ठूलो रकम सरकारलाई तिर्नुपर्ने बक्यौता रकम रहेको भन्दै विवादमा परेको कम्पनी रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङबाट आईपीओ जारी गर्ने अनुमति पाएको छ।
झण्डै २ अर्ब रुपैयाँ बक्यौता दाबी भइरहेको कम्पनीलाई धितोपत्र बोर्डले बिहीबार अनुमति प्रदान गरेको हो। नेपाल विद्युत् प्राधिकरणले विद्युत् उपभोग गरेबापतको पैसा नतिरेको आरोप लगाइरहेका बेला बोर्डले सेयर निष्काशनको अनुमति दिएको हो।
पैसा नतिरेको कारणले नै रिलायन्स स्पिनिङ मिल्सको विद्युत् लाइन समेत काटेको छ। मंसिर मसान्तसम्म उक्त मिल्सको बक्यौता रकम १ अर्ब ९४ करोड २६ लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणले उल्लेख गरेको छ। ट्रंकलाइन तथा डेडिकेटड फिडरबापतको शुल्क बक्यौता रहेको प्राधिकरणको भनाइ छ।
सोही उद्योग पब्लिक कम्पनीमा रुपान्तण भई सेयर जारी गर्ने प्रक्रियामा गएको थियो। अहिले धितोपत्र बोर्डले सेयर जारीका लागि अनुमति प्रदान गरेको हो।
प्रदेश १ मा रहेको मिल्स प्राधिकरणको १००–२४–५०१ नम्बर वाहक ग्राहक हो। बोर्डका अनुसार रिलायन्स स्पिनिङ सर्वसाधारणमा निष्काशन गरिने सेयरको ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याउने गरी बुक बिल्डिङमा अनुमति दिइएको छ।
मिल्सले योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर निष्काशन हुनेछ।
धितोपत्र बोर्डले जारी गरेको सूचनाअनुसार कम्पनीको सेयरको आशय मूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ बीचमा रहनेछ। यहीभित्र रहेर सेयर जारी हुनुपर्नेछ।
सर्वसाधारण लगानीकर्तालाई लागत मूल्यमा १० प्रतिशत छुट दिई सेयर निष्काशन गर्नुपर्ने बोर्डले जनाएको छ।
कस्तो छ रिलायन्सको वित्तीय अवस्था?
रिलायन्स स्पिनिङको बिजुलीको दायित्व नै २ अर्ब रुपैयाँ देखिएको छ। यदि यो दायित्व भुक्तान गर्नुपर्ने स्थिति रहेमा कम्पनी ठूलो नोक्सानीमा समेत जाने देखिएको छ।
रेटिङ एजेन्सीले गरेको रेटिङ रिपोर्टअनुसार गत आर्थिक वर्षमा मिल्सले १० अर्ब ६० लाख रुपैयाँको कारोबार गरेको छ। यो कारोबार भने विगतभन्दा घटेको हो।
वार्षिक ४२ हजार ७५० टन उत्पादन क्षमता रहेको यो उद्योगले सिन्थेटिक धागोे पोलिस्टर, भिस्कोस, एक्क्रिलिकरब्लेन्डेड र पोलिस्टर टेक्सचर्ड धागो उत्पादन गर्ने गर्छ। खनार र दुहबीमा यसको कारखाना सञ्चालनमा छन्।
Shares
प्रतिक्रिया