ad ad

कारोबार


कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत सिम उपलब्ध गराइने

कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत सिम उपलब्ध गराइने

नेपालखबर
मंसिर २८, २०८० बिहिबार २१:१२, काठमाडौँ

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने भएको छ। त्यसैगरी कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइने छ भने रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएको टेलिकमले जनाएको छ।

नयाँ सिममा थप सुविधा
रु. ९० मा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी डाटा चलाउन, ४० मिनेट कल गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ। तर अब सो सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ।

यी सबै सुविधा ३० दिन सम्म प्रयोग गर्न सकिने छ। पहिले जस्तै यसमा रु. १० ब्यालेन्स समेत उपलब्ध हुनेछ।

कक्षा ८ देखि माथिका विद्यार्थीलाई सिम
कक्षा ८, ९ र १० का विद्यार्थीलाई समेत निजको अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचय पत्रको आधारमा रु. ९० मा प्रिपेड सिमकार्ड उपलब्ध हुनेछ। सो सिमकार्डमा समेत नयाँ सुविधा उपलब्ध हुनेछ।

नयाँ सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ। सो सिमकार्डमा पनि रु. १० ब्यालेन्स हुनेछ।

डाटा बोनस
विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पनि उपलब्ध गराइने भएको छ। अब रु. १०० को रिचार्ज गर्दा समेत डाटा बोनस उपलब्ध हुनेछ।

यस अनुसार एमपोसमार्फत रु. १०० देखि १९९ को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, रु. २०० देखि ४९९ को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र रु. ५०० वा सो भन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ।

त्यसैगरी फिजिकल रिचार्जमार्फत रु. १०० को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, रु. २०० को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र रु. ५०० तथा रु. १००० को रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ।

यी सबै नयाँ सुविधा आगामी पुस १ देखि प्रारम्भ हुनेछ र फागुन ३० सम्म उपलब्ध हुनेछ।

नेपाल टेलिकमले विभिन्न चाडपर्व र अन्य अवसरमा समेत सेवाग्राहीका लागि विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ। यसैको निरन्तरताको रुपमा उपलब्ध हुने नयाँ सुविधाबाट सेवाग्राहीले थप लाभ लिन सक्ने कम्पनीको अपेक्षा छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .