प्रसाद श्रेष्ठले जानकारी दिए। उनले अहिले तामाकोशीको काममा प्रभाव नपरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .